नन्दन घिउले माग्यो २ अर्ब बढी बैंक ऋण, तीन ब्रान्डका घिउ-तेलको उत्पादन माग वार्षिक बढ्दो

बिजमाण्डू
२०७६ फागुन ७ गते १२:०० | Feb 19, 2020
नन्दन घिउले माग्यो २ अर्ब बढी बैंक ऋण,  तीन ब्रान्डका घिउ-तेलको उत्पादन माग वार्षिक बढ्दो

Tata
GBIME
Nepal Life

काठमाडौं। बेगानी समुहको 'नन्दन घिउ एण्ड आयल इन्ड्रस्ट्रिज प्रालि' ले २ अर्ब ३ करोड ९४ लाख ८० हजार रुपैयाँ ऋण लिने भएको छ। सन् १९९४ देखि सञ्चालनमा रहेको कम्पनीले सनफ्लावर, सोयाविन, पाम आयल र तोरी तेलका साथै वनस्पति घिउ उत्पादन गर्छ।

कम्पनीले दीर्घकालीन ऋण ६ करोड ५४ लाख ८० हजार रुपैयाँ लिँदैछ। यो कोषमा आधारित ऋण हो। कोषमा आधारित अल्पकालीन ऋण २६ करोड ७५ लाख र गैरकोषमा आधारित अल्पकालीन ऋण १ अर्ब ७० करोड ६५ लाख रुपैयाँ छ।

कम्पनीले नन्दन, सुरुची र सनमुन ब्रान्डमा उत्पादन गर्छ। बाराको सिमरामा उद्योग रहेको कम्पनीका सञ्चालक कमलकुमार वेगानी हुन्। कम्पनीको सञ्चालन आम्दानी निरन्तर बढ्दो छ। कम्पनीले सन् २०१९ मा ३ अर्ब ४३ करोड ५० लाख रुपैयाँको उत्पादन बिक्री गरेको थियो। त्यस अघिको वर्ष कम्पनीले २ अर्ब ३४ करोड ८० लाख रुपैयाँको बिक्री गरेको थियो।

कम्पनीले गत वर्षबाहेक प्रत्येक वर्ष भ्याट फिर्ता लिएको छ। सरकारले गत वर्षदेखि भ्याट फिर्ता बन्द गरेको छ। सन् २०१८ मा कम्पनीले १० करोड ३० लाख भ्याट फिर्ता लिएको थियो भने अघिल्लो वर्ष १० करोड ५० लाख रुपैयाँ फिर्ता लिएको थियो।

आम्दानी बढेका कारण कम्पनीको ऋण तिर्न क्षमतामा थप सुधार देखिएको छ। त्यही भएर कम्पनीले 'इक्रा एनपी एल डबल बी रेटिङ' पाएको छ। निरन्तर उत्पादन, देशब्यापी नेटवर्क र पुरानो समुह भएकाले कम्पनीले राम्रो रेटिङ पाएको हो। खाद्यान्नको बजार जहिले बढ्दो हुने भएकाले कम्पनीको उत्पादन थप विस्तार हुने सम्भावना औंल्याइएको छ।