बैंकले देख्न नसकेका नयाँ ट्यालेन्टलाई लगानी गर्न भेन्चर क्यापिटल, पोषराज पाण्डेको लेख

बिजमाण्डू
२०७६ मंसिर १६ गते १५:०३ | Dec 2, 2019
बैंकले देख्न नसकेका नयाँ ट्यालेन्टलाई लगानी गर्न भेन्चर क्यापिटल, पोषराज पाण्डेको लेख



भेन्चर क्यापिटल लगानीको एक विशिष्टीकृत माध्यम हो । खासगरी निजी क्षेत्रमा युवाको अग्रसरतामा यो अवधारणा सुरू भएको मानिन्छ । जुन क्षेत्रले तीव्र विकासको सम्भावना बोकेको छ, त्यसमा युवाको आगमन भइसकेपछि यसले गति लिएको हो । भेन्चर क्यापिटलको लक्ष्य पुँजी आर्जन गर्नु नै हो । जो वास्तविक भेन्चर क्यापिटल सञ्चालन गर्छन्, उनीहरू लगानीका लागि जहिले पनि सम्भाव्य र प्रतिस्पर्धी क्षमता बढी भएको क्षेत्रको पहिचानमा लागेका हुन्छन् ।

Tata
GBIME
Nepal Life

त्यसकारण भेन्चर क्यापिटल इन्भेस्टरहरूबाट पुँजी निर्माणमा मात्र सहयोग नपुगी यसले दक्षता–ज्ञान अभिवृद्धि र बजारीकरण तथा नेटवर्किङमा समेत सहयोग पुगिरहेको हुन्छ । बैंक तथा वित्तीय संस्थासँगको पुरानो सम्बन्ध, उत्पादन र मार्केटिङसँगको सम्बन्ध तथा अन्य इनपुट लिनसमेत भेन्चर क्यापिटलमार्फत सहयोग पुग्छ । 

एक सम्भावनायुक्त उद्यमीलाई सहयोग गर्ने उद्देश्यसहित वास्तविक भेन्चर क्यापिटलको अवधारणा अगाडि बढेको हो । सहयोग गर्ने अनेक उपाय हुन सक्छन् । त्यसमध्ये मुख्य त एउटा आइडियालाई उत्पादन तथा सेवामा परिणत गर्न यस्ता भेन्चर क्यापिटलस्टहरूले सहयोग गर्छन् । यो आर्थिक रूपमा हुन सक्छ, ज्ञान र सीपका माध्यमबाट हुन सक्छ वा नेटवर्क, यी माध्यमबाट भेन्चर क्यापिटलस्टहरूले नयाँ उद्यमीलाई सहयोग गरिरहेका हुन्छन् । 

ऐतिहासिक रुपमा १९३९ मा पहिलोपटक यो अवधारणा अगाडि बढेको थियो । तर सम्भावना बोकेका क्षेत्रमा लगानीका लागि सहयोग गर्ने गरी सुरूआत भने दोस्रो विश्वयुद्धपछि नै भएको हो । १९५० पछि भने अमेरिकाबाट भेन्चर क्यापिटलको विकास प्रशस्त भयो । अहिले जति पनि नाम कहलिएका कम्पनी छन्, ती सबै भेन्चर क्यापिटलकै लगानीबाट अगाडि आएका हुन् । अमेजन, एप्पल, अमेरिका अनलाइन, फेसबुक, गुगल, याहु र नेटस्केपलगायत जति पनि नाम कहलिएका ब्रान्ड छन्, यी सबैले भेन्चर क्यापिटलमार्फत भएको लगानीमा तीव्र विकास गरेका हुन् । 

यी त सूचनाप्रविधिसँग सम्बन्धित प्रतिनिधिमूलक संस्था मात्र हुन् । युरोप र अहिले तीव्र विकासको क्रममा रहेको चीन र जापानमा समेत भेन्चर क्यापिटल प्रशस्त मात्रामा आएको छ । तर अमेरिकामा जस्तै ज्यादै प्रभावकारी रुपमा कम्पनी अगाडि आउन सकेका छैनन् । यद्पि बेलायतको एआरएम होल्डिङ, क्यानडाको रीचर्स इन मोसन र लक्जेम्बर्गको स्काइप पनि भेन्चर क्यापिटलकै माध्यमबाट विश्वव्यापी रुपमा फैलन सफल कम्पनी हुन् । विश्वव्यापी रूपमा हेर्ने हो भने नयाँ आइडियालाई व्यवहारमा उतारेर सेवा र उत्पादनमा रुपान्तरण गर्न भेन्चर क्यापिटलले निकै ठूलो सहयोग गरेको छ । 

नेपालको सन्दर्भमा लगानी सम्भाव्यताको विषय त्यत्ति धेरै नौलो रहेन । खासगरी मुलुकभित्र राजनीतिक स्थायित्व छ । सबै राजनीतिक दलको एजेन्डामा आर्थिक विकास र समृद्धि पहिलो प्राथमिकतामा देखिन्छ । दलहरु विकासको सन्दर्भमा निकै सचेत देखिन्छन् । अर्कोतर्फ अहिले नेपालको जनसांख्यिक संरचनामा युवाको बाहुल्य छ । युवा उमेरका मानिसको संख्या ठूलो छ । यो उमेर नै सिर्जनशील हो । जोखिम लिएर उद्यमी बन्न खोज्ने उमेर नै युवा हो । तर, यो समूहलाई नेपालमा सुरुआती पुँजीकै अभाव छ । ऊसँग लगानीका पर्याप्त उपाय छन्, तर पैसा छैन । त्यसकारण पनि नेपालमा भेन्चर क्यापिटलको सम्भावना निकै धेरै देखिन्छ । 

अहिले नेपालमा पैसा चाहियो भने बैंकमा जाने हो । सिद्धान्ततः बैंकले ऋण माग्न जाँदा धितो माग्छ । त्यसमा पनि बैंक नयाँ ग्राहकभन्दा पुराना ग्राहक, जोसँग लामो समय कारोबार भएको छ, उनीहरुसँगै बढी रमाइरहेका हुन्छन् । नयाँ लगानीकर्तालाई त्यत्ति धेरै वास्ता गर्दैनन् । त्यसकारण लगानी खोज्न समेत केही नयाँपन ल्याउनु आवश्यक छ । जसमा सम्भावना पनि छ । बैंकले आँट नगरेर, बैंकले देख्न नभ्याएका र नसकेका नयाँ ट्यालेन्टलाई मूलधारमा ल्याउने हो भने भेन्चर क्यापिटल यसमा सफल भएर निस्कन सक्छ । किनकि नेपालका बैंकहरु नयाँभन्दा परम्परगत रुपमै रमाइरहेका देखिन्छन् । 

बैंकले नपत्याएको अवस्थामा नयाँ लगानीकर्तासँग अर्को उपाय सानो पुँजीबाट व्यवसाय थाल्ने र कमाएको नाफालाई पुँजीमा रुपान्तरण गर्दै व्यवसाय बढाउने हो । तर यो निकै सुस्त गतिमा हुने प्रगति हो । सानो पुँजीले मानिससँग भएको आइडिया र बजारको सम्भावनालाई पूर्ण रुपमा कार्यान्वयन तहसम्म लैजान सक्दैन । त्यसकारण यो अन्तरलाई पूर्ति गर्न भेन्चर क्यापिटल नेपालमा आवश्यक देखिन्छ । 

यही आवश्यकता देखेरै होला, क्रमशः नेपालमा पनि भेन्चर क्यापिटल आउन थालेका छन् । नेपालमा अहिले देखिएका भेन्चर क्यापिटलमध्ये एउटा बिजनेस अक्सिजन (एक करोड ४० लाख डलर), डोल्मा (दुई करोड ५७ लाख डलर), वन टू वाच (३० लाख डलर) र त्रू नर्थ (५० लाख डलर) गरी चारवटा भेन्चर क्यापिटल नेपालमा सक्रिय रहेका छन् । यसमध्ये पनि स्टार्टअपलाई फन्ड गर्न सक्ने पुँजी भने यी भेन्चर क्यापिटलमा कम नै छ । किनकि वन टू अर्थ सबैभन्दा पुरानो भेन्चर क्यापिटल हो । यससँग भएको पुँजी सबैजसो लगानी भइसकेको छ । 

बिजनेस अक्सिजनसँग अझै पनि एक करोड २० लाख डलर र डोल्मासँग एक करोड डलर लगानीयोग्य पुँजी छ । त्रू नर्थ भने भर्खरै सुरु भएका कारण योसँग लगानीयोग्य पुँजी आउने क्रममा छ, तर पर्याप्त छैन । अहिले नेपालको भेन्चर क्यापिटलमा त्यही दुई करोड ५० लाखदेखि तीन करोड डलर मात्र पुँजी रहेको देखिन्छ । 

नेपालमा भेन्चर क्यापिटलको लगानी हरेक जसो कम्पनीमा अधिकतम नभई न्युनतम रुपमा छ । अधिकतम सेयरमा उनीहरुले लगानी गर्न सकिरहेका छैनन् । नेपालको ऊर्जा, कृषि, आतिथ्य सेवा, सूचना प्रविधि, स्वास्थ्य, पर्यटनमा पनि उनीहरुको लगानी देखिन्छ । त्यसमध्ये पनि सबैभन्दा धेरै ऊर्जा मै लगानी देखिन्छ । जलविद्युत् र वैकल्पिक ऊर्जामा उनीहरुको लगानी धेरै देखिएको छ । 

नेपालको सन्दर्भमा भेन्चर क्यापिटललाई नियमन गर्ने र हेर्ने गरी अहिलेसम्म कुनै पनि कानुन आइसकेको छैन । अहिले भएकै फरक-फरक ऐन, नियम मातहत उनीहरुले काम गरिरहेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन उनीहरुतर्फ आकर्षित हुने गरेको छ । किनकि अहिले नेपालमा जति पनि भेन्चर क्यापिटल छन्, उनीहरु सबैमा लगभग विदेशी लगानी नै छ । बिजनेस अक्सिजन अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्रवर्द्धन भएको कम्पनी हो । यसमा केही लगानी डीएफआइडीको समेत छ । डोल्मा मोरिससमा मुख्यालय रहेको कम्पनी हो । यो पनि विदेशी लगानी नै हो । अरु पनि कुनै न कुनै रुपमा विदेशी लगानीकै छन् । 

यसमा औद्योगिक व्यवसाय ऐनसमेत आकर्षित गरी नियमन हुने गरेको छ । कम्पनी ऐनले यसको नियमन हुन्छ । सेबोनलाई नियमन गर्ने सेक्युरिटी ऐनले समेत यसलाई छुन खोज्छ । यसरी फरकफरक ऐनको छाताभित्र रहेर उनीहरु सञ्चालित छन् । नेपालमा लगानीको वातावरण पनि छ । युवा पनि छन् । काम गर्ने जोस र जाँगर पनि छ । आइडिया पनि छ । त्यसो भए लगानी जुटाउने यस्तो भेन्चर क्यापिटलहरु किन थोरै छन् त ? भएका भेन्चर क्यापिटलमा पनि किन लगानी कम छ त ? यसको मतलब केही न केही विषय नेपालमा छन्, जसले उनीहरुको प्रवेशलाई कठिन बनाइरहेको छ । 

यसमा पहिलो विषय उनीहरुले गर्ने लगानी गर्ने सीमा नै कम भयो । उनीहरु विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमार्फत नेपालमा आउँदा लगानीको दायरा खुम्चिहाल्छ । औद्योगिक व्यवसाय ऐनले उद्योग भित्रमात्र दायरा खुम्चाइदिन्छ । प्रविधि हस्तान्तरण ऐनले कालोसूचीमा नपरेको कम्पनीका रुपमा यस्ता कम्पनीको दायरा खुम्च्याइदिन्छन् । अर्थात ती सर्त पूरा भएको व्यवसायमा मात्र भेन्चर क्यापिटलले मुख्य लगानीकर्ताका रुपमा लगानी गर्न सक्छन् । यसको मतलब यसको दायरा कम हुने भयो । नेपालबाहेक भारत तथा अन्य मुलुकमा अलि फराकिलो वातावरणमा उनीहरुले लगानी गरिरहेका छन् । अहिले विदेशी लगानी हुन कम्तीमा पाँच करोड हुनुपर्ने प्रावधान छ । त्यस ऐनअनुसार आयो भने उसले सानो लगानीमा स्टार्टअप व्यवसाय गर्छु भन्ने युवालाई त लगानी नै दिन नसक्ने भयो । किनकि व्यवसाय सुरु गर्नेले सिधै पाँच करोड पुँजी नजुटाउन सक्छन् । 

साथै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)ले समेत भेन्चर क्यापिटलको दायरा खुम्च्याएको छ । बाफियाअन्तर्गत दर्ता नभएको कम्पनीले ऋण लगानी गर्न पाउँदैन । यसको मतलब यस्ता कम्पनीले सेयर पुँजीका रुपमा मात्र लगानी गर्न सक्ने भए । ऋण लगानी गर्न नसक्ने भए । यसले ऐन नियमबाट पनि उसको गतिविधिमा नियन्त्रण छ । अर्कोतर्फ कर प्रणालीले समेत भेन्चर क्यापिटललाई सहयोग गरिरहेको छैन, जसले गर्दा उनीहरु नेपालमा फस्टाउन सकेका छैनन् । 

अर्कोतर्फ नेपालको कालोसूचीसम्बन्धी नियमले पनि भेन्चर क्यापिटललाई फस्टाउने वातवारण दिन सकिरहेको छैन । किनकि भेन्चर क्यापिटलले धेरै कम्पनीमा लगानी गर्नुपर्ने हुन्छ, त्यो पनि स्टार्टअप व्यवसायमा  । यस्ता व्यवसायमा सफल भन्दा असफल हुनेको दर बढी हुन्छ । अमेरिकामै हेर्ने हो भने १० वटा नयाँ कम्पनी दर्ता भयो भने सातवटा एक वर्षभित्रै बन्द भइसक्छन् । मात्र तीनवटा अगाडि जान्छन् भनिन्छ । पाँच वर्षसम्म निरन्तर प्रगति गर्ने कम्पनी अझै कम हुन्छ । 

त्यसकारण भेन्चर क्यापिटलिस्टहरुको लगानी त जोखिममै हुन्छ । हाम्रो प्रणालीले उनीहरुलाई ऋण प्रवाहमा रोक लगाएपछि आफैं व्यवस्थापनमा बस्ने गरी सेयरमा लगानी गर्नुपर्ने हुन्छ । यसले स्टार्टअपलाई सिकाउन र स्थापित गराउन निकै सहयोग पुग्छ । तर कुनै एउटा कम्पनीले बैंकको ऋण तिर्न सकेन भने कर्जा सूचना केन्द्रमा त्यसको नाम जाने र उसले कालोसूचीमा राखिहाल्ने नियम छ । जब एउटा भेन्चर क्यापिटल बोर्डमा रहेको कम्पनी कालोसूचीमा जान्छ, त्यसपछि उसले अन्य कुनै पनि कम्पनीबाट बैंकसँग कारोबार गर्न सक्दैन । एउटा कम्पनी फेल भए पनि उसले अर्को कम्पनीबाट त्यसलाई सल्टाउन सक्छ नि ! तर नेपालको कानुनले त्यस्तो मान्दैन । भनेपछि त स्टार्टअपका लागि दिएको रकम सधैं सफल हुँदैन । तर एउटा कम्पनी असफल हुँदैमा भेन्चर क्यापिटल बोर्डमा बसेको सबै कम्पनीमा केही गर्न नपाउने गरी हुने रोक्काले यहाँ उनीहरुले लगानीमैत्री वातावरण देख्दैनन् । 

नेपालमा भेन्चर क्यापिटल आयो, लगानी थाल्यो र उसले सम्भावना देखेको क्षेत्रमा थप लगानी ल्याउनुपर्‍यो भने उसलाई नेपालमा खासै बाटो छैन । किनकि नेपालमा पैसा भएका केही सीमित कोष छन् । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र केही बीमा कम्पनीहरुसँग अहिले पर्याप्त मात्रामा पैसा छ । तर यी संस्थाले आफ्नो लगानी निजी क्षेत्रमा विस्तार गर्नु जोखिमपूर्ण मान्छन् । उनीहरु सरकार ग्यारेन्टी बस्ने सरकारी ऋणमा मात्र लगानी गर्न इच्छुक देखिन्छन् । नत्र पैसा लगेर बैंकमा राख्छन् । यसप्रकार भेन्चर क्यापिटलले नेपालभित्र थप लगानी पाउने अर्को बलियो संस्थाको समेत साथ पाउन नसक्दा पर्याप्त लगानी जुटाउन नसक्ने अवस्था यहाँ रहन्छ । 

एउटा भेन्चर क्यापिटल सधैंभरी एउटै कम्पनीमा टाँसिएर बस्न सक्दैन । एउटा समयपछि उक्त सो कम्पनीबाट आफूले पाउने नाफा लिएर फिर्ता जान खोज्छ  । तर नेपालको एक्जिट प्रणाली वा नीति यति झन्झटिलो छ कि कम्पनीले नेपालमा लगानी त भित्र्याउन सक्छ; यहाँबाट फिर्ता जान निकै मुस्किल छ । एउटा भेन्चर क्यापिटल कुनै कम्पनीमा लगानी गरेर आयो भने उसको रकम तीन वर्षसम्म त त्यहाँ राख्नैपर्छ, निकाल्न पाउँदैन । अन्य मुलुकको उदाहरण हेर्ने हो भने लकअप पिरियड एक वर्ष मात्र राखिएको हुन्छ । कुनै देशले २० प्रतिशतसम्मलाई तीन वर्षको लकअप पिरियड राखेर अन्य लगानी लैजान सक्छ । यसले पनि भेन्चर क्यापिटलको विकासमा रोक लगाइरहेको छ । 

नेपालमा विदेशी लगानीमा स्टार्टअप बिजनेसलाई प्रवद्र्धन गर्न चाहेको हो र त्यसका माध्यमबाट धेरै युवालाई स्वरोजगार बनाउने हो भने भेन्चर क्यापिटलमैत्री ऐन, नियम आवश्यक देखिन्छ । यसमा भेन्चर क्यापिटलकै लागि लक्षित गरी विशेष ऐन ल्याउन सकिन्छ । अथवा भइरहेकै ऐन नियमलाई पनि समसामयीक परिवर्तन गरेर भेन्चर क्यापिटल फस्टाउन सक्ने वातावरण बनाउन सकिन्छ । अहिले आन्तरिक रुपमा भेन्चर क्यापिटल आउन सकेका छैनन् । 

अब स्थानीय भेन्चर क्यापिटल आउन सक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि विदेशी भेन्चर क्यापिटलले नेपालमा शाखा खोल्न सक्ने गरी व्यवस्था ल्याउनु जरुरी छ । अर्कोतर्फ सरकार आफैंले पनि भेन्चर क्यापिटल सञ्चालन गरेर जहाँ निजी क्षेत्र जान सक्दैन, त्यस क्षेत्रमा सरकारको तर्फबाट लगानी गर्ने गरी सञ्चालनको वातावरण बनाउन सकिन्छ । किनकि बढी खोजिम हुने क्षेत्रमा निजी भेन्चर क्यापिटलले लगानी गर्दैन । त्यस्तो अवस्थामा सरकारी भेन्चर क्यापिटलमार्फत युवा स्वरोजगार तथा उद्यमी उत्पादन गर्न सकिन्छ । 

अर्कोतर्फ हाम्रो शैक्षिक प्रणालीमा समेत सुधार गरी अब भेन्चर क्यापिटलको माग बजारबाटै हुने वातावरण किन नबनाउने ? बजारमा माग बढ्यो भने कम्पनीहरु स्वतः आउँछन् । हिजो कक्षाकोठामा सैद्धान्तिक रुपमा सिकेको सीपलाई व्यवहारमा कसरी उतार्ने भन्नेबारे सिकाउने उचित शैक्षिक वातावरण बन्ने हो भने त्यसले पनि मुलुकमा भेन्चर क्यापिटलको विस्तारमा सहयोग पुग्ने थियो ।

(पाण्डे साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्टका कार्यकारी अध्यक्ष हुन् । यो लेख सेजनको अर्थनीतिबाट साभार गरिएको हो।)