कोरोनाको डरले फलफूल नबिक्दा करोडौंको स्टक कुहिँदै, चितवनमा बोटमै केरा बिग्रियो

सरला सुवेदी/बिजमाण्डू
२०७७ जेठ २१ गते ११:५२ | Jun 3, 2020


काठमाडौं। आयात गरिएको फलफूलमा कोरोना संक्रमण हुने भन्दै उपभोक्ताले किन्न घटाएका छन्। कुलेश्वरस्थित फलफूलको थोक बजारका व्यवसायीहरुका अनुसार यतिबेला फलफूलको खपत निकै कम भएको छ ।

Tata
GBIME
Nepal Life

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिनदिनै फैलिँदो क्रममा छ । रोगी तथा बिरामीहरुलाई तागत दिलाउन फलफूल आवश्यक मानिन्छ। तर फलफूलबाटै पनि कोरोना आउन सक्ने भन्दै उपभोक्ताले किन्न निकै कम गरेको कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्बर बानियाँले बताए ।

संक्रमण बारेका सर्वसाधारणमा फैलिएको भ्रमले बजार प्रभावित भएको बानियाँको भनाई छ। भारतीय फलफूल आयात ठप्प भएको छ । यो सिजनमा आउने स्वदेशी आँप र लिच्ची पनि बिक्री नहुँदा गोदाममा थन्क्याउनुपर्ने अवस्था आएको उनले बताए।

'चिनियाँ सीमा नाकामा रोकिएको फलफूलका स्टक पनि उतै फाल्नुपर्ने अवस्था आएको छ,' उनले भने।

सरकारले हरिया तरकारी र फलफूलमा कोरोना भए नभएको परीक्षण गर्ने व्यवस्था गरी सर्वसाधारणलाई आश्वस्त पार्नुपर्ने  बानियाँको भनाई छ।

'अहिले हल्लाको भरमै उपभोक्ताले फलफूल किन्न कम गरिसके। फलफूलबाट कोरोना सर्दैन भनेर परीक्षणै गरी सबैलाई सरकारले सही सूचना दिन सके हुन्थ्यो। नभए चीनबाट आउने र यतिबेला स्टक रहेको करोडौंका फलफूल कुहिएर फाल्नुपर्ने अवस्था आउँछ,' केही दिन अघि किसानले तरकारी फ्याँक्नुपरेको उदाहरण दिँदै उनले भने।

बानियाँका अनुसार हाल सिरहाको आँप  काठमाडौं लगेर बिक्री गरिदिन व्यवसायीहरुले आग्रह गरिरहेको छन्। तर गत हप्ताभन्दा खपत निकै कम भएको छ ।

'आयातित फलफूल स्टक धेरै छ। स्याउको बिक्री भएकै छैन। अब त थोक मुल्य पनि सस्तिएर नाम मात्रको हुन थालेको छ। आँप नै नबिकेर क्रेटको ६ सय रुपैयाँमै बेच्दा पनि किन्नेहरु कम छन्,' भारतीय आँपको स्टक नै बाँकी रहेकाले स्वदेशी आँप बेच्न गाह्रो परिरहेको बाँनियाले जानकारी दिए।

चितवनबाट केरा व्यवसायीहरुले कुलेश्वरको फलफूल बजारमा पठाउन नपाउँदा आफ्नो बारीमा केरा बिग्रन लागेको जानकारी गराइसकेका छन्। केरा व्यवसायीहरुको व्यापार पूरै घाटामा गएको छ । बानियाँले भने 'हामीले पनि खपत नहुने अवस्था देख्ता देख्तै बजारमा ल्याएर  राख्न सक्दैनौं। किसानको बेहाल छ।  हामीसँग भएकै स्टक पनि बिक्री नहुँदा कुहिने अवस्था छ। चौतर्फी समस्या भयो।'  

यतिबेला कुलेश्वरको फलफूल बजारमा  सामान्य स्याउ थोकमा प्रतिकेजी ९० रुपैयाँ, फुजी स्याउ १२५ देखि १५० रुपैयाँ,  नेपाली मालदह आँप  ५० देखि ६० रुपैयाँ, केरा एक दर्जनको  ७५ रुपैयाँ, खर्बुजा किलोको २५ देखि ३५ रुपैयाँमा बिक्री भइरहेको छ।