जिरा मसिनो धान खरिदमा पुगेन खाद्यको लक्ष्य, ५ हजारको कोटामा खरिद ३२ क्वीन्टल

रासस
२०७६ माघ २७ गते १४:४८ | Feb 10, 2020
जिरा मसिनो धान खरिदमा पुगेन खाद्यको लक्ष्य, ५ हजारको कोटामा खरिद ३२ क्वीन्टल

    

     
वीरगञ्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगन्ज शाखाले चालु आर्थिक वर्षमा जिरा मसिनो धान खरिदको कोटाको लक्ष्य पूरा गर्न सकेको छैन ।

Tata
GBIME
Nepal Life

    
शाखाले चालु वर्षका लागि पाँच हजार क्वीन्टल खरिदको कोटा पाएको थियो। तर हालसम्म ३२ क्विन्टल २६ केजी मात्र खरिद गर्न सकिएको शाखा प्रमुख नरनाथ अधिकारीले बताए। जिरा मसिनो धान नेपालभन्दा भारतमा बढी उत्पादन हुन्छ। 'यो धान नेपालमा नगन्य मात्रामा मात्र लगाउने गरेको र उत्पादन पनि थोरै हुने गरेको छ,' शाखा प्रमुख अधिकारीले भने, 'भारतबाट नआएकाले सरकारले दिएको कोटाअनुसार धान खरिद हुन नसकेको हो ।'     
     
चालु वर्ष धान खरिद गर्न पाँच हजार क्विन्टल थप कोटासहित सोना मन्सुली १५ हजार क्विन्टल तथा जिरा मसिनो पाँच हजार क्वीन्टल गरी जम्मा २० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य शाखाले पाएको थियो। पाँच करोड ३४ लाख ६१ हजार बराबरको १९ हजार ९९९ क्वीन्टल सोना मन्सुली तथा ९७ हजार ३९५ मूल्य बराबरको ३२ क्विन्टल जिरा मसिनो धान खरिद गर्न सकिएको कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताए।      
     
अघिल्लो आर्थिक वर्षमा शाखाले ६ करोड चार लाख ९९ हजार बराबरको २४ हजार ५ सय ८७ क्विन्टल ६० केजी सोना मन्सुली धान खरिद गरेको थियो । गत आवमा कार्यालयले सोना मन्सुली धान मात्र खरिद गर्ने कोटा पाएकोमा यो वर्षदेखि जिरा मसिनो धान खरिद गर्ने कोटासमेत पाएको छ ।     
     
 'सोना मन्सुली धानको हकमा प्राप्त कोटाबमोजिम धान खरिदको लक्ष्य पूरा भएको छ । अहिलेलाई धान खरिद स्थगन गरिएको छ,’ उनले भने, 'जिरा मसिनो धान भने ३२ क्वीन्टल २५ किलो मात्र खरिद गरेका छौं। यसको खरिदको कोटा ५ हजार क्वीन्टल थियो।' यो वर्ष मंसिर पहिलो साताबाटै शाखाले धान किन्न सुरु गरेको थियो। जिरा मसिनो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय खरिद समिति र सोना मन्सुलीको मूल्य भने मन्त्रिपरिषद्ले निर्धारण गरेको हो।     
     
कार्यालयले यही माघ १० गते सूचना प्रकाशित गर्दै एकाएक धान खरिद गर्न बन्द गरेकाले किसान बाध्य भएर सस्तो दरमा व्यापारीलाई धान बेच्न बाध्य भएका छन् । कार्यालयले यो वर्ष सोना मन्सुली धान प्रतिक्वीन्टल दुई हजार ६७३ रुपैयाँ १६ पैसामा खरिद गर्दै आइरहेकोमा कार्यालयले धान खरिद गर्न बन्द गरेपछि किसान बाध्य भएर निजीगल्ला व्यापारीलाई सोना मन्सुली धान प्रतिक्वीन्टल दुई हजार ५०० देखि दुई हजार ६०० मा बेच्न बाध्य भएको रामगढवाका किसान विजय पण्डितको गुनासो छ ।     

किसानको मागलाई ध्यानमा राखी शाखा कार्यालयले थप १० हजार देखि १५ हजार क्वीन्टल धान पुनः खरिद गर्नका लागि स्वीकृति दिन विभागलाई पत्राचार गरेको जनाएको छ ।