चिनियाँ अर्थतन्त्रको ‘कि प्लेयर’ अलिबाबाको बिक्री बढ्यो, अन्तर्राष्ट्रिय ब्यापार मन्द

बिजमाण्डू
२०७७ जेठ १२ गते ११:२५ | May 25, 2020

Tata
GBIME
Nepal Life

कोरोना महामारीका बीच चिनियाँ इ-कमर्स जायन्ट अलिबाबाले जनवरीदेखि मार्चसम्मको बिक्रीमा सुधार गरेको छ। कोरोना भाइरसका कारण चिनियाँ अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका बावजुद अलिबाबा बलियो देखिएको छ।

कम्पनीले कोरोना महामारीले पारेको असरका बीच पनि मार्चसम्मको त्रैमासिक बिक्रीमा २२ प्रतिशतले वृद्धि भएको तथ्य सार्वजनिक गरेको हो।

खाद्यान्न, विद्युतीय उपकरण र क्लाउड कम्प्युटिङको बिक्रीका कारण अलिबाबाको अवस्था सुधारोन्मुख देखिएको बताइएको छ।
तथ्यांक अनुसार कोरोना महामारीका कारण आपूर्ति संजालमा आएको अवरोध र लगानीमा नोक्सानी भएपनि समग्रमा यसको बिक्रीले कम्पनीमा राम्रो प्रभाव देखाएको छ।

लकडाउनपछि चिनियाँ अर्थतन्त्रमा अलिबाबा 'कि प्लेयर'का रूपमा देखिएको छ र उसको ब्यापार अवस्थाले पनि चिनियाँ अर्थतन्त्रमा निकै ठूलो अर्थ राख्छ।

विश्वका धेरै ठूला कम्पनीहरु कोरोना पछिको लकडाउनका कारण आर्थिक नोक्सानीमा रहने प्रक्षेपण भइरहेका बेला अलिबाबाका प्रमुख कार्यकारी ड्यानियल झाङले कम्पनीको हालको अवस्था हेर्दा अलिबाबाले निराश हुनु नपर्ने बताए।

उनले विश्वका केही प्रमुख बजारहरुमा यसको रिकभरी प्रक्रिया अप्रिल महिनादेखि सुरु भइसकेको जानकारी दिए।  तर कोरोना महामारीको संकट जारी नै रहेकाले अलिबाबाले अझै पनि अनिश्चितताको सामना गर्नुपर्ने तथ्य अघि सारे।

विश्वको सबैभन्दा ठूलो सपिङ तथा डिजिटल मिडिया बेवसाइट रहेको अलिबाबालाई गत शुक्रबार मात्रै ब्यापारमा अनिश्चितताको चेतावनी दिइएको थियो।

तर उसले लगानीकर्ताहरुलाई आगामी १२ महिनामा रेभेन्यूमा २७ प्रतिशत वृद्धि हुने अनुमान सार्वजनिक गर्दै आश्वस्त पारेको छ। गत वर्ष सोही अविधमा कम्पनीले ३५ प्रतिशत वृद्धि गरेको थियो।

'कम्पनीलाई कोरोना महामारीको नकारात्मक असर त परेको छ नै। मुख्यगरी  जनवरीमा यसले हाम्रो आन्तरिक ब्यापारमा यसले ठूलो असर गर्‍यो, तर हामी मार्चदेखि नै राम्रो सुधार गर्न सक्यौं,' अलिबाबाकी प्रमुख वित्तीय अधिकृत म्यागी वुले भनिन्।

जनवरीदेखि मार्च ३१ सम्म कम्पनी पूर्ण रूपमा नाफारहित थियो। कम्पनीका अनुसार त्यस बेला कम्पनी पूरै ओरालो लागेको थियो र उसको लगानीमै असर पर्ने सम्मको नोक्सानी थियो।

कम्पनीका अनुसार उक्त अवधिमा १६ अर्ब डलरको बिक्री भएको थियो, जहाँ सपिङ वेबसाइटहरुबाट भएको बिक्रीमा १९ प्रतिशत वृद्धि देखिएको छ भने क्लाउड कम्प्युटिङ विभागको बिक्रीमा ५८ प्रतिशत वृद्धि गर्‍यो।  तथापि कम्पनीको अन्तर्राष्ट्रिय ब्यापार भने तुलनात्मक रूपमा मन्द वृद्धि देखिन्छ। दक्षिण पूर्वी एशियाको वेबसाइट लजादाले कम्पनीको रेभेन्यूमा ७ प्रतिशतको योगदान गर्छ ।

 'हाल हाम्रो अन्तर्राष्ट्रिय ब्यापार मन्द छ। यसको सुधारको समय र गति अझै अनिश्चित देखिन्छ किनभने चीनबाहिरका देशहरुमा माग अझै पनि न्यून छ,' अलिबाबाले भनेको छ।