चालु आर्थिक वर्षमा पाउडर प्लान्टको क्षमता दोब्बर हुने, दैनिक ६५ हजार लिटर दूधबाट पाउडर निकालिने

बिजमाण्डू
२०७६ मंसिर १६ गते ०७:४४ | Dec 2, 2019
चालु आर्थिक वर्षमा पाउडर प्लान्टको क्षमता दोब्बर हुने, दैनिक ६५ हजार लिटर दूधबाट पाउडर निकालिने

Tata
GBIME
Nepal Life

विराटनगर। विराटनगर दुग्ध वितरण आयोजना अन्तर्गतको पाउडर प्लान्टको क्षमता चालु आर्थिक वर्षभित्र नै दोब्बर हुने भएको छ।

प्रदेश नम्बर १ को सरकारले दिएको ५ करोड रुपैयाँले मेसिन थप गरेपछि प्लान्टको क्षमता दोब्बर हुने भएको हो। दुग्ध विकास संस्थानका प्रवक्ता सुवासप्रसाद भट्टराईका अनुसार अनुसार हाल दैनिक ३० हजार लिटर दूधबाट पाउडर उत्पादन गरिरहेको विराटनगर आयोजनाले क्षमता विस्तारपछि दैनिक ६० देखि ६५ हजार लिटर दूधबाट पाउडर उत्पादन गर्नेछ।

‘पाउडर प्लान्टको क्षमता विस्तारका लागि केही मेसिनहरू आएर जडान भइसके, केही आइपुगेका छन् र केही आउने क्रममा छन्,’ प्रवक्ता भट्टराईले भने, ‘जसअन्तर्गत ५० मेट्रिक टन क्षमताको बटर डीप फ्रिज जडान भएर सञ्चालनमा आइसकेको छ। चार मेट्रिक टन क्षमताको डिजल ब्वाइलर पाउडर प्लान्टको क्षमता वृद्धिका लागि टेन्डर भइसकेको छ र ब्वाइलर आउने क्रममा छ। त्यस्तै आइस बैंक युनिट सेट नामको मेसिन पनि टेन्डर भई सम्बन्धित सप्लायरसित सम्झौता हुने क्रममा छ।’

डिजल ब्वाइलर र आइस बैंक युनिट सेट गरी दुइवटा मेसिन जडान गरिसकेपछि प्लान्ट विस्तारको काम पुरा हुने उनको भनाइ छ। पाउडर प्लान्टबाट धूलो दूध उत्पादनको क्षमता दोब्बर बनाएर प्रदेशमा रहेको मिल्क होलिडे समाप्त पार्ने प्रदेश सरकारको नीति छ। विराटनगरमा धूलो दूध उत्पादन गर्न पश्चिमका ढल्केवर, जनकपुर, हेटौँडा र बुटवलदेखि दूध ल्याइने गरेको छ।

आयोजनाले अहिले दैनिक ३५ हजार लिटर दूध संकलन गरिरहेको छ। जसमध्ये ३० हजार लिटर पाउडर उत्पादन र बाँकी १० हजारको दुग्ध तथा दुग्धजन्य उत्पादन तयार गरेर बजार पठाउन प्रयोग गरिन्छ। हरेक वर्ष धूलो दूधको पैठारी गर्ने संस्थानले गत आर्थिक वर्षमा स्वदेशी उत्पादनबाटै धानेको बताइएको छ।

गत आर्थिक वर्षमा धूलो दूधको पैठारी नगरिएको आयोजनाले जनाएको छ।  आयोजनाले गत आर्थिक वर्षमा सात सय टन धूलो दूध उत्पादन गरेको थियो।