तेल निर्यात हुने बन्दरगाहमा आदिवासी समुहको अवरोध, लिबियालाई १ अर्ब ४० करोड डलर घाटा  

रासस
२०७६ फागुन २ गते १३:०८ | Feb 14, 2020
तेल निर्यात हुने बन्दरगाहमा आदिवासी समुहको अवरोध, लिबियालाई १ अर्ब ४० करोड डलर घाटा  

Tata
GBIME
Nepal Life

त्रिपोली। लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी) ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी भइसकेको छ।    

मुलुकको दैनिक तेल उत्पादनमा कमी आएर प्रति दिन एक लाख ६३ हजार ६८४ ब्यारेल पुगेको छ । लिबिया र लिबियाली जनताका लागि तेल निर्यातमा देखिएका सबै किसिमका अवरोध हटाउन एनओसीले आग्रह गरेको छ।

पूर्वी लिबियाका आदिवासी नेताहरुले हालै मात्र तेल निर्यात हुने प्रमुख बन्दरगाह बन्द गरिदिएका छन् । उनीहरुले राष्ट्रसंघको समर्थन प्राप्त लिबियाली सरकारले पूर्वी क्षेत्रमा तैनाथ सैनिक विरुद्ध लड्न सशस्त्र समूहलाई तेलबाट आर्जित आम्दानी खर्च भइरहेको आरोप लगाएका छन् । 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले गत मंगलबार मात्र लिबियाबाट उत्पादित कच्चा र प्रशोधित पेट्रोलियमको गैरकानुनी निकासी रोक्ने सम्बन्धी एक प्रस्ताव पारित गरेको थियो । यो प्रतिबन्ध आगामी सन् २०२१ को अप्रिल ३० सम्म लागू हुनेछ।

सन् २०११ मा नेता मौमार गद्दाफीको पतन भएसँगै लिबियामा हिंसा बढ्नुका साथै राजनीतिक अस्थिरताले मुलुक आक्रान्त छ ।