काठमाडौं। कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण धेरै उद्योगी व्यवसायी आर्थिक रूपमा संकटमा परे। उनीहरुले घरभाडा, कर्मचारीको तलबदेखि बैंकको ब्याज समेत तिर्न सकेनन्।
कतिपयले व्यवसाय नै बन्द गरेर पलायन समेत भएका छन्। तर कोरोनाकै बीच नयाँ आइडिया फुराएर काम गर्ने औसत लगानीका केही व्यवसायहरु भने कोभिड-१९ महाव्याधिको संकटमा टिकेका मात्रै होइन, भविष्यका लागि थप बाटो समेत कोर्न सफल बनेका छन्। सानो लगानीमा सुरु भएका स्टार्टअप कम्पनीले समेत लकडाउनकै बीचमा करोडौंको कारोबार गरेका छन्।
लकडाउनबीच यस्तो सफलता कमाउने सबैभन्दा प्रेरणादायक उदाहरण हुन सक्छ – कौसी खेती । एउटा स्टार्टअपको 'बाइ–प्रडक्ट' का रूपमा जन्मिएको यसले लकडाउनकै बेला दुई महिनाभन्दा कम अवधिमा आधा करोड रुपैयाँमाथिको व्यापार गरेको छ।
किसान र उपभोक्तालाई जोड्दै कृषिसम्बन्धी विभिन्न व्यवसाय गर्दै आएको स्टार्टअप 'एग्री नेपाल' ले चार वर्षदेखि साप्ताहिक रूपमा उपत्यकाका ठाउँ ठाउँमा 'फार्मर्स मार्केट' संचालन गर्दै आएको थियो।
किसानले उत्पादन गरेका तरकारी तथा खाद्य वस्तुहरु सोझै उपभोक्तासम्म पुर्याउने सोचले शुरु गरेको यस्तो बजार लकडाउन र कोरोना संक्रमण त्रासका कारण बन्द भयो। एग्री नेपालका अरु व्यवसायिक सेवा पनि कोभिड–१९ बाट प्रभावित भएपछि कम्पनीको आम्दानीका स्रोतहरु सुके।
यसैको उपज थियो 'कौसी खेती' को शुरुआत।
'फार्मर्स मार्केट' बन्द भएपनि एग्री नेपालले त्यसका ग्राहकको डाटाबेस राखेको थियो । त्यसैलाई पछ्याउँदै 'फार्मर्स मार्केट'का नियमित ग्राहकलाई कौसी खेतीसम्बन्धी मल–बीउदेखि औजार–उपकरणसम्मका सामग्रीहरु उनीहरुको घरदैलोमै पुर्याउने गरी 'कौसी खेती' नाममा नयाँ सर्भिस भर्टिकल थप्ने योजना बनाए कम्पनीका संस्थापकद्वय सुनिता न्हेम्हाफुकी र डम्बर खनालले।
'खासमा फार्मर्स मार्केट बन्द हुँदा त्यसबाट गुमेको आम्दानी मात्र कभर होस् भन्ने उद्देश्यले कौसी खेतीको अवधारणा अघि बढाएका थियौं। तर, यसले नसोचेको सफलता पायो,' खनाल भन्छन्, 'एक समय त दिनमा तीनवटा गाडी दौडाउँदा पनि अर्डर पूरा गर्न भ्याइनभ्याइ भयो।'
मे १२ बाट आधिकारिक रूपमा शुरू भएको कौसी खेतीका ग्राहक दुई महिनामा १२ सय हाराहारी पुगिसकेका छन्। यी सबै युनिक कस्टमर हुन् भने पहिले अर्डर गर्नेले अब दोहोर्याउन थालेकाले आउँदो एक हप्ताभित्रै कौसी खेतीबाट सामान खरिद गर्नेको संख्या १८ सयदेखि दुई हजार पुग्ने खनालको भनाइ छ।
अनलाइनबाटै दिनमा ७० वटासम्म अर्डर आएको कौसी खेतीबाट एकपटकमा कम्तिमा दुई हजारदेखि २० हजार रुपैयाँभन्दा बढीको सामान किन्ने ग्राहकहरु रहेको न्हेम्हाफुकीले बताइन्। उनका अनुसार कम्पनीको यो सर्भिस भर्टिकलले डेढ महिनाजतिमै झन्डै ६० लाख रुपैयाँको व्यापार गरेको छ।
व्यवसायमा टिक्न नयाँ भर्टिकल, इ–कमर्स र लजिस्टिक डेलिभरीमा लहर
डकडाउनका कारण मान्छे घरघरमै थुनिएपछि यसबीच किनमेल गर्ने परिपाटीमा पनि केही परिवर्तन आयो। फोन, फेसबुक, भाइबर, अनलाइन इत्यादिमार्फत् इ–कमर्स वा अन्य बिक्रेताबाट अर्डर गरेर समान किन्न धेरैले खोजे।
तर, लकडाउनअघि यसरी किनमेल गर्ने अभ्यास पातलै भएकाले यस्तो किनमेलका सामान डेलिभरीका लागि आवश्यक पूर्वाधार वा संयन्त्र बलियो बनाउनेतर्फ प्रायः व्यवसाय संचालकले कमै ध्यान दिएका थिए। त्यसअनुरूप लगानी पनि गरेका थिएनन्।
यसैले सामानको अनलाइन अर्डरका बाबजुद डेलिभरी गर्ने संयन्त्र अभावको अवस्थालाई व्यवसायिक अवसरका रूपमा हेरेर केही उद्यमीहरुले नयाँ व्यवसाय शुरु गरे।
त्यसै क्रममा लकडाउनकै बीच जन्मिएका केही व्यवसायहरु हुन् – उपाय सिटी, पिक एण्ड ड्रप, अर्डर साथी इत्यादि, जसले व्यक्तिगत सरसामान मात्र नभएर विभिन्न इ–कमर्स साइटहरुका लागि समेत लजिष्टिक डेलिभरीको सेवा दिन थाले।
लकडाउनले देखिएको अनलाइन किनमेल प्रवृत्तिको सम्भावनालाई हेरेर 'ग्यापु डटकम' नामको इ–कमर्स प्लेटफर्म यहीबीच जन्मियो। कोभिड–१९ को असरले जनजीवनलाई बाँध्दै जान थालेपछि दैनिक उपभोग्य वस्तुको व्यापार शैलीमा नयाँ अवसर देखेर निम्बस समूहले पनि अनलाइन किरानाको अवधारणामा 'निम्बस बजार' नामको इ–कमर्स साइट शुरु गर्यो, जसलाई आक्रामक ढंगले देशव्यापी विस्तार गर्न सबै प्रमुख शहरमा गरी दुई दर्जनभन्दा बढी सेन्ट्रल स्टोर स्थापनाको योजना रहेको समूहका प्रबन्ध निर्देशक आनन्द बगरिया बताउँछन्।
राइड सेयरिङ कम्पनी 'पठाओ' ले पनि लजिस्टिक डेलिभरी गर्ने गरी 'शप इन्फिनिटी' नामको नयाँ बिजनेस भर्टिकल खडा गरेको छ। यसमार्फत पठाओले चिनियाँ उत्पादनको चेन आउटलेट 'मिनी सो' लगायतका उत्पादनहरु फेसबुक वा अन्य माध्यमबाट अर्डर लिएर बिक्री तथा होम डेलिभरी गरिरहेको छ।
कौसी खेतीले ग्राहकबाट सामान अर्डरका लागि प्रयोग गरेको प्लेटफर्म 'अर्डरसाथी' आफैं पनि एक वर्षअघि मात्र शुरु भएको आईटी स्टार्टअप समर्थ डिजिटल इंकले लकडाउनकै बीच जन्माएको बाइ–प्रडक्ट हो।
साना तथा मझौला व्यवसायहरु (एसएमई) ले आफ्नै व्यवसायिक अनलाइन प्लेटफर्म बनाउन र संचालन गर्न लगानी र प्राविधिक विज्ञता दुवै नहुने भएकाले त्यस्ता एसएमईका लागि ग्राहकसम्म पुग्ने साझा डिजिटल प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले 'अर्डर साथी डटकम' सिर्जना गरेको समर्थ डिजिटलका संस्थापक दिव्येश गिरी बताउँछन्।
'लकडाउनका बेला धेरै साना–मझौला रेस्टुरेन्टहरुले सेवा दिन पाएनन्। अन्य दैनिक उपभोग्य सामान घर बसेरै अर्डर गर्न खोज्नेले पनि सरल तरिकाले इ–कमर्स प्लेटफर्म चलाउन सकेनन्। यसैले यो अभावको समाधानमा अवसर देखेर अर्डर साथीको परिकल्पना भएको हो,' गिरी भन्छन्, 'कुनै पनि प्रकारका एसएमई वा साना व्यवसायहरुले सब्सक्राइब गरेर हाम्रो प्लेटफर्म प्रयोग गर्न सक्छन् ।'
उनका अनुसार, लकडाउनकै बेला संचालन ल्याएको अर्डर साथी डेढ महिनाको हाराहारीमा करीब ६० एसएमईहरुले प्रयोग गर्न थालिसकेका छन्, जसमा उपत्यका बाहिरका व्यवसायहरु पनि छन्। अबको डेढदेखि दुई महिनाभित्र थप दुई सयभन्दा धेरै यससँग जोडिने प्रक्रियामा छन्। विभिन्न देशमा नेपालीले संचालन गरेका रेस्टुरेन्टलगायतका व्यवसायले पनि यो साझा अनलाइन प्लेटफर्म प्रयोग गर्न चाहिरहेको गिरीले बताए ।
हाललाई २५ वटा अर्डर वा दुई महिना पार गरेपछि मात्र शुल्क लिने बताइएको अर्डर साथी प्लेटफर्म प्रयोगवापत वार्षिक १० हजार रुपैयाँ लाग्ने उनको भनाइ छ। यसअनुसार दुई महिनाभन्दा कम अवधिमै अर्डर साथीको डिजिटल स्पेस बिक्री गरेर समर्थ डिजिटलले झन्डै ६ लाख रुपैयाँ कमायो।
शेर्पा एडभेन्चर गियरमा १४ वर्ष काम गरेर छाडेका अरविन्द सुवेदी र जयन्त भट्ट लगायतले दुई वर्षअघि हिमालयन एक्सेसरिज प्रालि नामको कम्पनी खडा गरेर बाइक राइडरहरुका लागि 'कवच' ब्रान्डमा हाइ–इन्ड सेफ्टी गियरको उत्पादन थाले। कवचलाई विश्व बजारमा पुर्याउने लक्ष्य राखेको यो कम्पनीको व्यवसाय पनि कोभिड–१९ ले चौपट पार्यो। यसैले व्यवसायमा टिक्नका लागि सहयोग पुगोस् भन्नका लागि हिमालयन एक्सेसरिजले कोभिड–१९ सुरक्षासँगै सम्बन्धित विभिन्न सामग्री उत्पादनको योजना बनायो।
'लकडाउनले राइडिङ सेफ्टी गियरहरुको व्यवसाय बन्द भयो। कम्पनी संचालन रोकियो। त्यतिबेलै बजारमा पीपीई लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको हाहाकार भयो। हामीसँग सीप र प्राविधिक दक्षता पनि भएकाले नेपालमै पीपीई बनाउने गरी कम्पनीको पूर्वाधार रिपर्पसिङ गर्यौं,' कम्पनीका सहसंस्थापक सुवेदीले भने।
तीन महिनालाई राइडिङ गियरलाई दिमागबाट नै निकालेर पीपीई, थ्री लेयर मास्क, स्वाब कलेक्सन, ग्लभ्स् लगायतका हेल्थ सेफ्टीसम्बन्धी सामग्री उत्पादनको नयाँ भर्टिकलमा काम गरेको उनले बताए। उनका अनुसार, यो अवधिमा हिमालयन एक्सेसरिजले राष्ट्रिय आविष्कार केन्द्र, विभिन्न जिल्लाका पालिका र जनस्वास्थ्य कार्यालय, अस्पतालहरु लगायतका लागि ४५०० भन्दा बढी युनिट यस्ता सामग्री उत्पादन गरिसकेको छ।
'यसले हामीलाई यो लकडाउनको बेलामा सस्टेन गर्न सहयोग गर्यो। लाइफलाइन दियो। मौद्रिक मूल्यभन्दा बढीको अनुभव र नेटवर्किङ भयो, छोटो समयमा काम गर्न सकेकाले हामीप्रति बजारमा सकारात्मक सन्देश गएको छ,' सुवेदीले भने।
विवाह तथा पार्टी इत्यादिका लागि महिला तथा पुरुष दुवैका ड्रेसहरु भाडामा उपलब्ध गराउने काम गर्दै आएको स्टार्टअप कम्पनी 'एन्टिडट नेपाल' ले कोभिड–१९ र लकडाउनका कारण सामाजिक समारोहहरु सबै ठप्प भएपछि व्यवसायमा टिक्नका लागि दुईवटा नयाँ सर्भिस भर्टिकल शुरु गर्यो।
एउटा, प्रयोग गरिसकेका अपेरल्स तथा एक्सेसरिजको किनबेच प्लेटफर्मका रुपमा काम गर्ने र अर्को, डिजिटल माध्यमबाट मेकअप आर्टिस्ट लगायतका सीपको मास्टर क्लास।
पहिले भाडामा मात्र अपेरल्स दिने यस कम्पनीले प्रयोग गरिसकेका तर राम्रो अवस्थामा रहेका कपडा किनबेच मध्यस्थताको सेवा पनि लकडाउनकै बीच शुरु गरेको छ। कोभिडका कारण आम्दानी अनिश्चयका कारण उपभोक्ताको खर्च गर्ने प्रवृत्ति नै परिवर्तन भइरहेकाले आवश्यक हुनेले पनि महँगा लाइफस्टाइल प्रडक्टमा पैसा खर्च गर्न नचाहिरहेको आकलनमा केहीपटक लगाएका तर फ्रेस अवस्थामै रहेका लत्ताकपडा, ब्याग लगायतको खरिद–बिक्री गर्न चाहनेहरुबीच पुलको काम गर्नेगरी एन्टीडट नेपालले यो सेवा शुरु गरेको कम्पनीका संस्थापक संचालक मनिषजंग थापाले बताए।
'लकडाउनले इभेन्टहरु बन्द भएपछि विवाह पार्टीमा मात्र लगाउने ड्रेसको माग हुने कुरै भएन। यसैले कसरी सस्टेन हुने भन्ने सोच्दै जाँदा करिब साढे दुई महिनाअघि यो सर्भिस पनि थाल्ने विचार जन्मिएको हो,' थापा भन्छन्, 'न्यूनतम पैसा खर्च गरेर ब्रान्डेड वा गुणस्तरीय कपडा लगाउन चाहनेको आवश्यकता यसले पूरा गर्ने भएकाले डेढ महिनायता थुप्रै ग्राहकहरु आउन थाल्नुभएको छ।'
'सेल अफ प्रि–लब्भ्ड गुड्स' को थिममा थालेको नयाँ सेवाका लागि थापाले केही समयभित्रै अनलाइनबाटै बिक्रेताले आफ्नो सामान लिस्टिङ गराउन सक्ने र एन्टिडटले क्रेतासम्म पुर्याउने गरी सहज प्लेटफर्म बनाउन मोबाइल एप संचालनमा ल्याउन लागेको पनि थापाले बताए।
प्रि–मन्टेसरी स्कुलसँग सम्बन्धित सफ्टवेयर/मोबाइल एप विकासको काम गर्दै आएको 'बाइट क्रिएटिभ स्टुडियो' ले लकडाउनयता शिक्षण संस्थाहरु बन्द भएपछि कम्पनीलाई बचाइराख्न वेबसाइट, मोबाइल एप इ–कमर्स र अन्य विभिन्न आइटी प्लेटफर्महरु बनाउने सेवा पनि शुरु गरेको छ।
फोन कलबाटै डाक्टरको परामर्श, ल्याब परीक्षण, पर्सनल केयर, नर्सिङ केयर, ओल्ड एज केयर लगायतका सेवाका लागि आवश्यकता अनुसारका प्राविधिक जनशक्ति उपभोक्ताको घरमै उपलब्ध गराउँदै आएको स्टार्टअप 'डक्टर्स अन कल' ले लकडाउनमा टेलिमेडिसिन र भिडियोबाटै डाक्टरसँग भिडियो कन्सल्टिङ सर्भिसको नयाँ सेवा थाल्यो।
होम रिपेयरसँग सम्बन्धित विविध सेवा दिने 'सजिलो मर्मत सेवा' ले ग्राहको घरघरमा पुग्न असहज बनेपछि ग्राहकलाई 'रिमोट सर्भिस' दिने उपाय लगायो। यसले अनलाइनबाटै निर्देशन पछ्याएर ग्राहक आफैंले कम्प्युटर, ल्यापटप लगायतका उपकरणहरु मर्मत गर्न सक्ने सुविधा समेत दिन थाल्यो।
पेस्ट कन्ट्रोल (किट नियन्त्रण) सँग सम्बन्धित सेवा दिने काम गर्दै आएको अरेन्ज बल प्रालिले कोभिड–१९ सँगै सम्बन्धित भाइरस डिस्इन्फेक्सन, स्यानिटाइजेसन, सोसल डिस्ट्यान्स मार्किङ लगायतको काम शुरु गर्यो। साथै, एन-९५ मास्क, सेनिटाइजर तथा डिस्पेन्सर, इन्फ्रारेड थर्मोमिटर, स्प्रे नोजल लगायतका सामग्रीहरु पनि आपूर्ति गर्न थाल्यो।
कोभिड १९ ले गर्दा नियमित व्यवसायमा असर परेपछि सस्टेन हुन गाह्रो भएपछि लकडाउनका बेला शुरु गरेका यी सेवालाई अब निरन्तरता दिने कम्पनीका संस्थापक बुद्ध झा बताउँछन्।
काठमाडौंको बाँसबारीस्थित अराउन्ड द कर्नर नामको रेस्टुरेन्टले लकडाउनका कारण व्यवसाय चौपट भएपछि 'फिक्स्ड ओभरहेड' धान्ने क्यास फ्लोका लागि फ्रोजन ममको व्यापार शुरु गर्यो।
मम बिक्रीबाट आएको नाफाको हिस्सा दैनिक ज्यालादारीमा काम गर्नेको राहतका लागि प्रयोग गर्ने मनसायका साथ 'मम विथ कज' ट्यागलाइन राखेर थालेको नयाँ व्यापारले राम्रै आम्दानी दिएको बताइएको छ।
केही स्टार्टअपहरुले सहकार्यको मोडेलमा पनि व्यवसाय वा सर्भिस भर्टिकल खडा गरेर कोभिड–१९ कै बीच नयाँ योजनामा काम गरे।
उपत्यकामा ५० भन्दा बढी रिटेल आउटलेट खोलिसकेको बिग मार्टले अनलाइनबाट सामान बिक्री गर्न इ–कमर्स कम्पनी 'दराज' सँग सहकार्य गर्यो। त्यहीअनुसार दराजले लकडाउनयता बिग मार्टका ग्राहकले किनेको सामान आफ्नो प्लेटफर्म र संयन्त्र परिचालन गरेर क्रेताको घरघरसम्म पुर्याइरहेको छ।
ढाका, अल्लो लगायतका मौलिक नेपाली उत्पादन प्रयोग गरेर फुटवेयर, झोला लगायतका वस्तु उत्पादन गरेर विदेश निर्यातसमेत गर्दै आएको 'दोचा' र जडिबुटीजन्य पर्सनल केयरसमबन्धी सामग्री उत्पादन गर्दै आएको 'नुगा' ले ललितपुरको झम्सिखेलमा संयुक्त 'फ्याक्ट्री आउटलेट' शुरु गरे।
मूल व्यवसाय छोडेर खाद्यान्नमा सिफ्ट
सरकारले लकडाउनसँगै अन्य व्यवसायमा रोक लगाएर दैनिक उपभोग्य वस्तुको मात्र व्यापार संचालन खुला गरेपछि धेरैजसो स्टार्टअपहरुले आफूलाई जोगाउन खाद्यान्न, तरकारी, फलफूल लगायतको व्यापारमा हात हाले।
ग्राहकलाई रेस्टुरेन्टहरुका परिकार अनलाइन तथा मोबाइल एपबाट अर्डर तथा होम डेलिभरीको सेवा दिने व्यवसाय गर्दै आएको 'भोज' (भोज डिल) ले लकडाउनमा होटल तथा रेस्टुरेन्टहरु बन्द भएपछि ग्रोसरी सामग्रीहरु डेलिभरीको सेवा थाल्यो।
लकडाउनपछि दैनिक उपभोग्यबाहेकका वस्तुको बिक्रीमा रोक लगाएपछि अनलाइन मदिरा स्टोरको अवधारणामा शुरु भएको 'चियर्स डटकम' ले पनि ग्रोसरी सामानहरुको कारोबारमा हात हाल्यो।
'होम सेफ' र उपभोक्तालाई जोड्ने अवधारणामा गृहणी वा अन्यले घरमै बसेर बनाएका परिकारहरुको ग्राहकबाट अर्डर लिने र होम डेलिभरी गर्ने सेवा दिइरहेको 'फूडमारियो' ले पनि कोभिड–१९ का कारण 'होम–मेड मेनु' को माग बन्द भएपछि तरकारी तथा फलफूलको अर्डर लिएर ग्राहकको घरसम्म पुर्याउने काम शुरु गर्यो।
वस्तु तथा सेवाका लागि नेपालको सबैभन्दा ठूलो बजार काठमाडौं भएपनि उपत्यकाबाहिर स्टार्टअपहरुले लकडाउनका बीच नयाँ सेवा थाले।
बुटवलको 'लाइम एन्ड लेमन' रेस्टुरेन्टका संचालक सागर पौडेलले रेस्टुरेन्टको कारोबार बन्द भएपछि व्यवसायलाई बचाउन खाद्यान्न आपूर्तिको काम थालेका छन्। चितवनका सन्तोष कँडेलले यहीबीच चार वर्षदेखि संचालन गर्दै आएको 'मेरो किनमेल डटकम' नामको इ–कमर्स व्यवसायमा नयाँ प्रडक्टलाइन थपे। पहिले रेस्टुरेन्टहरुको परिकारमा मात्र केन्द्रित यस कम्पनीले चैत अन्तिमबाट ताजा तरकारी, फलफूल, ग्रोसरी र बेभरेजहरु पनि अनलाइनबाट बिक्री गरेर ग्राहकलाई होम डेलिभरीको सेवा दिन थाल्यो।
मेरो किनमेलका संस्थापक कँडेल भन्छन्, 'नियमित व्यवसाय कोरोनाले बन्दजस्तै भएपछि सर्भाइभलका लागि प्रडक्टलाइनमा नयाँ आइटम थपिएको थियो। तर, यसले हामीलाई लकडाउनको बेला व्यापार मात्र नभएर सयौं नयाँ ग्राहकमा पुर्याइयो भने बजारले पनि हामीलाई पहिलेभन्दा बढी चिन्यो। यसैले केही समयका लागि भनेर थपेको प्रडक्टलाइनलाई अब हामी निरन्तरता दिन्छौं।'
यसबीच दैनिक ४० वटासम्म अर्डर पाएको मेरो किनमेलले यो अवधिमा तीन हजारभन्दा धेरै ग्राहक बढाएको कँडेलको भनाइ छ। 'लकडाउनको बेला सेवा लिनका लागि हाम्रो मोबाइल एप डाउनलोड गर्ने मात्र १० हजार पुगेका छन्,' उनले भने, 'नयाँ थपिएकै सर्भिसबाट मेरो किनमेलले पछिल्लो तीन महिनाभन्दा कम समयमा १० लाख रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ।'
केही भने संकटमा
साना तथा मझौला लगानीमा शुरु गरिएका 'स्टार्टअप' व्यवसायहरु यतिबेला नराम्ररी पिल्सिएका छन् । कोभिड–१९ ले सिर्जना गरेको अभूतपूर्व प्रतिकूलताले खासगरी संचालनको तीन–चार वर्ष पनि पार नगरेका यस्ता धेरै 'स्टार्टअप' (नवउद्यम) पछिल्लो चार–पाँच महिनायता गुमेको आफ्नो व्यवसायको लय फर्काउन सक्ने आत्मविश्वास हराउँदा हतास छन्।
यसैले व्यवसायिक पुनर्स्थापनाका लागि आवश्यक राहतका लागि सरकारबाट पनि नीतिगत रुपमा उपेक्षित यो समूहका धेरैले व्यवसायमा टिक्ने बाटो मधुरो देखेका छन्। संचालन खर्च घटाएर व्यवसायमा रहिरहनका लागि कतिपय स्टार्टअपले अफिस चलाउँदै आएको ठाउँ (अफिस स्पेस) छाडेका वा घटाएका छन्।
धेरै स्टार्टअपहरु लकडाउनले कारोबारविहीन बनेपछि नियमित खर्चसमेत धान्ने पुँजी अभाव हुँदै जाँदा बन्द हुने अवस्थामा पुगेको स्टार्टअप विकासको क्षेत्रमा काम गर्दै आएको कम्पनी अन्तरप्रेरणा प्रालिका सीईओ निरज खनाल बताउँछन्।
महाव्याधिले आर्थिक गतिविधि सुस्त हुँदा व्यवसाय संचालनका आधारभूत पक्षको समेत ज्ञान नभइ लहडमा शुरु भएका स्टार्टअपहरु त बन्द हुने अवस्थामा पुगे नै, तर व्यवसायिक ज्ञानका बाबजुद पनि कारोबार बन्द भएको केही महिनाको निश्चित खर्च (फिक्स्ड ओभरहेड) धान्ने नगद मौज्दात नहुँदा सकसबाट गुज्रिरहेका पनि थुप्रै छन्।
स्टार्टअपको व्यवसायिक विकासको क्षेत्रमा काम गर्दै आएको कम्पनी 'सफल पार्टनर्स'का प्रबन्ध निर्देशक आशुतोष तिवारीको अनुभवमा आधारभूत आवश्यकताका वस्तुमा आधारित व्यवसाय गरिरहेका र तीन–चार महिनालाई पुग्ने नगद राखेका स्टार्टअपहरु अहिले पनि टिक्न वा टिक्ने उपायमा काम गर्न सकिरहेका छन्। तर, युवाहरु मिलेर शुरु गरेका प्रायः साना व्यवसायहरु अहिले धर्मराएका छन्। हाल संकटमा परेका स्टार्टअप क्षेत्रप्रति सरकारले चासो नदेखाए यसले दूरगामी असर पर्ने उनी बताउँछन्।
यसका बाबजुद कोभिड–१९ कहरकै बीच केही यस्ता स्टार्टअपहरु पनि देखिए जो व्यवसाय बन्द गर्नुभन्दा वैकल्पिक उपाय अपनाएर अस्तित्वका लागि संघर्षमा उत्रिए। कतिले यस्तो विकल्पबाट अपेक्षाभन्दा असाध्यै राम्रो कारोबार भएको पनि बताएका छन्।
'भोलि अवस्था सामान्य हुँदै गएपछि व्यवसायको मूल उद्देश्यअनुरूपकै काममा फर्किने गरी अहिले धेरै स्टार्टअपहरु तत्कालका लागि व्यवसायलाई थोरै परिवर्तन गरेर सर्भाइभल मोडमा गएका छन्,' खनाल भन्छन्, 'जसले यसरी परिवर्तनमा काम गर्न सकेनन्, उनीहरुले टिक्न सकिँदैन भनेर स्टाफहरुलाई पनि बिदा दिए । त्यस्ता स्टार्टअपले भोलि फेरि काम थाल्दा जिरोबाट शुरु गर्नुपर्ने हुन्छ।'
स्टार्टअपलाई को–वर्किङ स्पेस उपलब्ध गराउँदै आएको नेपाल कम्युनिटर्सका बिजनेस इन्कुबेसन लिड अनिल पराजुली भन्छन्, 'कारोबारविहीन हुँदा सानो पुँजीमा चलेका धेरै स्टार्टअपलाई टिक्नै धौधौ भइरहेको छ। तीन महिना काम बन्द हुँदा अफिस भाडा, भेन्डरलाई तिर्न बाँकी पैसा, बैंकको ब्याज, स्टाफको तलब लगायत दिनका लागि धेरै दबाव नआएको भए पनि लकडाउन खुकुलो भएपछि व्यवसाय खुल्दा ती सबैले पैसा माग्न थालेकाले यो धान्न नसक्ने स्टार्टअपहरु अब बन्द हुने अवस्था आउन सक्छ।'
तर, यस्तो अवस्थामा पनि हरेस नखाएर संकटलाई नयाँ आइडियामा काम गर्ने अवसरमा बदल्दै गरेका स्टार्टअप पनि छन्। व्यवसायमा टिकिराख्नका लागि नियमित गर्दै आएको बिजनेसमा नयाँ 'सर्भिस भर्टिकल' शुरु गरेका यस्ता कम्पनी असहज परिस्थितिमा हिम्मत गुमाएका र व्यवसाय बन्द गर्ने मनस्थितिमा पुग्नेहरुका लागि हौसला बन्न सक्छन् ।