बैंकरले तलब बढी खाए भन्ने सांसदको आरोपमा भुवन दाहालको उत्तर- हामी घटाउन तयार छौं

बिजमाण्डू
२०७७ बैशाख ३० गते १६:०८ | May 12, 2020
बैंकरले तलब बढी खाए भन्ने सांसदको आरोपमा भुवन दाहालको उत्तर- हामी घटाउन तयार छौं



काठमाडौं। बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले बढी तलब खाएको आरोप सांसदहरुले लगाएपछि बैंकर्स संघका अध्यक्ष भुवन दाहालले 'उच्च सुविधाले कर्मचारीको मनोबल कसरी बढ्छ' भन्ने उदाहरण दिएका छन्। 

Tata
GBIME
Nepal Life

उनले सुरुमा अरु देशमा भन्दा बढी तलब भए घटाउने प्रतिबद्धता ब्यक्त गरेका थिए। सांसदहरु उनको कुरा ध्यानपूर्वक सुनिरहेका थिए।

तलब बढी किन चाहिन्छ भनेर ब्याख्या गर्दै उनले अन्तिममा सानिमा बैंकको उदाहरण प्रस्तुत गरेका थिए। 

सानिमा बैंक सबैभन्दा कान्छो बैंक हो। २७/२८ नम्बरमा पर्थ्यो। अहिले सानिमा बैंक 'टप टेन' भित्र छ। यो कसरी भयो? सबैभन्दा सुरुमा मैले कर्मचारीको तलब बढाएँ। तलब भढेपछि उत्पादकत्व बढ्यो। यसले सानिमा बैंकलाई टप टेनभित्र पुर्यायो।

दाहाल ब्याज दर र बजेटका बारेमा कुराकानी गर्न संसदको अर्थ समितिमा पुगेका थिए। उनीसँग संघका पूर्व अध्यक्ष अनिल शाह र संघका प्रमुख कार्यकारी अनिल शर्मा पनि थिए।

अर्थ समितिका तीनजना सांसदले बैंकका हाकिमहरुको तलब धेरै भएको र बोनस पनि धेरै खाने गरेको आरोप लगाएका थिए।

'तलब बढी भयो भन्ने हो भने बैंक पनि अरु क्षेत्र जस्तो अविकसित हुन्छ। त्यहाँ पनि भद्रगोल हुन थाल्छ। तपाईँहरु पनि तलब बढाउनुस्। कर्मचारीको पनि तलब बढाउनुस्,' उनले अर्थ समितिमा भने, 'सरकारी कर्मचारीको तलब नबढाइकन यो देश विकास हुँदैन।' उनले यो कुरा दोहोर्याइ-तेहेर्याइ भनेका थिए। 

उनले दक्षिण एसियाका देशहरुको तुलनामा नेपाली बैंकका प्रमुख कार्यकारीको तलव कम भएको सुनाए। यदि बढी भएको भए घटाउने प्रतिबद्धता पनि ब्यक्त गरे। 

अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुको तलव सुविधामा 'क्याप' लगाइएको थियो। अहिले बैंकरले त्यभही क्यापभित्र बसेर तलब बुझ्छन्। 

उनले बैंकरले दैनिक १०/१२ घण्टा काम गर्ने गरेको बताए। 'म यही संसदमा जागिर खान्थे। २ जना भए हुने ठाउँमा ८ जना थियौं हामी। म हाजिर गएर लाइब्रेरीमा किताब पढेर बस्थें,' दाहालले भने, 'तलब कम भएर म बैंकतिर गएको थिएँ। त्यसैले सरकारी कर्मचारीको पनि तलब बढाउनुस्। पुरस्कार र दण्डको ब्यवस्था गर्नुस्। अनि मात्र देशको विकास हुन्छ। नीति बनाएर मात्र विकास हुँदैन।'