श्रमिकको ज्याला यो वर्ष नबढ्ने, काठमाडौंमा कुन काम गर्नेले कति पाउँछन् पारिश्रमिक ? 

बिजमाण्डू
२०७७ साउन ५ गते १५:१५ | Jul 20, 2020
श्रमिकको ज्याला यो वर्ष नबढ्ने, काठमाडौंमा कुन काम गर्नेले कति पाउँछन् पारिश्रमिक ? 



काठमाडौं। चालु वर्ष श्रमिकहरुले पाउने ज्याला नबढ्ने भएको छ। असार ३१ गते प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले गत वर्षकै पारिश्रमिकलाई निरन्तरता दिने निर्णय गरेको हो। कोभिड-१९ को संक्रमणका कारण यस्तो निर्णय गरेको बुझिएको छ। 

Tata
GBIME
Nepal Life

जनप्रतिनिधि र नेपाल निर्माण व्यवसायी महासंघ लगायतका प्रतिनिधि सम्मिलित बैठकले चालु वर्षका लागि निर्माण सामाग्री, ढुवानीको दररेट, मेसिन तथा उपकरणको भाडा र श्रमिकहरुको ज्याला निर्धारण गरेको हो। 

निर्माण कार्यका लागि (ज्यामी)ले प्रतिदिन न्युनतम ७५० रुपैयाँ पाउनेछन्। गत वर्ष ५० रुपैयाँ बढाएर ७५० बनाइदिएको थियो। त्यसैलाइ निरन्तरता दिइएको हो।

फोहोर ढल सफा गर्ने कामदारले १ हजार ७० रुपैयाँ पाउनेछन्। दक्ष (डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार, बज्रकर्मी), प्लम्बर, ढुंगा र काठ बुट्टा काट्ने साधरण मुर्तिकार, चित्रकार, आर्टिष्टले १ हजार ३० रुपैयाँ पाउनेछन्। अर्द्ध-दक्ष (डकर्मी, सीकर्मी, नकर्मी) चित्रकार,प्लम्बर, इलेक्ट्रीसियन, आरावाला, जुनियर सुपरभाइजर, नदी निरीक्षक आदिले ८४५ रुपैयाँ पाउने छन्।

साइक्लो स्टाइल ट्रेसिङ, एमोनिया प्रिन्टिङफोरमेन, सामाजिक परिचालक, खदेल (खानी सम्बन्धी काम गर्ने) आदिलाई ७५० रुपैयाँ, निर्माण कार्यको क्याम्प वर्कर, सुपरभाइजर, ब्लाष्टर, मेकानिक्स, कालिगढ,डिलर, फोटो ग्राफिक्स, फोरमेन, सेक्युरिटी गार्ड, नाइट वाचमेन, रोड लेन्थ वर्कर, हेल्पर मेकानिक्स, लाइट भेहिकल ड्राइभर, अफिस असिष्टेन्ट, सर्भे हेल्पर, वेल्डर सहायक, रनर, गणक, चेनम्यान, टेपम्यान, स्टाफ म्यान, ड्रिल हेल्पर, ट्रक हेल्पर, सयस इनुमेराटर ( न्युनतम एसएलसी वा सो सरह) आदिले दैनिक ६९० रुपैयाँ पारिश्रमिक पाउनेछन्।

माली, सहायक परिचालक, स्वीपर, मेहत्तर, धोबी, वन हेरालु र चौकीदार आदिले ६३० रुपैयाँ, सामान लोड अनलोड गर्ने ज्याला (सय किलो बराबर) २१ रुपैयाँ ५० पैसा पाउनेछन्।

सडकको कामका लागि पनि दररेट तोकिएको छ। पिच स्प्रेयर, पीच ब्वायलर ७६५ रुपैयाँ, प्याच वर्कर (दिउँसोको समयमा काम गर्ने) ७५० रुपैयाँ, प्याच वर्कर सुपरभाइजर (दिउँसो काम गर्ने), सुपरभाइजर सरह ७८५ रुपैयाँ, प्याच वर्कर (रात्री समयमा काम गर्ने) १०७० रुपैयाँ, प्याचवर्क सुपरभाइजर (रात्रि काम गर्ने) ११०० रुपैयाँ, भरिया (४० केजी तौलसम्म) ले ७८५ रुपैयाँ पाउनेछन्।

बोलेरो ४ ह्वील, डबल क्याव पिकअप, भाडा, इन्धन र चालकसमेत ५५०० रुपैयाँ, स्करपियो ४ ह्वील डबल क्याप पिकअप भाडा इन्धन र चालक समेत ६६०० रुपैयाँ तोकिएको छ।

जिल्ला  प्रशासन कार्यालयका अनुसार यो ज्यालादर ८ घण्टाको कामका लागि तोकिएको हो। १६ वर्षभन्दा माथिको उमेर पुगेकाले मात्रै श्रमिकका रूपमा काम गर्न पाउनेछन्।

साबिकका पहाडी गाविसहरु नाङलेभारे, लप्सिफेदी, सुन्टोल, गागलफेदी, सुन्दरीजल, जितपुरफेदी, भीमढुंगा, रामकोट र छैमले आदि क्षेत्रका लागि नगरपालिकाले केन्द्रबाट आयोजना स्थलसम्म दुरीको आधारमा हुन आउने ढुवानी खर्च सम्बन्धित निकायले दररेट विश्लेषण गरि थप गर्नुपर्नेछ। पुरातात्विक महत्वका विभिन्न निर्माण कार्यहरुमा विशेष प्रकारको दक्षता र सीप भएका श्रमिकहरुको दैनिक ज्याला दररेट पुरातत्व विभागले स्वीकृत गरे बमोजिम हुनेछ।