‘लुम्बिनी जानुस् धुलै खाएर आउनुहुन्छ, पोखराको त्यस्तै छ,’ सुरज वैद्यको अन्तर्वार्ता

बिजमाण्डू
२०७६ माघ १९ गते १२:५५ | Feb 2, 2020

Tata
GBIME
NLIC

सुरज वैद्य नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक हुन्। १४ महिनादेखि राष्ट्रिय संयोजकको जिम्मेवारीमा रहेर उनी भ्रमण वर्षको प्रवर्द्धनमा लागिरहेका छन्। उनी राष्ट्रिय संयोजकमा नियुक्त हुँदा पर्यटनसँग सम्बन्धित संस्थाहरु वेखुशी भए। सुरुवातमा असहयोग भोगेका वैद्यले आफ्नो ‘लाइन मिनिस्ट्री’ पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि पर्यटन मन्त्रालय  नेतृत्वविहीन हुँदाको समस्या पनि भोगे। निजी क्षेत्रको पुरानो संस्था वैद्यज अर्गनाइजेशन हाकेका र उद्योगी-व्यवसायीको छाता संस्था एफएनसीसीआईका अध्यक्ष समेत रहिसकेका वैद्यलाई बिजमाण्डूका वसन्तराज उप्रेतीले सोधे- भ्रमण वर्षको संयोजक हुनुभयो। सुरूमा तपाईँको नियुक्तिकै बारेमा निजी क्षेत्रले भित्रभित्रै विरोध गरे। त्यतिमात्रै होइन, भ्रमण वर्षको सचिवालय राख्ने ठाउँ पाउन ६ महिना लाग्यो। हुँदाहुँदा भ्रमण वर्ष उद्घाटनमा निजी क्षेत्रलाई बाइपास नै गरियो। भ्रमण वर्षले जनतालाई जोड्नुपर्ने झन् टाढा पुर्‍यायो जस्तो देखिन्छ । के भएको हो ?
मलाई सरकारले भ्रमण वर्षको संयोजकमा नियुक्ति गरेको हो। विरोध भन्ने चिज राम्रो पनि हो। विरोध नभइ काम गर्ने लक्ष्य पनि हुन्न र जोश पनि आउँदैन। पर्यटन क्षेत्रमा अनुभव नभएको व्यक्तित्वलाई संयोजक बनाएको कुरामा साथीहरुको गुनासो थियो। यस्तो व्यक्तिले यस्तो ठूलो कार्यक्रम कसरी गर्न सक्छ भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो। 

तर यसमा म के भन्छु भने पर्यटन क्षेत्रले मुलुकको हरेक नागरिकलाई छुन्छ। कृषक, ट्याक्सी ड्राइभर, सानो भट्टी, ट्राभल एजेन्सी, रेष्टुरेण्ट, पाँचतारे होटल लगायत विभिन्न क्षेत्रमा छोएको छ। कसैको पाँच तारे होटल, ट्राभल एजेन्सी हुँदैमा उ पर्यटन क्षेत्रको विज्ञ नै हुन्छ भन्ने मलाई लाग्दैन।

मलाई नियुक्ति गरेको कुन आधारमा हो जस्तो लाग्छ भने उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेको, प्राय जिल्ला घुमिसकेको, त्यहाँको चाहना बुझेको र अलिकति अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र बुझेको आधारले नेपालमा सम्भावित नयाँ लगानी, गन्तब्य, रोजगार वृद्धिका लागि खोजी पनि हुनसक्छ।  

सुरुमा केही अप्ठ्यारो त भए। तर अहिले पर्यटन मन्त्रालयसँगै यो क्षेत्रसँग सम्बन्धित हान, टान, रेबान र नाट्टा लगायत विभिन्न निजी क्षेत्रसँग आबद्ध संगठनको सहयोग पाइरहेको छु। भोलिको दिनमा भ्रमण वर्ष २०२० पछि पनि अहिले सुरू गरिएका कामहरू उहाँहरूले निरन्तर अगाडि बढाउनुहुन्छ भन्ने पूर्ण आशा लिएको छु।        

कार्यालय प्रयोजनका लागि उपयुक्त ठाउँ लिन केही समय ढिला भएको हो। हाम्रो पनि सोच के हो भने कार्यालय कहीँ नयाँ भवन लिनुभन्दा पनि पुरानै सम्पदालाई उजागर गर्ने उद्देश्यले केही भवनहरुको अध्ययन गर्यौंह। बालमन्दिरदेखि विभिन्न भवन हेर्‍यौं। पुरानो ऐतिहासिक भवनलाई नै मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउनका लागि जोड दिनुको कारण के छ भने नयाँ बनाउन सजिलो छ, पुरानो सम्हाल्न गाह्रो छ। यस कारण केशर महललाई मर्मत सम्भार गरी कार्यालय सञ्चालनमा ल्याएका हौं। 

भ्रमण वर्ष उद्घाटनमा निजी क्षेत्रलाई बाइपास गरेको भन्न मिल्दैन। कस्तो हुँदो रहेछ भने जुन आधारले नेपाली जनता सहभागी भएर र्याालीमा आउनु भयो। साँच्चै नेपाली सर्वसाधरणले भ्रमण वर्ष २०२० प्रति नयाँ जोश देखाउनुभएको पाइएको छ। जनताको सहमति देखिएको छ। कार्यक्रममा निजी क्षेत्रलाई बाइपास गरिएको भन्दा पनि कहिलेकाहीँ विभीन्न कारणवश कार्यक्रममा प्रभाव पर्ने रहेछ। 

चिसोका कारण हामीले कार्यक्रम सकभर छोट्याउन खोजेका थियौं। अब विदेश मन्त्री, साथै प्रदेशका मुख्यमन्त्री, पूर्वप्रधानमन्त्री लगायतको शुभकामना सन्देश राख्नैपर्ने भएको कारण कार्यक्रम लम्बिएको थियो। हामीले के सोच्यौं भने यो त आखिरमा हामी नेपाली कै कार्यक्रम हो। यो एउटा सुरुवात हो। हामीले काम गर्न धेरै नै बाँकी छ। सर्वसाधारणको कम्फर्ट लेवललाई हरेर हामीले कार्यक्रमलाई यसरी अगाडि बढाएका हौं। 

तपाई निजी क्षेत्रको सफल कम्पनीको चेयरम्यान भएको व्यक्ति। निजी क्षेत्रको सबैभन्दा ठूलो संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेको व्यक्ति भ्रमण वर्षको संयोजक हुनुभयो। यो सबै अनुभवले भ्रमण वर्ष व्यवस्थित हुने अपेक्षा सबैको थियो। तर झन् लथालिङ भयो। किन यस्तो भयो ?
त्यस्तो नभनौं। हामीले यसलाई कसरी हेर्नुपर्छ भने भ्रमण वर्षको उद्घाटन या घोषणा बजेटमार्फत भयो। यसको राष्ट्रिय संयोजक नियुक्त गर्नका लागि केही समय लाग्यो। नेपाल सरकारको खाली दुईवटा अजेण्डा थियो। २० लाख पर्यटक पुर्याेउने र पर्यटकको बसाईँ अवधि लम्बाउने उद्देश्य थियो। 

म निजी क्षेत्रबाट आएको कारण मैले के बुझेको छु भने नेपालको पहिचान, प्रोडक्ट र नेपाली जनशक्ति र प्याकेजिङ नगरेसम्म प्रस्तुतिको मात्र कुनै अर्थ रहँदैन। नेपाल आउनु भनेर बोलाउँदैमा पर्यटक त आउँदैनन् नी। त्यसकारण हामीलाई केही समय लागेको हो। हामीले सातै प्रदेशमा एउटा एउटा लाइफटाइम एक्सपेरियन्स आयोजना गर्नका लागि वृहत काम पनि गर्‍यौं। त्यो रिपोर्ट ल्याउन समय लाग्छ। उदाहरणका लागि कर्णाली क्षेत्र, नेपालको सबैभन्दा सुन्दर ठाउँमा सुदूर पश्चिम पनि हो। हामीले चाहिँ कर्णाली नदीमा केही नभएपनि दुईवटा अध्ययन गर्यौंि। त्यो क्षेत्रको सम्भावित पर्यटन, कर्णाली नदीमा विश्वकै लामो  र्‍याफ्टिङ गरेर विश्व रेकर्ड राख्ने र त्यहाँ हराउँदै गएका सांस्कृतिक र जनजातिको प्रवर्द्धन गर्नका लागि वृहत अध्ययन गरियो र त्यसको रिपोर्ट बनाउँदा चार महिना बढी लाग्यो। 

अहिले संसारमा ७० प्रतिशतले माउन्टेन बाइकिङको प्रवर्द्धन भइसकेको छ। यही कुरालाई मध्यनजर गर्दै हामीले संसारको सबैभन्दा गहिरो गर्ज कालीगण्डकीमा माउन्टेन बाइक राइड गर्नका लागि सेफ्टी, अनरसिप, सस्टेन गर्नका लागि चार महिना लाग्यो। 

अहिले धेरै पर्यटकलाई लक्षित गर्दै हिमाल माथिका तालको प्रवर्द्ध गर्दैछौँ। आउँदो फेब्रुअरी १४ तारिखमा गोक्यो तालमा पहिलोपटक आइस स्केटिङ र आइस हकी एक्जिभिसन आयोजना गर्न लागेका छौं। यो किन गर्दैछौं भने यो एउटा नयाँ प्रोडक्ट हो। यसले गर्दा चिसो मौसममा पनि पर्यटकहरु नेपाल आउन प्रेरित हुन्छन्। यसका लागि हामीले अमेरिकाबाट गोल्ड मेडलिस्ट ल्याएर परीक्षण गरिसकेका छौं। संसारका ओलम्पियन गोल्ड मेडलिस्ट ल्याएर प्रस्तुति गर्ने योजना बनाएका छौं। भोलिका लागि प्रोडक्टका रूपमा पस्किन लागेका हौं। २०२० मा मान्छे नहोला, तर सन् २०२१ देखि अवश्य पनि स्पेसल आइस स्केटका लागि पर्यटक आउन भन्ने उद्देश्यले यो प्रोडक्ट ल्याइएको हो।

धार्मिक पर्यटनलाई मध्यनजर गर्दै हामीले देवघाटमा शिवसति परिक्रमा क्षेत्र  निर्माण गर्न गृहकार्य सुरू गरिसकेका छौं। हामीले पाएको समय कम छ। मलेसियाले भ्रमण वर्ष २०२० आयोजनाका लागि सन् २०१७ मै टिम बनाएको थियो। तर हाम्रो टिम निकै ढिला गठन भयो।    
   

         
अहिलेसम्मको तपाईँको काम कारवाही हेर्दा निजी क्षेत्रको व्यक्तिको काम गराई पनि सरकारी भन्दा पनि ढिलासुस्ती देखिन्छ। सुरुमा तपाईँ आउँदाको ऊर्जा बेग्लै थियो। तर अहिले देखिँदैन। तपाईँको इनर्जी र इफिसियन्सी केमा खर्च भइरहेको छ ?
अहिले सातै प्रदेशका साथीहरुको सहयोगमा प्रोडक्सन डेभलप गरिरहेका छौं। फेरि मेरो एउटा कम बोल्ने बानी पनि छ। किनभने हामी नतिजामा केन्द्रित रहेर काम गरिरहेका छौं। मलाई लाग्छ यो सेलाएको होइन तातिरहेको छ। जुन आधारले स्थानियको नेतृत्वमा सातै प्रदेशमा दुईवटा लाइफटाइम एक्सपेरियन्स र तीनवटा लाइफटाइम इभेन्ट आयोजना गर्न लागेका छौं, यसमा हाम्रो सचिवालयको पूर्ण रूपमा सहयोग रहनेछ। 

लुकेका पर्यटकिय स्थान नेपालमा प्रशस्त छ। विज्ञहरुसँग बुझ्दा कतिपय पर्यटकिय महत्व बोकेका क्षेत्रको त प्रवर्द्धन नै नभएको पनि देखिएको छ। हामीसँग प्राकृतिक र मानव निर्मित सम्पदा भएको थाहा छ, तर त्यसको महत्व र सम्भावनालाई एक्स्प्लोर नगरेको पाइएको छ।

काम ढिलाइ भएको सन्दर्भमा नेपाल सरकारको काम गर्ने प्रक्रिया र निजी क्षेत्रको काम गर्ने तरिका फरक हुँदो छ। यति भन्दै गर्दा एउटा राम्रो र अर्को नराम्रो भन्न खोजिएको होइन, प्रक्रियाका कुरा हो। नेपाल सरकारको काम गर्ने प्रक्रिया नै लामो छ। निजी क्षेत्र नतिजामा केन्द्रित भएर काम गर्छन्। 

कतिपय कुरा हामीले प्रक्रियाको पालना नगरिकन रिजल्ट बेस्ड कामलाई अगाडि बढाउँछौँ। नेपाल सरकारसँग काम गर्दा म मात्र होइन सरकार अन्तर्गतका कार्यालयमा काम गर्ने साथीहरुलाई अप्ठ्यारो छ र ढिलाइ हुनुमा उहाँहरुको पनि त्यतिकै कन्सर्न रहेको छ। अहिलेको दुई तिहाइको सरकारले यस विषयमा केही न केही सुधार ल्याउनु पर्छ भन्ने सुझाव दिन चाहन्छु। यसले गर्दा नेपालको विकाससँगै हरेक क्षेत्रको विकासले गति लिन सक्थ्यो।    
   

कुनै पनि राष्ट्रिय अभियान सार्वजनिक-निजी साझेदारीका माध्यमबाट सफल हुन्छ। भ्रमण वर्ष त्यसकै एउटा रूप थियो। तर यसमा न निजी क्षेत्र खुशी देखियो न सार्वजनिक क्षेत्र। किन यस्तो परिस्थिति आयो ?
मलाइ त्यो लाग्दैन। भ्रमण वर्ष उद्घाटनमा जुन आधारले नेपाली जनता उत्रिए। त्यसले भ्रमण वर्ष प्रतिको जोश र उत्साह देखाउँछ। जुन आधारले सातै प्रदेशमा जाँदा साथीहरुको उत्साह र लगाव देखिएको छ। गाउँदेखि सहरसम्म भ्रमण वर्षको चर्चा हुन थालिसकेको छ। यो नेशनल इभेन्ट भइसकेको छ। हो, जुन आधारले हामीले सोचेको जस्तो लगानी नपुगेको म मान्छु। 

भ्रमण वर्षको संयोजक हुनेबित्तिकै तपाईँको टीमले अन्तर्क्रिया समेत गरेको थियो। त्यो समयमा तपाईँहरूले केही क्रिएटिभ आइडियाहरू पनि फ्लोड गर्नुभएको थियो। तर ती सबै योजना कागजमै सीमित भए नी ?
मैले अघि भनिसकेँ। कर्णाली, गोक्यो, मुक्तिनाथ, विवाह पञ्चमी, शिवसति परिक्रमा, क्लाइमेट चेन्ज लगायत विभिन्न प्रोडक्ट डेभलप गरिरहेका छौँ। र यसमा लाग्ने समय। १२ महीनाभर हरेक महिना महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने योजना बनाएका छौं। धेरै नगर्ने, तर गरेका कार्यक्रमलाई नेपाली जनताले मात्र नभइ नेपालको भविष्यलाई पनि सकारात्मक मार्गमा लाने किसिमको सुधार आओस् भन्ने उद्देश्यले हामी काम गरिरहेका छौं।   

भ्रमण वर्षका निश्चित लक्ष्य छन्। २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ भने त्यसका माध्यमबाट आर्थिक विकासको कुरा गरिएको छ। तर भ्रमण वर्षमा लिएको लक्ष्य प्राप्त गर्न रंगशालामा परेड र आतिशबाजी गर्ने काम मात्रै भयो। पर्यटक भित्र्याउनका लागि विदेशी नागरिकलाई आकर्षित गर्ने भिसा शुल्कमा सहुलियत, विदेशी विमानलाई ग्राउण्ड ह्यान्डलिङका लागि छुट लगायतका प्याकेज नल्याई सम्भव हुन्छ भन्ने देख्नुभएको हो ?
यो प्रश्नमा म सहमत छु यो भ्रमण वर्ष होइन की यो नेपालको पर्यटन विकासको लागि हाम्रो राष्ट्रको रणनीति देखिएको छैन। कारण के हो भने, अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ मै तयार हुन्छ भन्ने सुन्दै आएका थियौं। अहिले सन् २०२० को मार्चमा निर्माण सम्पन्न हुन्छ भन्ने सुनिरहेका छौं। तर व्यक्तिगत रूपमा मैले बुझ्दा यो सञ्चालनमा आउन अझै समय लाग्छ ।

यसो हुँदा भ्रमण वर्षमात्र होइन पर्यटन क्षेत्रलाई नै ठूलो असर पार्छ। तोकिएको समयमा हाम्रो पूर्वाधार निर्माण सम्पन्न नभएको कारणले पर्यटन क्षेत्रले गति लिन सकेको छैन। अब टीआइए हेर्दा त्यहाँ सुधार भइरहेको छ। तर जुन आधारले हुनपर्ने हो, तर सन्तोषजनक छ/छैन भन्ने कुरा जनताले नै महसुस गर्दै आएका छन्। 

अब भ्रमण वर्षको मुखमा भिजा फी बढाउनु ठीक हो या होइन भन्ने कुरा नेपाल सरकारले बुझेर निर्णय गर्नुपर्ने थियो। यो नेपाल सरकारको पोलिसी हो। यसमा कमै बोल्छु। तर नेपाल सरकारले यत्रो ठूलो कार्यक्रम घोषणा गर्दा मन्त्रालय बीचको समन्वय र सहयोग नभएको देखिन्छ। 

मानौं काठमाडौंको बाटो। आखिरमा काठमाडौं त गेटवे नै हो नी। जुन किसिमको बाटोघाटो छ, बडा दुःखलाग्दो छ। लुम्बिनी जानुस् धुलै खाएर आउनुहुन्छ, जनकपुर जानुस् धुलै खाएर आउनुहुन्छ, पोखराको त्यस्तै छ। हामीले भ्रमण वर्ष अलि छिटै घोषणा गर्यौंध की भन्ने सोच्न पनि जरुरी छ। तर यो ढीला भइसक्यो। जब सरकारले केही घोषणा गर्छ। सबै मन्त्रालयसँग बसेर बेसिक इन्फ्रास्ट्रक्चर तयार हुनुपर्छ। धुलिखेल, शिवपुरी र पोखरा लगायत विभिन्न गन्तव्य जाने मार्गको अवस्था उही छ।

हामीले कुनै कार्यक्रम आयोजना गर्दा इमोसनलीभन्दा पनि स्ट्राटेजिकली अगाडि बढ्नुपर्छ। भ्रमण वर्ष २०२० मा मन्त्रालय बीचको सम्बन्ध र नेशनल एजेण्डालाई प्रमोट गर्नुपर्ने सहभागितामा अरू मन्त्रालय लागेको देखिएन। जुन आधारले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लागिपरेको छ। र यो पर्यटन मन्त्रालयको काम मात्र होइन, यो त सबै नेपालीको कार्यक्रम हो।

अब सुरुको कुरा गर्दा क्याबिनेटको डिसिजनअनुसार सचिवालयका लागि १० करोड रूपैयाँ दिइएको थियो। १० करोड रुपैयाँले के गर्ने ? अर्थ मन्त्रालयले हामीलाई के सोचेर यति बजेट दियो मैले बुझ्न नसकेको कुरा। जति पैसा छ त्यो भन्दा अलिकति बढाएर काम गर्दैछौं। काममा किन ढिलाइ भयो भन्दा यो पनि कारण हो। 

जस्तै, मलाई पाँचतारे होटल बनाउन निर्देशन छ । तर पैसा चाहिँ होमस्टे बनाउने किसिमको दिएर हुन्छ ? हामीले त सरकारले दिएको कामलाई अगाडि बढाउने हो। बजेट त सरकारले दिने हो। यस्ता कुरामा सरकारले ध्यान दिन जरुरी छ।  
      

हामीले भ्रमण वर्षमा २० लाख पर्यटकको लक्ष्य राख्नुका पछाडि केही कारणहरु थिए। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० मै सञ्चालनमा आउँछ। अरू पूर्वाधारको काम पनि हुन्छ, जसले पर्यटक धेरै बढाउन सकिन्छ। तर यो वर्ष न गौतमबुद्ध सञ्चालनमा आउने देखियो, न त अरू पूर्वाधारले नै सर्पोट गर्योग। यो निराशाजनक तस्बिरका बीचमा लक्ष्य धेरै टाढा होला जस्तो लाग्दैन ?
अहिले मैले चहिँ कसरी हेर्छु भने हाम्रो रणनीतिअनुसार २० लाख पर्यटक आवगमन पुर्या उनका लागि पूर्वाधारको आवश्यकता छ। हामीले गत वर्ष नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य बन्छ भन्ने सोचेका थियौं। जसले गर्दा टीआइएको ट्राफिक कम होला र अरु अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी थपिन्छ भन्ने हामीले सोचेका थियौं। नभएको होइन, भइरहेको छ। स्पाइस जेट, भिस्तारा र जजिरा लगायत विभिन्न वायुसेवा कम्पनी थपिरहेका छन्। तर हाम्रो कस्तो भइदियो भने कन्जेशन नै मुख्य समस्या छ। एक सयजना अँट्ने घरमा दुई हजार मान्छे चाहेर पनि ल्यउन सकिन्न नी। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएर असर पर्छ नै। 

तर त्यो भन्दैमा २० लाख पर्यटकको सम्बन्धमा तथ्यांक सार्वजनिक गर्ने प्रक्रियामा पनि गल्ती हो की जस्तो लाग्छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तालिका अनुसार १.२ मिलियन पर्यटकको आवगमन देखिएको छ। अहिले नेपालगञ्जमा क्यासिनोका लागि कैयौं भारतीय पर्यटक आइरहेका छन्। हालसालै एक भारतीय नागरिकले पाँच सय र हजारको नोटसहितको तीन लाख भारू ल्याएकोमा भन्सारमा थुनिएको थियो। उसले त्यो पैसा त क्यासिनोमा खर्चिन आएको थियो। अब भैरहवा जानुस् टाइगर प्यालेसमा त्यस्तै छ। पर्यटक नआएको त होइन नी। 

गन्तीमा चुकेको जस्तो लाग्छ। अहिले नेपालको तथ्यांक राख्नेमा नेपाल पर्यटन बोर्ड नै हो। उसको गन्तीमा बाइ एयर आउने पर्यटकको संख्याअनुसार सही हुन सक्छ। कारण प्रत्येक विदेशी पर्यटकले बोर्डलाई आठ डलर तिरेको हुन्छ। तर गाडीमार्फत आउने पर्यटकले तिरेका छैनन्। भारतीय पनि विदेशी पर्यटक हुन् भने उनीहरुको पनि तथ्यांक निकाल्न जरुरी छ। गणना सुधारका लागि हामीले सशस्त्र प्रहरी सँगको समन्वयमा केही काम सुरू गरिरहेका छौं। तर हाम्रो उद्देश्य २० लाख संख्या पुर्याोउनु नभइ गणना प्रक्रियामा सुधार ल्याउनु हो। 

नेपाल आउने पर्यटकमा ब्याग प्याकर(सस्ता) र खर्चालु भनेर वर्गिकरण देखिन्छन् नी। तपाईँ के भन्नुहुन्छ यसबारेमा ?
मान्छेहरुले भन्नु ठीकै हो, सोच्नु पनि ठीकै हो। तर गर्ने के त ? म के आधारले भन्दैछु भने एभरेष्ट र अन्नपूर्णको ट्रेकिङ दर एक सय डलर कायम गरिएको थियो। अहिले घटेर ८० डलर सम्म झरेको छ। २० वर्षको अन्तरालमा महंगी त बढेको छ, तर यो किन घटिरहेको छ भन्ने कुरा बुझ्न जरुरी छ। म निजी क्षेत्रलाई पनि यो प्रश्न गर्न चाहन्छु। हामी क्वालिटी सर्भिसमा नगएर प्राइस कम्पेरेटिभमा किन गइरहेका छौं। एक अर्कालाई किन घटाउँदै गएका छौं ? आखिर एउटा पोर्टर, खाना पकाउने मान्छे त आवश्यक छ। हाम्रो मार्जिन बढाउनुपर्नेमा घट्दै गएको। हाम्रो कम्पिटीसन क्वालिटी भन्दा प्राइसिङमा गइरहेको छ। 

हामी क्वालिटी पर्यटक त भन्छौं, हाम्रो लगानी कहाँ छ त ? काठमाडौंमा पाँचतारे होटल आयो भन्दैमा नेपालको पर्यटन बढ्ने म देख्दिन। रारा, खप्तड, अरुण, कोशीटप्पु र बर्दिया लगायत पर्यटकीय गन्तब्यमा लगानी गर्न को गइरहेको छ त ? काठमाडौं केन्द्रित रहेर पाँचतारे होटलमा लगानी गरेको भन्दैमा निजी क्षेत्रले पर्यटनमा लगानी  गरेको देखिँदैन। 

तर एयरलाएइन्समा निकै सुधार आएको छ। त्यसका लागि नेपाल सरकारले सुदूर पश्चिम र पूर्वमा सहुलियत दिएर इन्करेजमेन्ट गर्नु पर्छ। यी क्षेत्रमा धेरै राम्रा गन्तब्य छन्। तर पर्यटक गइरहेका छैनन्। कारण जान महंगो र पूर्वाधार छैन। सरकारले नेशनल पोलिसी ल्याउन आवश्यक छ। जहाँ चाहिँ सरकारले लगानीमा इन्सेन्टिभ नदिइकन  निजी क्षेत्र लगानी गर्ने वाला छैन। गुणस्तर हावामा आउँदैन, लगानीमा गुणस्तर आउँछ। पाँचतारे होटल काठमाडौंमा मात्र होइन विभिन्न गन्तब्यमा वेलनेस, रिसोर्टमार्फत रेन्ज वृद्धि गर्न आवश्यक छ। जहाँ पनि क्वान्टिटीमा काम भइरहेको छ।  

भ्रमण वर्ष सुरु भएलगतै केही निराशाजनक घट्ना भए। ६ भारतीय पर्यटकको दामनको एक होटलमा मुत्यु र कोरोना भाइरसका कारण चीन आक्रान्त बन्यो। यो घट्नाले हाम्रो पर्यटन क्षेत्रलाई गम्भीर प्रभाव पार्ने देखिन्छ। यो बारेमा तपाईँको टीमले कसरी हेरिरहेको छ ?
अहिले सबैभन्दा ठूलो समस्या भनेको चीनमा फैलिएको कोरोना भाइरस हो। कोरोना भाइरसले ठूलो प्रभाव पर्न सक्ने देखिएको छ। यो एउटा कन्सर्न हो। कोरोना भाइरसलाई लक्षित गर्दै हामीले भ्रमण वर्षको टिमबाट सुधारको कामना गरिएको थियो। चीन र भारत दुवै महत्वपूर्ण मुलुक हुन्। चीन संसारकै लार्जेस्ट आउटबाउण्ट पर्यटकको मुलुक हो। यही वर्ष मात्र त्यहाँको राष्ट्रपति आएर भ्रमण वर्ष सफल पार्नका लागि प्रतिबद्धता जाहेर गर्नु भएको छ। एयरलाइन्स मुभमेन्ट हेर्दा त्यो बेला मैले चीनबाट प्रशस्त पर्यटक ल्याउन सकिने आशा गरेको थिएँ। 

हामीले अहिले पनि सी-ट्रीप सँगको सहकार्यमा मार्केटिङ गरिरहेका छौं। नेपालको तर्फबाट चिनियाँ राजदूत लीलामणि पौडेलसँग छलफल भइरहेको छ। नेपालको सन्दर्भमा अहिले पनि पहिचान गरिरहेका छौं। यो भाइरस भन्ने चिज वर्षभरी नफैलियोस भन्ने हाम्रो कामना हो। सकभर हामीले सेकेण्ड हाफमा अत्यधिक बजारीकरण गरेर चिनियाँ पर्यटक ल्याउन कार्यक्रम बनाइरहेका छौं। 

दामनमा भएको दुर्घटना निकै दुःखदायी छ। स्ट्याण्डराइजेशन, चेक एण्ड ब्यालेनस नहुँदा यस्ता  दुर्घटना हुन्छन्। नहुनपर्ने थियो। अवश्य पनि यसले राम्रो सन्देश दिएको छैन। यो भन्दैमा भ्रमण वर्ष टोटल फेलर  भयो भन्ने म मान्दिन। आफ्नो मुलुकमा आउने अतिथिको मृत्यु हुँदा, अप्ठ्यारोमा पर्दा हामीलाई दुःख लाग्छ। नेपाल सरकारले त्यो घटनालाई एड्रेस गर्छ भन्ने आश गर्दछौँ। 

चीनमा अहिले फैलिएको कोरोना भाइरसका कारण यतिखेर हामी भारतमा मार्केटिङको कामलाई अगाडि बढाउने योजनामा छौं। ३० वटा भन्दा बढी फ्लाइट भइरहेका मिडल इस्ट मुलुकमा मार्केटिङ बढाउनेछौं। चीनबाट पर्यटक घट्ने सम्भावनालाई मध्यनजर गर्दै अरू मुलुकमा मार्केटिङ बढाउन आवश्यक छ। त्यसका लागि मन्त्रालयले विशेष लिडरसिप लिन जरुरी छ।      
    
तपाईँ राष्ट्रिय संयोजक एउटा परिस्थितिमा नियुक्त हुनुभयो। अहिले पर्यटनमन्त्री पनि नयाँ आउनुभएको छ। नयाँ पर्यटनमन्त्रीले तपाईँलाई त्यति रुचाउनु भएको छैन भन्ने पनि सुनिन्छ। प्रधानमन्त्रीको ठाडो तोक आदेशबाट नियुक्त भएको व्यक्ति भनेर धेरै कार्यक्रममा बाइपास पनि गरिएको भन्ने छ नी ?
अब सुनिने त धेरै कुरा हुन्छन्। जहाँसम्म लाग्छ मेरो चाहिँ इमिडियट बोस मन्त्रीज्यू नै हो। त्यो सन्दर्भमा एउटा व्यापारको हिसाबले प्राइभेट सेक्टरमा काम गरेको आधारमा हामी डिसिप्लिनमा बस्छौं। हामीलाई एउटा एजेण्डा दिइएको छ। त्यो एजेण्डा हामीले पूरा गर्नुछ र त्यहीअनुसार काम गर्ने हो। 

तात्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मलाई नियुक्त गर्नुभएको थियो। त्यतिखेरै हामी बीच के अण्डरस्ट्याण्डिङ थियो भने पर्यटन खाली पर्यटन व्यवसायीलाई मात्र होइन नेपाली जनतालाई कसरी असर गर्छ भन्ने आधारमा हामीले सोचेका थियौं।  त्यसैगरी प्रधानमन्त्री ज्यूको चाहनाअनुसार नेपालमा रोजगार वृद्धि गर्ने, नयाँ लगानी भित्र्याउने र नयाँ गन्तव्य स्थापना गर्ने महत्वपूर्ण कुरा हो। 

गत १४ महिनामा तीन मन्त्रीज्यू र तीन सचिवज्यूसँग काम गरिरहेको छु। सबैको आ-आफ्नो अवधारणा हुन्छ। कहिलेकाहीँ बुझाउन केही समय लाग्ला। पर्यटनमन्त्रीले मलाई बाइपास गरेको म ठान्दिन। काम यति ठूलो छ कि बाँडफाँट गरेर भ्रमण वर्षलाई अगाडि बढाउनु छ। यो चाहिँ हल्ला बढी भएको हो।   

मलाई दिइएको जिम्मा अगाडि बढाउने हो। अप्ठ्यारो अवश्य पनि हुन्छ। घरमा त दाजुभाइसँग झगडा हुन्छ। यस्तो क्षेत्रमा त नहुने कुरै छैन। मैले कोही व्यक्तिका लागि काम गरेको छैन। मुलुकको पर्यटन क्षेत्रबाट सबै नेपाली जनता लाभान्वित होउन् भन्ने उद्देश्यले मैले मेरो समय दिइरहेको छु। मेरो सम्पूर्ण व्यवसायिक कामहरू छोडिसकेको छु। चौबिसै घण्टा म यसमा काम गरिरहेको छु।