नेपाली ब्राण्डलाई विश्व अवार्ड जिताउने सविता:  ‘कीर्तिपुर होजियारी’ को के ब्राण्डमा निर्यात

भावना शर्मा/बिजमाण्डू
२०७६ मंसिर १२ गते १२:२१ | Nov 28, 2019
नेपाली ब्राण्डलाई विश्व अवार्ड जिताउने सविता:  ‘कीर्तिपुर होजियारी’ को के ब्राण्डमा निर्यात

Tata
GBIME
Nepal Life

कीर्तिपुरको पुरानो नेवारी बस्ती समलमा धेरैले चिन्ने नाम हो – सविता महर्जन। यो नामले केही वर्षअघि नै विदेशसम्म ख्याति कमायो । सविताको संघर्ष भने कीर्तिपुरको समल र कुटुसालको बस्तीमा आज पनि जारी छ ।   

भन्नलाई उनी यस गाउँकी बुहारी हुन् । तर उनी यति मात्र होइनन् । गाउँका लागि उत्साह, प्रेरणा र शिक्षाको स्रोत हुन् । बेरोजगार महिलाकी रोजगारदाता, निरक्षरकी शिक्षिका अनि सीपविहीनहरूका लागि प्रशिक्षक । उनलाई ख्याति दिलाउने परिचय हो, कीर्तिपुर होजियारीकी संस्थापक उद्यमी । जसले व्यापारभन्दा बढी समाजको सुधारमा आफ्नो सीप खर्च गरेकी छन् । समल र कुटुसालका महिलालाई अक्षर चिनाइन्, र आय आर्जनको बाटो पनि देखाइन् । गाउँमा महिला समूहको स्थापनादेखि सहकारीमा लैजाने प्रयास, अनि गृहणीलाई उद्यम गर्ने सीप र उपायका लागि पहल गर्ने सामाजिक अभियन्ता पनि हुन् सविता ।

'चुपचाप घरभित्रको काम नगरेर खुबै समाज सुधार्न हिँडेकी' भन्ने खिसीट्युरी २० वर्षदेखि निरन्तर सुनिरहेकी छन् । सँगै समाजमा परिवर्तनको बाटो देखाइदिएकोमा आदर सम्मान पनि पाएकी छन् । परिवारभित्रको असहयोग र खप्की सहँदै संघर्ष गरिरहेकी सविताको घरमा पुग्दा उनी सोचमग्न देखिन्थिन् ।

'धान थन्क्याउने चटारो भर्खरै सकियो। अब फेरि अर्को चटारो सुरू,' हाँस्न खोज्दै उनले भनिन्, 'काम कहिले रोकिन्छ कहिले चल्छ । उद्यममा ब्रेक लाग्छ नि घरायसी समस्याले । अब चैं खेती उठाउने काम सकियो, किसानबाट फेरि उद्यमी बन्ने बेला भयो ।' 

यतिबेला उनी विदेशबाट अर्डर आएको खास्टोका तह तह मिलाइरहेकी छन्। निर्यातमा अब्बल नेपाली ब्राण्ड शेर्पासँगको उनको साइनो झिनो बन्दै गएकोमा केही निराश पनि छिन् । टहरामुनिका ३५ वटा गार्मेन्ट मेशिन र स्वेटर बुन्ने तीनवटा मेशिनमा जमेका धुलो टक्टक्याउँदै उनी फेरि एकपटक आफूलाई दह्रो गरी उभ्याउने प्रयासमा छिन्। 

कमाउँदै स्कुल फि तिर्दै
४० वर्षीया सविता पाँगामा जन्मिएकी हुन् । बुवाआमा छोरीलाई स्कुल पढाउनुपर्छ भन्ने सोचाइका । छरछिमेकका साथीहरूले कुरूस समाउँदा उनलाई पनि रहर लाग्यो । घरका सदस्यका लागि टोपी, मोजा, गलबन्दी बुन्दाबुन्दै सीप तिखारियो । जनसेवा माविमा सात कक्षा पढ्दा-पढ्दैको यो सोखले अर्को कक्षा चढ्दासम्म उनी आफ्नो पढाइ खर्च आफैं जुटाउन सक्ने भइसकेकी थिइन् । 

पहिलो कमाइ थाप्दाको उमेर जम्मा १३ वर्ष । आफूजस्तै आठ साथीको टोली लिएर बुन्ने ठाउँमा पुगिन् । त्यो ठाउँ थियो- नगाउँ ।  नगाउँकी एकजना आमाले ठमेल पुगेर स्वेटर, टोपी र मोजा बनाउने अर्डर लिएर आउने थाहा पाएपछि उनले पनि काम मागिन् । पहिलोपटक उनले २१ दिन लगाएर स्वेटर बुनिन् । हात पर्‍यो ७० रुपैयाँ । जीवनको पहिलो कमाइले उनले आफ्नै पढाइको फि तिरिन् । 

'सानैदेखि मेरो रूचि सिलाइ-बुनाइमा हो, आफ्नो रहर पुरा गर्दागर्दै पैसा कमाउन थालियो,' उनी भन्छिन् । बिहान बेलुकीको समय साथीभाइले खेलेर बिताउँदा उनी भने काँटा-कुरुससँग हुन्थिन् । त्यतिबेला स्वेटर, टोपी र ब्याग आदि जे जे अर्डर आउँथ्यो, त्यो सबै बुन्दा-बुन्दै उनी अरूलाई पनि सिकाउन सक्ने भइन् । 

१५ वर्षमा एसएलसी सकेपछि उनी पुगिन् घरेलु तथा साना उद्योग महाशाखामा । उनी होजियारी सिक्न थालिन् । ६ महिना होजियारी, ४ महिना गार्मेन्ट र ६ महिना सिलाइकटाइले एसएलसी पछिको समय सिकाइमै बित्यो। तालिमले आत्मविश्वास बढायो । क्याम्पस भर्ना नहुँदै कमिसन बेसमा काम ल्याउने र ज्यालादारीमा काम गराउन थालिसकेकी थिइन् । घरमा दिदीबहिनी र भाउजुहरूलाई पनि सिकाउँदै, काम दिँदै गर्न थालिन् । पाँगाको देउखेलबाट उनले थालेको यो काम आज कीर्तिपुरमा पनि निरन्तर नै छ। 

जीवनमा दुइपटक कठिन मोड आयो । एउटा, एक महिना टाइफाइडले ओछ्यानमा थलिएपछि आमाबुवाको करकापमा काँटा-कुरुसको काम छोड्नुपर्‍यो । 'काम नगरी त म बस्दिन,' भन्ने उनको अडानले आफू पढेकै स्कुलमा 'मिस' बनेर जान थालिन् । दोस्रो मोड त्यतिबेला आयो जतिबेला उनी बीए तेस्रो वर्षको परीक्षा दिने तयारी गर्दै थिइन् । 

बिहेको कुरा छिनियो । हुलाकका जागिरे माग्न आएपछि परिवारले २०५७ मा खुसीसाथ छोरीको बिदाई गर्‍यो । तर सविताको संघर्ष त्यहीँबाट सुरू भयो । 

तीन वर्षको मास्टरी पेशा छाडेर उनी कीर्तिपुर पुगिन्, जहाँ बुहारीले चुपचाप घर सम्हाल्नुपर्ने संस्कार थियो । बीए तेस्रो वर्षको जाँच दिन पाइनन्, पढाइमा ब्रेक लाग्यो । अब उनी न शिक्षिका रहिन्, न विद्यार्थी । पेटमा बच्चा पनि आएपछि आफूलाई असाध्यै निरीह महसुस गर्न थालिन् । होस सम्हालेदेखि कमाउन थालेकी उनलाई भातभान्छामै सीमित हुनु थिएन । घरभित्रै बसेर उनले पुरानो सीपलाई ब्युँताइन । 

माइतीमा पहिले सँगै काम गरेका पुराना दिदीबहिनीहरू थिए, उनीहरूको साथ लिइन् ।  अर्डर ल्याउँदै उनले कीर्तिपुरमा घर वरिपरिका महिलाहरूलाई पनि सिकाएर काम दिन थालिन् । कलंकी निटवेयरसँग आवद्ध भएर उनले लगातार १२ वर्षसम्म स्वेटर, मोजा, पन्जा, टोपी र झोलाजस्ता सामाग्री बुनेर पठाइरहिन् । त्यसबेलासम्म उनका गाउँका तीन सय महिलाहरूलाई उनले जानेको सीप सिकाइसकेकी थिइन्। २०६० सालसम्ममा त उनी मासिक २० हजार कमाउन थालिसकेकी थिइन् । महंगी अहिलेजस्तो थिएन, त्यसैले उनको कमाई त्यो समय 'आकर्षक' थियो ।  

कीर्तिपुर  होजियारीको सुरूवात
१५ वर्षसम्म बिभिन्न ठाउँमा काम गरेपछि उनले बिधिवत रूपमा दर्ता गरिन् कीर्तिपुर होजियारी । सुरूमा उनले आफ्नो होजियारीबाट स्वेटर डिजाइन गरेर बजारमा लगिन् । पहिले आफैंले काम गरेको कलंकी निट वेयर, टिबेटीयन ह्याण्ड क्राफ्ट र यति ल्याण्ड जस्ता कम्पनीहरूलाई आफ्ना उत्पादन दिँदै गइन् । 

घरबाट निरन्तरको असहयोगका बीच काखे छोरा च्यापेर उनी महिला समूहमा आबद्ध भइन् । प्रौढ शिक्षा पढाउन थालिन् । घरमै दिन बिताउने महिलाहरूलाई सीप सिकाउन थालिन् । स्वेटर बुनेरै जोडेको घरमा होजियारी कारखाना राखेर काम गर्छु भन्दा नदिएपछि उनले विद्रोह गरिन् । चुपचाप चुलोको काम गर्न मनले नमानेपछि घरबाट निस्किइन् र बाहिरै कारखाना खोलेर काम थालिन । 

महिलाहरुलाई सीप सिकाएर काम दिने अनि साक्षरता अभियानलाई पनि उनले सँगै अघि बढाइन् । गाउँ-गाउँमा महिला समूह खोलेर बचत अभियान सुरू भयो । महिला समूहको बिस्तारसँगै उनले समूहको बचतलाई सहकारीमा लैजान पहल गरिन् । बिहान सहकारी, दिनभर होजियारी अनि रातमा महिला साक्षरता अभियान ।   

गाउँघरमा कतिले बाहिर बाहिर हिँड्ने 'छाडा' भने । 'घरको काम नगरी डुल्न हिँडी, यसले समाज बिगार्छे' पनि भने। 'यस्ताको पछि नलाग है घर बिग्रिन्छ !' आदि उनले धेरै कटुवचन सुन्नु पर्‍यो । तर अठोटसँगै उद्यम गरिखाने इमान थियो । 

छोरो च्यापेर उनले गरेको संघर्षको फल सन् २०११ मा पाइन । सूर्य नेपालको आशा अवार्ड जित्दा उनी कीर्तिपुरकी जुझारु महिलामा दरिइसकेकी थिइन् । नौ सय महिलालाई अक्षर चिनाउने र एकैसमयमा ३/४ सय स्थानीय महिलालाई रोजगारी दिन सक्ने उद्यमीका रूपमा सविताले सम्मान र आदर पाउन थालिन् । व्यापारबाट समाजलाई परिवर्तन गर्ने उद्यमीलाई दिइने प्रतिष्ठित अवार्ड थाप्दासम्म उनीप्रति समाजको हेर्ने दृष्टिकोण बदलिइसकेको थियो । त्यसैबेला उनीमाथि शेर्पा एडभेन्चरको आँखा पर्‍यो । 

शेर्पासँगको साइनो
शेर्पा एडभेन्चरका संचालक टासी शेर्पाले कल गरे- 'हामीलाई तपाइँको स्वेटरको डिजाइन चाहियो ।' सविताले हातले बुनेका १४ वटा स्वेटरको डिजाइन पठाइन् । सबै डिजाइन 'एप्रुभ' भयो । शेर्पाले भटाभट अर्डर पठाउन थाल्यो । सबिताले गाउँका तीन सय महिलाको साथ लिएर स्वेटर बुनेर पठाउन थालिन् । 

शेर्पाले अन्तर्राष्ट्रिय गुणस्तरको धागो र कच्चा पदार्थ उपलब्ध गराउँथ्यो । उनीहरू एउटा स्वेटरको १५ सयदेखि तीन हजार रूपैयाँसम्म ज्याला लिएर तयार पार्थे । त्यो स्वेटर विदेशमा तीनदेखि ६ सय डलरसम्ममा बिक्री हुन्थ्यो। 

शेर्पाकै डिजाइनरसँगको सहकार्यमा सविताले लगातार चार वर्ष स्वेटर बुनिन्, र शेर्पाको लोगो लगाउँदै पठाइदिइन्। वार्षिक रूपमा ३० देखि ५० लाखसम्मको कारोबार हुन थाल्यो शेर्पा एडभेन्चरसँग । 

एउटा स्वेटर हातले बुन्न आठ दिन लाग्थ्यो। अन्तर्राष्ट्रियस्तरको थियो उनीहरूले दिने म्याटेरियल पनि । सबिताको कामबाट शेर्पा एडभेन्चर पनि खुसी थियो । विदेशमा शेर्पाले स्वेटर पठाउँदा सविताको कीर्तिपुर होजियारीले तयार पारेको भन्दै बुन्ने महिलाको तस्वीरसमेत राखेर स्टोरीसहितको ट्याग तयार पार्थ्यो। 

निरन्तर पाएको कामले सविता खुसी थिइन्, उनीसँगै गाउँका महिलाहरूको रोजगारी पनि जोडिएको थियो । खुसी दुगुना बनाउँदै सन् २०१५ मा फेरि अर्को खबर आयो । जर्मनीमा बेस्ट ह्याण्ड निटिङ अवार्ड जित्ने डिजाइन थियो सविताकै कीर्तिपुर  होजियारीको स्वेटर,  जसलाई शेर्पाले निर्यात गरेको थियो। अब सविता कीर्तिपुरबाट धेरै परको जर्मनीसम्म चर्चित भइसकेकी थिइन् । आफ्नो डिजाइनले अन्तर्राष्ट्रिय अवार्ड जितेको दिन सविताको मनमा 'कुनै दिन 'आफ्नै कीर्तिपुर होजियारीको कै ब्राण्डलाई निर्यात गर्ने' सपनाले जरो गाडिसकेको थियो । 

बिस्तारै व्यापारमा उतारचढाव आयो । हातले बुनेकाको तुलनामा मेशिनले बुनेका स्वेटरको माग हुन थाल्यो । शेर्पासँगको काम अहिले पातलिएको छ । हातले बुनेर पठाउने स्वेटरको माग भएमा मात्र उनीहरू सवितालाई सम्झन्छन्। नत्र त अहिले मेशिनकै प्रयोगबाट स्वेटर उत्पादन हुन्छ । शेर्पालाई यसअघि स्वेटर बुन्ने झण्डै तीन सय महिलाको आर्जनको बाटो पनि बन्द भयो ।  

हातले एउटा स्वेटर बुन्न आठ दिन लाग्छ। मेशिनले एकैदिनमा ५० वटा स्वेटर तयार पार्छ । माग अनुसारको गुणस्तर र परिमाण पाउने भएपछि मेशिनले नै उत्पादकको मन जित्न थाल्यो । घरको काम सकेरमात्रै बुनाइमा अल्झने गृहिणीले मेशिनसँग कहाँ प्रतिस्पर्धा गर्न सक्नु ? ग्राफिक डिजाइनमा काम गर्ने मेशिनसँग हातको बुनाइको तुलना हुनै छाड्यो । तीन सय महिलाले गर्ने काम १० जनाले मेशिनबाटै बुनेर दिन सक्ने भएपछि गाह्रो परेको सविताले बताइन । 


  
हातले बुनेका भन्दा लागतमा सस्तो छिटो र धेरै मात्रामा तयार हुने भएपछि शेर्पाले मेशिनबाटै बुनेका स्वेटरहरूमा ध्यान केन्द्रित गर्‍यो। अहिले कीर्तिपुर होजियारीसँग शेर्पाको काम ठप्प जस्तै नै छ । शेर्पाले पनि सवितालाई भनिसकेको छ- 'स्वेटर बुन्ने मेशिनहरू राख्यौ भने मात्रै धेरै काम दिन सकिन्छ ।' गार्मेन्टकालागि ३५ वटा र स्वेटर बुन्ने तीनवटा मात्र मेशिन छन् सवितासँग । अब कसरी काम गर्ने ? गाउँका दिदीबहिनीलाई अब काम कसरी दिने ? अचेल उनलाई यही पीर छ । 

'के' ब्राण्डको सपना
नौ वर्षसम्म घरबाहिर बसेर गरेको संघर्षले बल्ल सविताले कीर्तिपुरमा आफ्नो घर बनाउन सकेकी छन् । घर त आफ्नो नाममा फर्काइन, तर ९० वर्ष माथिका सासुससुरा र श्रीमानको मन अझै उनले फर्काउन सकेकी छैनन् । बरू १० कक्षामा पढ्न थालेको छोराले आशा देखाएको छ- 'मम्मी तपाईंको कामलाई म सघाउँछु ।' आमा-छोरा गफिन्छन्, एमबीए गरेर बिजनेस अघि बढाउँछ रे छोरोले । त्यसो त अंग्रेजीमा विदेशी क्लाइन्टहरूलाई पठाउनुपर्ने अर्डरको जवाफ इमेल छोराले नै फर्काइदिन्छन् । परिवारभित्र सविताको आशा अब छोरामाथि मात्र छ । 

कीर्तिपुर  होजियारीसँग अहिले ३२ जना कामदार छन् । बेलाबखत आउने मागअनुसार २ देखि ३ सयजनाले काम पाउँछन् । फिर्ता पाएकै घरको दुईतिर टहरोमा उनले काम थालेकी छन् । डेढ करोड लगानी भइसक्यो। 

'अब अझै दुई करोड थप्न पाए बल्ल म कीर्तिपुर होजियारीको के ब्राण्डमा आफैं निर्यात गर्ने सक्ने हुन्थेँ,' सविता भन्छिन् । हार नमानेको बरू उद्यमलाई अलि ठूलो स्केलमा अघि बढाउन साझेदार खोजिरहेको उनले बताइन । एउटा उद्योग दिगो हुन कम्तिमा पनि पाँच वर्ष लाग्छ । त्यसैले सरकारले पाँच वर्षसम्म उद्योगलाई केही न केही छुट र सुविधा दिनुपर्छ भन्ने सवितालाई लाग्छ । 'म गर्न सक्छु, गरेर देखाउँछु भनेपछि पत्याइदिएमात्रै पनि ठूलो हुन्छ हामीजस्ता महिलालाई,' उनले भनिन् । 

शेर्पासँगका काम आउन घटेपनि अहिले उनी सिजनल काम लिइरहेकी छन् । टोपी, स्वेटर र डिजाइनदार ब्यागहरू बनिरहेको छ। उनीसँग कलेज-स्कुलले ज्याकेट कोट र अरू युनिफर्म बनाउन आइरहेका छन्। 

एनजीओका टीसर्टदेखि ज्याकेटसम्म बनिरहेको छ।  विदेश पठाउन खास्टो बनिरहेको छ । यति मात्र नभई न्यूरोडका लोकल मार्केटका लागि रेडिमेड गार्मेन्ट पनि उनकै कारखानामा तयार भइरहेको छ । एक समय सूर्या नेपालको स्प्रीङ-उड ब्राण्डमा तयारी पोशाकसमेत बनाएको अनुभव कीर्तिपुर होजियारीसँग छँदैछ ।  

यति धेरै अनुभव र विश्वास जितिसकेको मान्छेलाई कीर्तिपुर होजियारीको आफ्नै ब्राण्डमा उत्पादन ल्याउन के समस्या भयो ? उनी भन्छिन् 'अब समस्या लगानीको मात्र भयो । मेरो पहुँच बैकसम्म पुगेन । परिवारको सपोर्ट भएन, साझेदार भेटिएको छैन ।' उनलाई थाहा छ काम गर्दा सँधै शतप्रतिशत रिजल्ट पनि पाइन्न, धैर्य गर्नुपर्छ, पर्खनुपर्छ ।  

उनी यतिबेला स्पेनिस डिजाइनर सबास्टिनलाई सम्झिरहेकी छन्। धेरैअघि महागुठीका तर्फबाट हस्तकलाको तालिम दिन नेपाल आएका सबास्टिनले १७ जना तालिमेमध्ये हरेक डिजाइनमा अब्बल हुने सवितालाई आफ्नो देश फर्कने बेला भनेका थिए- 'धैर्य राख, एकदिन तिम्रो कारखाना धेरै ठूलो हुनेछ। अनि म जस्ता धेरै डिजाइनर तिम्रोमा काम गर्न आउनेछन् ।'  सबास्टिनले बढाइदिएको हौसला कायमै छ । 'मेरो लक्ष्य भन्नु नै धेरैभन्दा धेरै महिलालाई सक्षम बनाएर नेपाली प्रोडक्ट विदेशमा चिनाउने हो,' उनी भन्छिन् ।