कोभिड–१९ ले बदल्यो बुद्ध एयरको व्यवसायिक योजना, लकडाउनपछि टुर प्याकेज र कार्गो उडान थाल्ने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ बैशाख ३० गते १६:३९ | May 12, 2020
कोभिड–१९ ले बदल्यो बुद्ध एयरको व्यवसायिक योजना, लकडाउनपछि टुर प्याकेज र कार्गो उडान थाल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ का कारण हवाई उद्योग प्रभावित भएपछि निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयरले आफ्नो व्यवसायिक योजनालाई नयाँ शिराबाट अघि बढाउने भएको छ।

 बुद्धले यात्रु ओसारपसारमा मात्र केन्द्रित नभएर भ्रमण प्याकेज संचालनदेखि यात्रु बोक्दै आएको जहाजलाई कार्गोमा परिणत गर्ने सम्मको तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन्।

लकडाउन खुलेपछि बुद्धले दुईवटा आन्तरिक गन्तव्यमा भ्रमणको प्याकेज ल्याउने भएको छ। कोभिड-१९ का कारण पछिल्लो डेढ महिनायता नियमिततर्फ अन्तर्राष्ट्रियका साथै आन्तरिक उडानहरु पनि ठप्प छन्।

बुद्धले कम्तिमा दुईवटा गन्तव्यका लागि भ्रमण प्याकेज बनाएर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएको प्रबन्ध निर्देशक बस्नेतले बताए। बुद्धले लकडाउनपछि शुरुमा पोखरा र चितवनका लागि भ्रमण प्याकेज ल्याउन लागेको हो।

'कोभिड-१९ का कारण पर्यटन उद्योगमा प्रभाव परेको छ। लकडाउनपछि सबै क्षेत्र पुनर्परिभाषित हुने निश्चित छ। त्यसलाई दृष्टिगत गर्दै नेपालको पर्यटन गतिविधिसँगै आर्थिक चक्रलाई पुनः सामान्य अवस्थामा उन्मुख गर्ने उद्देश्यले यो भ्रमण प्याकेज शुरु गर्न लागेका हौं,' कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले भने।

लकडाउन खुलेपछि कम्पनीले तयार पारेको सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै पुनः उडान संचालन गर्ने योजना रहेको उनले बताए।

'काठमाडौंका ३० प्रतिशत आन्तरिक पर्यटक पोखरा र चितवन जाने गरेका छन्। यसैले पहिलो चरणमा काठमाडौंबासीलाई यी दुई गन्तव्यमा आकर्षित गर्ने योजना बनाएका हौं,' बस्नेतले भने।  

बुद्धले पुन: उडान थाल्दा सिट क्षमतामा कुनै पनि परिवर्तन नआउने पनि उनले जानकारी दिए। अहिले विभिन्न मुलुकले स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै जहाजभित्र पनि सामाजिक दूरी कायम गर्ने मापदण्ड सार्वजनिक गरेका छन्। तर छोटो दुरीको यात्राका लागि यसको कुनै असर नपर्ने देखिएपछि बुद्धले लकडाउनअघिको नियमित सिट क्षमता नै कायम गर्दै उडान थाल्ने योजना बनाएको बस्नेतको भनाइ छ।

कोभिड-१९ नियन्त्रणमा आउनेबित्तिकै कम्पनीले चीन र भारतका पर्यटकलाई प्राथमिकता दिँदै टुर प्याकेज ल्याउने योजना रहेको पनि उनले बताए।

पोखराका लागि बुद्धले ६ हजार रुपैयाँमा दुई दिनको भ्रमण प्याकेजको तयारी गरेको छ। जसमा दुईतर्फी उडान भाडा, ब्रेकफास्टसहित चारतारे होटलमा बस्ने सुविधा, एयरपोर्ट गाडीमा ल्याउने-पुर्‍याउने लगायतका सुविधाहरु रहने कम्पनीले जनाएको छ। यो प्याकेजका लागि बुद्धले पोखराको बाटिका, बराही, झलमल, लेकसाइड रिट्रीट र ल्याण्डमार्क लगायतका तारे होटलसँग सम्झौता गरिसकेको छ।

यसैगरी चितवनको दुई दिने भ्रमण प्याकेजमा दुईतर्फी उडान भाडासहित एयरपोर्ट पिकअप-ड्रप, फुल बोर्ड मील, जंगल सफारी, थारु कल्चरल शोसहितका सुविधा १४ हजार रुपैयाँमा दिने प्याकेज बनाइएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले चितवन भ्रमण प्याकेजका लागि जंगल सफारी लज र ग्रीन पार्क होटलसँग सहकार्य गर्ने भएको छ। पोखराको तुलनामा चितवन भ्रमण प्याकेजमा थप सुविधाहरु भएकाले यसको मूल्य तुलनात्मक रूपमा बढी रहेको बताइएको छ।

सरकारको अहिलेसम्मको निर्णय अनुसार ३१ मे सम्म उडान संचालनमा रोक लगाएको छ। यसैलाई आधार मान्दै जुन १ तारिखबाट कम्पनीले उडान र होलिडे प्याकेजको बजारीकरण शुरु गर्ने योजना बनाएको जानकारी दिएको छ। लकडाउनको मिति थपिएको अवस्थामा कम्पनीले बजार व्यवस्थापनको काम पनि पछि सार्न सक्ने जनाएको छ।

यो टुर प्याकेजको प्रवद्धन तथा व्यवस्थापन बुद्धको भगिनी कम्पनी बुद्ध होलिडेजले गर्नेछ।                              

स्टल रुट उडान विस्तार एक वर्ष पर धकेलियो

कोभिड-१९ का कारण बुद्धको स्टल रुट उडान विस्तार थप एक वर्ष पर धकेलिएको छ। जहाज निर्माता कम्पनी एटिआरले उत्पादन गर्ने योजना बनाएको एटिआर-४२ एस-६०० जहाजबाट तीन वर्षभित्र विकट गन्तव्य (स्टल रुट) मा उडान विस्तार गर्ने योजना बनाएको थियो।

तर कोभिड-१९ का कारण एटिआरको यो जहाजको उत्पादनमै रोकिएपछि यो योजना सन् २०२४ सम्मका लागि धकेलिएको कम्पनीले जानकारी दिएको छ।

'हामी अहिले अध्ययन गर्दैछौं। एटिआर-४२ एस-६०० विकट उडानका लागि अत्याधुनिक र अति उपयुक्त रहेकाले यो जहाजमार्फत उडान गर्ने योजना बनाएका थियौं। तर कोभिडका कारण सन् २०२२ को अन्तिममा बिक्री शुरु गर्ने भनिएको यो जहाज सन् २०२४ देखि मात्र बेच्न थाल्ने एटिआरबाट जानकारी आएको छ,' बस्नेतले भने।           

कम्पनीले दुर्गम क्षेत्रमा उडानका लागि बझाङ, जुम्ला, हुम्ला, रुम्झाटार, बैतडी, ताप्लेजुङ, दाङ र जोमसोम लगायत विमानस्थलमा अध्ययन शुरु गरेको उनले बताए।

क्षमता विस्तारका लागि थप एउटा एटिआर जहाज खरिद गर्ने योजना रहेको बुद्धले कोभिड-१९ का कारण एउटा एटिआर-७२ जहाज फिर्ता गरेको जनाएको छ।

यात्रुबाट कार्गो उडानतर्फ विस्तार गर्दै

पछिल्लो समय एयर कार्गोको सम्भाव्यतालाई मध्यनजर गर्दै बुद्धले एउटा यात्रुवाहक एटिआर-७२ जहाज कार्गोमा रुपान्तरण गर्न लागेको प्रबन्ध निर्देशक बस्नेतले बताए।

 'हामीले एउटा जहाजलाई एटिआर कम्पनीको मापदण्डअनुसार कार्गोमा रुपान्तरण गरेका छौं । अहिले नागरिक उड्डयन प्राधिकरणबाट  निरीक्षणको क्रममा छ। केही दिनमा इजाजत पाएपछि माग अनुसार कार्गो उडान शुरु गर्नेछौं,' उनले भने ।        

आउँदो सेप्टेम्बरसम्म आन्तरिक हवाई उद्योग संकटमा 

आउँदो सेप्टेम्बरसम्म आन्तरिक हवाई उद्योग संकटमा रहने बस्नेत बताउँछन्। उद्योग संकटमा रहे पनि कम्पनीले आफ्ना कर्मचारी कटौती नगर्ने उनले बताए।

 'कर्मचारीको रुचि नै हाम्रो मुख्य प्राथमिकता हो। यसैले हामी आफ्नो तर्फबाट कुनै पनि हालतमा कर्मचारी कटौती गर्ने छैनौं,' उनले भने,  'अहिले अर्थतन्त्र चलायमान बनाउन आवश्यक छ। यो अवस्थामा स्वास्थ्य सुरक्षा उपायहरुलाई अक्षरस पालना गरेर आर्थिक गतिविधि शुरु नगरे भविष्यमा झन् संकट आउन सक्छ।'