अन्तिम समयमा स्थगित भयो हिमालयनमा सिडिसी आउने प्रकृया, श्रेष्ठ दाजुभाइले रोके

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७६ मंसिर २५ गते ०९:२४ | Dec 11, 2019
अन्तिम समयमा स्थगित भयो हिमालयनमा सिडिसी आउने प्रकृया, श्रेष्ठ दाजुभाइले रोके

Tata
GBIME
Nepal Life

काठमाडौं। बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) हिमालयन बैंकमा आउने अनिश्चित बनेको छ। हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र सञ्चालक समेत रहेका उनका भाइ प्रचण्डबहादुर श्रेष्ठ बाधक हुँदा अन्तिम समयमा आएर सिडिसी नेपाल आउने अनिश्चित बनेको हो।

हिमालयन बैंकमा रहेको पाकिस्तानी बैंक हबिबको २० प्रतिशत शेयर किनेर सिडिसी नेपाली बैंकिङ क्षेत्रमा प्रवेश गर्न खोजेको थियो। सबै प्रक्रिया ठिकठाकसँग चलिरहेका बेला सञ्चालक समितिमा आफ्नो समूहको प्रतिनिधित्व घट्ने भएपछि श्रेष्ठ दाजुभाइ सिडिसीलाई रोक्न उभिएका हुन्।

'सबै राम्रैसँग भइरहेको थियो। अचानक सिडिसीको प्रवेश बन्द जस्तो भयो,' राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले बिजमाण्डूसँग भने, 'श्रेष्ठ दाजुभाइको वहिर्गमनबिना आफू आउन नसक्ने जानकारी सिडिसीले गराएको छ।'

हिमालयन बैंकमा २६ वर्षदेखि साझेदारी गरिरहेको पाकिस्तानको हबिब बैंकले आफ्नो शेयर सिडिसीलाई बिक्री गरेर बाहिरिन खोजेको हो। 

हबिब जसरी पनि बाहिरिने र सिडिसीलाई जसरी पनि भित्र्याउनु पर्ने दोबाटोमा रहेको राष्ट्र बैंकले समस्याको हल भने खोजिसकेको छ। राष्ट्र बैंकले हिमालयन बैंकमा अब सञ्चालक समितिको निर्वाचन गराउने बाटो अख्तियार गरेको छ।

यसो हुँदा श्रेष्ठ दाजुभाइबाट एकजना मात्रै सञ्चालक समितिमा आउँछन्। उसको समूहबाट कुल तीनजना मात्रै सञ्चालक बन्दछन्। यसो हुँदा सात सदस्यीय सञ्चालक समितिले बहुमतका आधारमा निर्णय गरेर हबिबलाई 'एक्जिट' र सिडिसीलाई 'इन्ट्री' दिने निर्णय गर्ने छ।

यस बारेमा मनोजबहादुर श्रेष्ठले केही पनि बताउन चाहेनन्। उनले आफू उपचारमा रहेको र यस विषयमा बुझ्न बैंकको कानुन विभागमा सम्पर्क गर्न सुझाव दिए। बैंकको कानुन विभागले भने शेयरधनीबीच आन्तरिक रूपमा भएको कुराकानी बैंकलाई थाहा नहुने जनाएको छ।

हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ। कोषको १४ प्रतिशत लगानी छ। यसपछि एन ट्रेडिङ कम्पनी प्रालिको १२.७१. म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ११.८५ प्रतिशत, आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत, छायाँ इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत शेयर छ। बाँकी लगानीकर्ताको शेयर १ प्रतिशतभन्दा तल छ।

गत जेठमै हबिबको ठाउँमा सिडिसी आउने भन्दै दुवै बैंकका प्रतिनिधिले अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपाललाई भेटेका थिए। उत्साहित रूपमा भेट्न पुगेका प्रतिनिधिहरूलाई अर्थमन्त्री र गभर्नर दुवैले शुभकामना दिएका थिए।

सबै प्रक्रिया अगाडि बढिरहेको थियो, त्यही बेला मनोजबहादुर श्रेष्ठ समूहले बखेडा झिकेपछि सिडिसी शेयर किन्न हच्किएको थियो।

बेलायती सरकारको पूर्ण लगानीको डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिट) को निजी क्षेत्रमा लगानी गर्ने संस्था सिडिसी हो। यसले दक्षिण एसिया र अफ्रिकी मुलुकहरूमा आफ्नो लगानी बढाउँदै लगेको छ।

हबिबले आफ्नो लगानी भएको अन्य बैंकहरूबाट हात झिक्न थालेको छ। उसले पाकिस्तानमै आफूलाई बलियो बनाउने भन्दै रणनीतिक 'मुभ' लिन थालेको छ। त्यसलै उसले ६ वटा देशमा भएको लगानीबाट हात झिकिसकेको छ। यही क्रममा नेपालबाट पनि लगानी झिक्न लागेको हो।

हबिबले नै हिमालयनमा सिडिसी खोजिदिएको हो। हबिबमा सिडिसीको ५ प्रतिशत लगानी छ। लामो समयदेखि हबिबले सिडिसीसँग सहकार्य गरिरहेकाले आफ्नो ठाउँमा उसलाई राख्ने व्यवस्था मिलाइदिएको हो।

सिडिसीले हिमालयन बैंकलाई २ करोड डलर ऋण उपलब्ध गराउने सहमति गरिसकेको छ। सिडिसीले यसअघि एनएमबिलाई डेढ करोड डलर ऋण उपलब्ध गराएको थियो। सिडिसी शेयरधनीकै रूपमा हिमालयन बैंकमा भित्रिएपछि अझ धेरै पैसा भित्र्याउन सहज हुने राष्ट्र बैंकका अधिकारीहरूले बताए। 

सिडिसीले नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकमा लगानी गरेको छ भने भर्खरै माथिल्लो त्रिशुली-१ मा पनि लगानी गर्ने सम्झौता गरिसकेको छ।

बेलायती सरकारको लगानी भएको संस्था भएकाले हिमालयनलाई अन्तर्राष्ट्रिय बैंकिङका लागि पनि बाटो खुला हुने विश्वास लिइएको थियो। प्रतितपत्र खोल्नेदेखि बैंक ग्यारेन्टीसम्मका फाइदा हिमालयन बैंकलाई हुनेछ। सिडिसीको संस्थागत सुशासन एकदमै राम्रो रहेको र 'नो योर कस्टमर' (केवाइसी) अनुपालन पनि बलियो भएकाले त्यसको लाभ पनि हिमालयन बैंकलाई हुनेछ। 

सिडिसीको लगानीसँगै सञ्चालक समितिमा पनि उताबाट एकदेखि दुई जनासम्म आउने सहमति भएको थियो। उच्च ब्यवस्थापनमा सिडिसीबाट कर्मचारी आउने भएका थिए। 

नेपालस्थित बेलायती दूतावासले पनि सिडिसीलाई ल्याउन पहल गरेको थियो। नेपाल-बेलायत दौत्य सम्बन्ध दुई शताब्दी पुरानो भए पनि प्रत्यक्ष लगानीका लागि संस्थाहरू बेलायतबाट भने आएका थिएनन्। त्यही भएर सिडिसीलाई ल्याउन उसले पहल गरेको हो।

अरू बैंकसँग पहल
सिडिसी नेपालको बैंकिङ क्षेत्रमा लगानी गर्न इच्छुक छ। हिमालयन बैंकसँग सहकार्यका लागि अगाडि बढेको सिडिसी त्यो नपाए अन्य बैंकसँग सहकार्य गर्ने मनस्थितिमा पुगेको छ।

अहिले सिडिसीले नेपालका पाँच बैंकसँग कुराकानी गरेको छ। 'हामीसँग हिमालयन बैंकभन्दा अगाडि नै कुराकानी भएको थियो। हबिब बाहिरिने भएपछि सिडिसी हिमालयनमा आकर्षित भएको थियो,' एक बैंकरले पुष्टी गर्दै भने, 'हिमालयनसँग कुराकानी भएपछि सिडिसी हामीसँग आएको छैन।'

राष्ट्र बैंकका अधिकारीहरूले भने मध्यमस्तरका पाँच बैंकसँग सिडिसीले कुराकानी गरेको बताउँछन्। 'हाम्रो आग्रहमा हिमालयन बैंकको साधारणसभापछि बन्ने सञ्चालक समितिको संरचना कस्तो हुन्छ त्यसअनुसार निर्णय गर्ने भनेर सिडिसी पर्खिरहेको छ,' ती अधिकारीले भने, 'हिमालयनसँग कुराकानी सकारात्मक भएन भने अन्य जुनसुकै बैंकमा सिडिसी जान सक्छ।'