दुई महिनामा फेरियो काठमाडौंका सडकको स्वरुप, लकडाउनै २२ किमी ओभरले, ३५ किमी मार्किङ

बिजमाण्डू
२०७७ जेठ ६ गते १४:२७ | May 19, 2020
दुई महिनामा फेरियो काठमाडौंका सडकको स्वरुप, लकडाउनै २२ किमी ओभरले, ३५ किमी मार्किङ

काठमाडौं। अघिल्ला वर्षहरुमा खाल्डाखुल्डी र धुलोले आक्रान्त हुने काठमाडौंका सडकहरुको स्वरुप यो वर्ष व्यापक फेरिएको जो कोहीलाई सहजै महसुस हुन्छ । गौशाला–चाबहिल र पुतलीसडक खण्ड बाहेक अहिले सडक विभागको कार्यक्षेत्रभित्रका काठमाडौंका अन्य सम्पूर्ण सडकको अहिले मर्मतसम्भार भइसकेको छ । 

Tata
GBIME
Nepal Life

उपत्यकाकाको करीब एक हजार पाँच सय किमी सडकमध्ये सात सय किमी विभागको कार्यक्षेत्रअन्तर्गत पर्दछ ।

सडक विभागले काठमाडौं उपत्यकामा लकडाउनकै बीच करीब २२ किलोमीटर सडकमाथि कालोपत्रे तह थप्ने काम (ओभरले) गरेको छ ।

डिभिजन सडक कार्यालय काठमाडौं, ललितपुर, भक्तपुर र उपत्यका सडक विस्तार आयोजनाले गरी यो परिमाणमा सडक ‘ओभरले’ भइसकेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । 

उनका अनुसार लकडाउनको अवधिमा सडक सुधारमा काठमाडौं उपत्यका केन्द्रित भएर काम भइरहेको छ । डिभिजन सडक कार्यालयले मात्रै लकडाउन जारी भएयताको लभगभग दुई महिना बीचमा १४ किमी सडक ओभरले गरिसकेको छ । 

डिभिजन सडक कार्यालय प्रमुख कुवेर नेपालीका अनुसार यो वर्ष कार्यालयले ४०.५ किलोमीटर सडक ओभरले गरिसकेको छ । ‘यस वर्ष कुल ४१ किमी सडक ओभरले गर्ने लक्ष्य लिइएकोमा त्यो पूरा गर्न अब पाँच सय मीटर मात्रै बाँकी छ,’ उनले भने, 'मोटामोटी लक्ष्य हासिल भइसकेको छ । केही दिनमा हाम्रो जिम्मेवारीको ओभरले सक्छौं ।’

त्यसैगरी, डिभिजन सडक कार्यालयले ३५ किमी सडक मार्किङको काम भइसकेको पनि बताएको छ । मार्किङमा सडक बीचको रेखा (सेन्ट्रल लाइन) तान्ने, जेब्रा क्रसिङ, सडक किनारा पेन्टिङ लगायतका कामहरु पर्छन् ।

उपत्यका सडक सुधारको काममा सोमबार पनि डिभिजन सडक कार्यालय प्रमुख नेपालीसहितको टोली साइटमा नै खटिएको थियो । अहिले काठमाडौंको बाँसबारीस्थित न्यूरो हस्पिटलनजिकै कालोपत्रे भइरहेको छ । कार्यालयले न्यूरो हस्पिटलबाट पश्चिमतर्फ वसुन्धरातिरको सडक कालाेपत्रे गर्ने काम गरिरहेको हो । 

पछिल्लो दुई महिनामा सामाखुसी चोक–टोखा, कालोपुल–मित्रपार्क, तीनकुने–गौशाला, माइतीघर–थापाथली–त्रिपुरेश्वर, जयनेपाल–कमलादी, डिल्लीबजार–पुरानो वानेश्वर, न्युरोड क्षेत्र, चक्रपथ–बाँसबारी, धुम्बराही–हाँडीगाउँ–ज्ञानेश्वर लगायतका सडकहरु ओभरले गरेर चिटिक्क पारिएको छ । डिभिजन सडक कार्यालयका अनुसार यी सबै सडक ओभरलेको काम लकडाउनयता नै गरिएका हुन् ।

गौशला–चाबहिल र पुतलीसडक स्तरोन्नतिमा निर्माण सामाग्री अभाव
पुतलीसडक र गौशाला–चाबहिल सडक स्तरोन्नतिको काम पनि यही लकडाउनकै बीच पूरा गर्ने लक्ष्य राखिएको भए पनि निर्माण सामाग्री अभावका कारण यी आयोजनामा काम हुन नसकेको डिभिजन सडक कार्यालय प्रमुख नेपालीले बताएका छन् । दुवै सडक आयोजना लकडाउनमै सक्ने गरी काम अघि बढाएको भए पनि विभिन्न समस्याका कारण रोकिएको छ ।

चाबहिल–गौशाला सडक १५ दिनमा सक्ने लक्ष्यका साथ कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिबाट स्वीकृति लिएर काम थाल्ने योजना बनाइएको थियो । सोहीअनुरुप निर्माण कम्पनीले उपकरणहरु र कामदार साइटमा ल्यायो । तर, निर्माण सामाग्री लिन काभ्रेको भुम्लु पुगेका टिप्परहरु स्थानीयको अवरोधका कारण रोकिँदा यसको काम शुरु हुन सकेन । 

स्थानीयले सहयोग नगरेकाले निर्माण सामाग्री ल्याउन नसकेको र त्यसबाट आयोजनाको काम रोकिएको निर्माण कम्पनीले बताएको छ ।

गौशाला चोकबाट चाबहिल हुँदै चुच्चेपाटी र चाबहिल चोकबाट गोपीकृष्ण हल अगाडिको धोबीखोला पुलसम्मको सडक मर्मत गर्न लागिएको हो । यो सडकमा खासगरी खानेपानीको लिकेजका कारण वर्षौदेखि स्तरोन्नतिको काम हुन सकेको थिएन । अहिले खानेपानीको पाइपलाई खानेपानी तथा ढल निकास विभागको प्राविधिक सहयोगमा सडक विभाग आफैंले मर्मत गरिसकेको छ ।

ढल निकासमा समस्यका कारण पुतलीसडक पनि वर्षामा बर्सेनि नै जलमग्न बन्ने गरेको थियो । यो वर्षदेखि उक्त समस्या भने हट्ने भएको छ । सडक विभागले यहाँको पनि ढल मर्मत र ह्युम पाइप राख्ने काम लगभग सकेको छ ।

पुतलीसडकमा ह्युम पाइप राख्ने, फिलिङ गर्ने, फुटपाथ मर्मत र कालोपत्रे गर्ने योजनाका साथ काम थालिएको थियो । तर अहिले पाइप राखेर फिलिङ गरेर छाडिएको छ । 

'भइरहेको कालोपत्रे उप्काएर पिच गर्न नपाउँदा सडक अलपत्र हुन्छ । निर्माण सामाग्री नभएपछि हामीले विद्यमान कालोपत्रे तत्काल उप्काएका छैनौं,’ नेपालीले भने । 

कोरोना संक्रमितको सङ्ख्या वृद्धिका साथै दुई जनाको मृत्यु समेत भइसकेकाले अहिले निर्माणका कामहरु रोकिन थालेका छन् । श्रमिक, इन्जिनियरहरु साइटमा जान डराउने र निर्माण सामग्री नहुँदा भइरहेका कामहरु रोकिने अवस्थामा पुगेको हो ।

तार भूमिगतका लागि प्राधिकरणले पार्‍यो सडक अलपत्र
यसैबीच, गौशाला–चाबहिल खडक खण्डमा नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्न पनि शुरु गरेको छ । तर, तार भूमिगत गर्दा सेन्ट्रल लाइन नजिकबाट नाली खनेजसरी सडक खाल्डो पारेर २० दिनदेखि अलपत्र छाडिएको छ । जबकि, सहमति बमोजिम प्राधिकरणले यो काम एक हप्ताभित्र सक्नुपर्ने थियो । 

प्राधिकरणलाई एक ठाउँमा खनेर त्यहाँबाट ५० देखि सय मीटर पर पुन खनेर ‘डक्ट’ मार्फत जस्तैगरी तार भूमिगत गर्दै लैजान अनुमति दिइएको थियो, जुन काम प्राधिकरणले एक सातामा पूरा गर्नुपर्ने भनिएको हो । यद्यपि, तीन हप्ता बित्दा पनि यो अझै सकिएको छैन । 

सडक विभागले लकडाउनको बीचमा १५ दिनभित्र यो खण्डको सडक सुधारको काम सक्ने योजना बनाएको थियो । तर, डेढ महिना बितिसक्दा पनि काम ज्युँका त्युँ रहेपछि प्रधानमन्त्री कार्यालयले सडक सुधारको काम भनेको  समयमा नसकिएको विषयमा विभागसँग स्पष्टीकरण सोधेको थियो । विभागले विद्युत् प्राधिकरणले तार भूमिगत गर्नका लागि सडक खनेर छाडेकाले पनि काम अघि बढ्न नसकेको प्रधानमन्त्री कार्यालयलाई बतायो । 

त्यसपछि सडक विभाग, डिभिजन सडक कार्यालय, विद्युत प्राधिकरण, खानेपानी लगायतका यो सडक आयोजनासँग जोडिएका तालुक निकायका प्रमुखहरुलाई अघिल्लो शुक्रबार प्रधानमन्त्री कार्यालयले बोलाएको थियो । 

'हामीले प्रधानमन्त्री कार्यालयमा समेत विद्युत प्राधिकरणका कार्यकारी निर्देशकज्यू समक्ष हातै जोड्यौं, त्यसरी सडक अलपत्र नपारिदिनुस् भनेर, तर उहाँहरुले मान्नु भएको छैन, अझै अलपत्र छ,’ डिभिजन सडक कार्यालयका प्रमुख नेपालीले भने ।