नेप्से झिनो अङ्कले बढेपनि सेन्सेटिभ सूचक नकारात्मक, नबिल बैंकको सबैभन्दा बढी कारोबार

बिजमाण्डू
२०७६ मंसिर १५ गते १५:४१ | Dec 1, 2019

Tata
GBIME
Nepal Life

 

काठमाडौं। साताको पहिलो दिन आइतबारको शेयर बजार झिनो अंकले बढेको छ । आइतबार शेयर बजार मापक सूचक ०.०७ अंकले बढेको हो । नेप्से सूचक बढेको भए पनि सेन्सेटिभ सूचक नकारात्मक देखिएको छ ।

 

आइतबार सेन्सेटिभ सूचक ०.५० अंकले घटेर २४६.१५ अंकमा ओर्लिएको छ ।

शेयर बजार घट्नु पर्ने कुनै कारण नरहेपनि बजार घट्दो क्रममा रहँदा लगानीकर्ता नै दुविधामा पर्न थालेका छन् । 'घट्नु पर्ने कुनै कारण नभएपनि बजार घटेको छ,' इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले भने । लगानीकर्ता बजारप्रति निश्चिन्त हुन नसक्दा बजार घटेको उनको अनुमान छ ।

शेयर कारोबार सुधारिएको भएपनि कारोबार रकममा अझै सुधार हुन सकेको छैन । आइतबार १६१ कम्पनीका ६ लाख ७५ हजार कित्ता शेयर २० करोड ६३ लाख रुपैयाँमा कारोबार भयो ।

कारोबारमा आएका ५७ कम्पनीको मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घट्यो । २५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।
कारोबारमा आएका कम्पनीमा नबिल बैंकको सबैभन्दा बढी शेयर कारोबार भयो । उसको मात्रै आइतबार एक करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

एनएमबि बैंकको  दोस्रो बढी कारोबार भएको छ । उसको एक करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो ।

कारोबारमा आएका कम्पनीको समूहगत उपसूचक मिश्रित देखिएको छ । १२ समूहको कारोबारमा ६ समूहको सूचक बढेको छ भने ६ नै समूहको उपसूचक घटेका छन्।