सुरुङ र रेलमार्गको चर्चाले टोखामा जग्गा बिक्री हुनै छाड्यो, शिवपुरी नजिक आनाको २५ लाख रुपैयाँ

बिजमाण्डू
२०७६ मंसिर १० गते १०:०२ | Nov 26, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। मालपोत कार्यालय टोखाको एक चिया पसलमा एक जना जग्गा व्यावसायी कुनै जग्गाधनीसँग फोनमा कुरा गरिरहेका थिए।

जग्गा व्यावसायीः तपाईंको जग्गा बेच्ने कि नबेच्ने? एउटा मूल्य राख्नुस न कति मा बेच्ने?

जग्गा धनीः 'नबेच्ने' के !

जग्गा व्यावसायीः हैन यति सम्म आयो भने त बेच्नुहुन्छ होलानी? एउटा मूल्य त भन्नुस १२ लाख १५ लाख?

जग्गा धनीः मेरो जग्गा भन्दा तल खोल्साको जग्गा अस्ती मात्र आनाको १३ लाख रुपैयाँमा किनबेच भएको थियो। मेरो त झन सम्म परेको ठाउँमा छ। आनाको १६ लाख आयो भने दिन्छु, नत्र दिन्न !

जग्गा व्यापारी र जग्गा धनीबीचको यो संवादले टोखा क्षेत्रमा घरजग्गाको मूल्यको पारो चढेको सहजै अनुमान लगाउन सकिन्छ। केही वर्ष अघिसम्म ग्राण्डी इन्टरनेशनल हस्पिटलले तातेको जग्गाको भाउ अहिले भने टोखा-छहरे सुरुङ मार्ग बन्ने र काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनको चर्चासँगै उकालो लागिरहेको छ। सुरुङमार्गको अनुमानित प्रवेश बिन्दु मानिएको झोर क्षेत्र वरपरका जग्गा धनीहरु जग्गा बेच्ने मुडमै छैनन्।

'सुरुङमार्ग आजको भोलिनै नबनेपनि एक दिन त बन्छ। २/४ वर्ष अघि पछिको कुरा मात्रै हो।' स्थानीय राजु अधिकारी भन्छन्, 'सुरुङमार्ग र रेलमार्ग बनेपछि यो ठाउँ व्यापारिक हब हुने पक्का छ। ठूला/ठूला सप्लायर्सहरु यहि बस्छन्। त्यो बेला यहाँ एक आना जग्गाको मूल्यनै करोडौ रुपैयाँ पर्छ भने अहिले कौडीको भाउमा किन जग्गा बेच्ने ?'  उनको भनाईसँग घरजग्गा कारोबारको तथ्यांकले मेल खान्छ।

मालपोत कार्यालय टोखाका अनुसार दैनिक १५ देखि २० वटा सम्म घरजग्गाका फाइल रुजु गर्दा १० देखि १२ दृष्टिबन्धक मात्रै हुन्छन् भने ५ देखि ७ वटा मात्रै जग्गा किनबेच गर्ने राजीनामाको फाइल हुने गरेका छन्।

मालपोत कार्यालय टोखाका निमित्त मालपोत प्रमुख विष्णुप्रसाद गौतमका अनुसार दैनिक औसतमा पाँच भन्दा पनि कम मात्रै घरजग्गा किनबेच हुने गरेको छ।त्यसमा पनि तार्केश्वर नगरपालिकाको साङ्ला र बुढानीलकण्ठ नगरपालिकाको खड्का भद्रकालीका जग्गा धेरै किनबेच भएको उनी बताउँछन्। टोखा नगरपालिकाको जग्गा किनबेच न्यून रहेको गौतमले बताए।

मासिक १५० भन्दा बढी राजीनामा नहुने टोखा मालपोत कार्यालयले धेरै जसो जग्गा बुढानीलकण्ठ र तार्केश्वर नगरपालिकाको किनबेच गराएको छ।  

जग्गाको मूल्य

सुरुङमार्गको चर्चासँगै डाँडाकाँडाको जग्गाको भाउ आकासिएको छ। शिवपुरी डाँडाको फेदैमुनि जग्गाको भाउ आनाको २५ देखि ३० लाख रुपैयाँ पुगेको छ। मुल सडकसँग जोडिएका सहायक सडकका जग्गाको मूल्य आनाको २० देखि २२ लाख रुपैयाँ छ।

१३ फिट बाटो कायम गरिएको ठाउँमा १५ देखि १८ लाख रुपैयाँ र २० फिट बाटो कायम गरिएको ठाउँमा २० देखि २२ लाख रुपैयाँ प्रति आना मूल्य छ। बाटो नभएको जग्गा पनि प्रति आना ५ देखि ७ लाख रुपैयाँ र ३ फिट गोरेटो बाटो भएको ठाउँमा पनि प्रति आना १० लाख रुपैयाँ मूल्य छ।

तर मालपोत कार्यालयको न्यूनतम मूल्यांकनमा भने झोर महाँकालमा प्रति आना चार लाख रुपैयाँ मात्रै छ। खड्का भद्रकाली र साङलामा प्रतिआना ५/५ लाख रुपैयाँ न्यूनतम मूल्यांकन छ। ती ठाउँमा प्रति आना साढे पाँच लाख रुपैयाँ भन्दा बढी न्यूनतम मूल्यांकन कहिँ पनि छैन। सरकारी मूल्यांकनको कुरै छाडौं त्यहाँ दैनिक जग्गाको भाउ बढिरहेको छ।

 आनाको १५ लाख मूल्यमा बिक्री भएको जग्गा भोलिपल्ट अर्कोले १८ लाख मूल्य राख्ने गरेको स्थानीय बताउँछन्।

टोखाका सुविधा

टोखा काठमाडौंको केन्द्र रत्नपार्कबाट १२ देखि १५ किलोमिटरको दुरीमा पर्छ। टोखाबाट सबै भन्दा नजिक भनेको ग्राण्डी इन्टरनेश्नल अस्पताल हो।

ग्राण्डी अपार्टमेन्ट, ग्राण्डी हाउजिङ र ग्राण्डी अस्पतालका साथै एक दुई वटा अरु हाउजिङ कम्पनी छन्। टोखाबाट चार किलोमिटरमा चक्रपथ आइपुगिन्छ। टोखामा कलेज छैन तर चक्रपथ वरपर राम्रा कलेज भएकाले बस्नका लागि उपयुक्त छ।