धनगढीमा मंसिर २० गते वित्तीय सम्मेलन हुने, अर्थमन्त्री खतिवडासहित तीन मन्त्री सहभागी हुने

बिजमाण्डू
२०७६ मंसिर १६ गते १९:४३ | Dec 2, 2019

Tata
GBIME
Nepal Life

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले मङ्सिर २० गते धनगढीमा एक दिवसीय वित्तीय सम्मेलन गर्ने भएको छ । सरकारले प्रदेशको न्यून वित्तीय साक्षरतालाई मध्यनजर राखेर सम्मेलन आयोजना गर्न लागेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले बताए ।

मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी गराएको हो ।

वित्तीय पहुँचको सुनिश्चितता, स–सानो बचत परिचालन गरी बचत निर्माण गर्ने, सम्भाव्य परियोजनामा कर्जा लगानी गर्न बैङ्क तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्ने, उदेश्यसहित यो सम्मेलन गर्न लागेको हो।

‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनको पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने मन्त्री वोहराले जानकारी दिए ।

सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, अर्थमन्त्री डा युवराज खतिवडालाई विशेष आमन्त्रण गरिएको उनले बताए ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैङ्कका गभर्नर, विषय विज्ञ, सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरू, विकास साझेदार विश्व बैङ्क, एसियाली विकास बैङ्क युएनडिपी लगायतका सरोकारवालाको सहभागिता रहने उनले बताए ।

प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुख र ८८ वटै स्थानीय तहका प्रमुख गरी ४ सय ५० बढीको सम्मेलनमा सहभागिता रहने प्रदेश सरकारले जनाएको छ ।

प्रदेशको न्यून वित्तीय साक्षरता, वित्तीय पहुँच र लगानी अभिवृद्धिमा सम्मेलनले महत्त्वपूर्ण टेवा पु¥याउने मन्त्रालयका सचिव सुमनराज अर्यालको भनाई छ ।

सम्मेलनबाट प्रदेशमा कर्जा लगानी, वित्तीय साक्षरता र पहुँच अभिवृद्धि र सरकारको आर्थिक विकासको रणनीति बारेको निष्कर्षसहित धनगढी घोषणापत्र जारी गरी सम्मेलन सम्पन्न हुने मन्त्रालयले जानकारी दिएको छ ।