विराटनगरमा आइतबारदेखि दिनको चार घण्टा बैंकिङ सेवा, थर्मोमिटरको प्रयोग अनिवार्य

बिजमाण्डू
२०७७ जेठ ८ गते १५:०२ | May 21, 2020
विराटनगरमा आइतबारदेखि दिनको चार घण्टा बैंकिङ सेवा, थर्मोमिटरको प्रयोग अनिवार्य


विराटनगर। विराटनगर महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिनको ४ घण्टा सेवा दिने भएका छन् ।

Tata
GBIME

महानगरपालिका कार्यालयमा बिहीबार दिउँसो भएको बैठकमा विराटनगरका बैंक तथा वित्तीय संस्थाले दिनको ४ घण्टा सेवा दिने निर्णय गरिएको हो ।

सेवा कसरी दिने भनेर कार्यतालिका बनाउन महानगरपालिकाका अधिकृत राजेन्द्र प्रधान, नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देल र बैंकर्स एसोसिएसन विराटनगरका संयोजक निश्चल अधिकारीसहितको तीन सदस्यीय समिति बनाइएको छ ।

महानगरपालिकाका अधिकृत प्रधानका अनुसार समितिले कुन बैंकको कुन शाखा कहिले खुल्ने भनेर कार्यतालिका बनाउने छ र सकेसम्म छिटो आगामी आइतबारदेखि दिनको ४ घण्टा सेवा दिने प्रयास गरिनेछ ।

विराटनगरमा एक बैंकका शाखा एकभन्दा बढी ठाउँमा भएकाले कार्यतालिका बनाएर पालो लगाई खोल्न लागिएको प्रधानले बताए ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई सेवा दिँदा व्यक्तिगत दूरी कायम गर्नुपर्ने र थर्मोमिटरको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरिएको छ ।

बैठकको अध्यक्षता महानगरका प्रमुख भीम पराजुलीले गरेका थिए ।

विराटनगरमा २७ वटा वाणिज्य बैंक, ४ वटा फाइनान्स कम्पनी र १० वटा विकास बैंकका शाखा सञ्चालनमा छन् ।