मर्जर भएन भनेर ब्यापार बिस्तार रोक्ने कुरा आउँदैन,माछापुच्छ्रेका सुमन शर्माको अन्तर्वार्ता

बिजमाण्डू
२०७६ मंसिर ८ गते ०९:१६ | Nov 24, 2019


आफ्नै गतिमा हिँडिरहेको माछापुच्छ्रे बैंकले पछिल्लो ६ महिनायता हरेक हिसाबले आक्रामक देखिन थालेको छ। प्रमुख कार्यकारी अधिकृतका रूपमा सुमन शर्माले कार्यभार सम्हालेपछि बैंकले ब्यापार, सञ्जालदेखि निक्षेप संकलनसम्म आफ्नो गतिलाई बढाइरहेको छ। शर्मालाई बिजमाण्डूका सुदर्शन सापकोटाले सोधे- नाफालाई ठीकठाक राखेर माछापुच्छ्रे बैंकले वासलातसँगै शाखा सञ्जाल बढाएको छ। अहिले आएर नै किन आक्रामक?
आजको मितिसम्म जतिसुकै ‘डिजिटल बैंकिङ’ को कुरा गरेपनि सर्वसाधारण प्राविधिक रुपमा वित्तीय कारोबार गर्ने अवस्थामा पुगिसकेका छैनन्। मान्छेहरुले भौतिक रुपमै बैंकको उपस्थिति खोज्ने गर्छन्। शाखा भए कारोबार गर्नेजस्तो देखिएकाले सञ्जाल विस्तारतिर लाग्यौं। सञ्जाल बिस्तार नगरी ब्यापार बिस्तार गर्न अलिकति गाह्रो पर्नेजस्तो देखिएकाले हामी त्यतातिर लागेका हौं। हाम्रो ब्यापारको गति बढाउनका लागि पनि पूर्वदेखि पश्चिमसम्म बाक्लो उपस्थिति चाहिएको थियो। खासगरी राजमार्गमा हामीले हाम्रो उपस्थित बढायौं। त्यसको नतिजा अहिले वासलातमा देखिन थालेको छ। लगभग ५५ शाखाहरु गत वर्षको अन्तिम त्रैमासिक र चालु वर्षको पहिलो त्रैमासिकभित्र खोलिसकेका छौं। बिशुद्ध ब्यापार बिस्तारका लागि हामीले सञ्जाल बढाएका हौं। 

Tata
GBIME
NLIC

माछापुच्छ्रे बैंकमा पहिलेदेखि नै संस्थागत निक्षेपको हिस्सा कम थियो। सर्वसाधारणको निक्षेप नै बढि थियो। सर्वसाधारणको हिस्सा ६७ र बाँकी संस्थागतको थियो। राष्ट्र बैंकले ४५ प्रतिशत मात्र हुनुपर्छ भन्दाखेरी (अहिले बढाएर ५० प्रतिशत पुर्‍याइसकेको छ) नै हामी त्यो सीमाभन्दा तल थियौं। हाम्रो प्राथमिकतामा जहिले पनि सर्वसाधारणको निक्षेप नै थियो। सर्वसाधारणको हिस्सा अझै बढाउनका लागि पनि हामी काठमाडौं बाहिरका ठाउँमा शाखा खोल्न पुगेका हौं। हामी अझै पनि राजधानीमा शाखा खोल्दैछौं।

पछिल्लो समय अरू बैंक पनि आक्रामक भएर आएको देखिन्छ। अलिकति ब्यापार बिस्तारमा आक्रामक भइएन भने बजारमा कहीँ न कहीँ हराइन्छ भन्ने भएर हो ? 
माछापुच्छ्रे बैंकलाई सुरूदेखि हेर्नुभयो खासगरी पछिल्लो चार/पाँच वर्षमा राम्रो बैंकको रूपमा अगाडि आइरहेको पाउनु हुनेछ। आन्तरिक रूपमा संस्थागत सुशासन, पारदर्शिता, डुइङ बिजनेसमा पनि एकदम ‘साउन्ड’ भएर गइरहेको छ। साथै बाहिरी रूपमा पनि ब्यापार बिस्तारमा आक्रामक देखिँदै आएको छ। ऋणको गुणस्तरीयता राम्रो छ। एउटा स्तरमा बैंक पुगिसकेकाले हराइहाल्ने स्थिति छैन। हामी आफूलाई ‘बीच तिरको बैंक’ का रूपमा मूल्याङ्कन गर्छौं। १२/१४ को बीचमा हामी आफूलाई राखेर हेर्छौं। पछिल्लो वर्षको ‘परफर्मेन्स’ का आधारमा हामी १२ औं स्थानमा छौं। भनेपछि हराउने भन्ने त प्रश्न छैन। हिजो बैंक ठिकै थियो, अब हामी हाम्रो उपस्थिति बढाउनका लागि अलिकति आक्रामकजस्तो देखिएका मात्रै हौं। 

आक्रामक हुनुपर्छ भन्ने कुरो चै कसरी जन्मियो?
म सिइओ (प्रमुख कार्यकारी अधिकृत) भएर आएको १५ महिनाजति भइसकेको छ। म आएपछि यसरी जानुपर्छ भन्ने हाम्रो भिजन भयो। हामी त्यसमा अगाडि बढ्यौं। त्यसमा सञ्चालक समिति र ब्यवस्थापनका साथीहरुले समर्थन गर्नुभएको छ।

आक्रामक हुनुभयो। तर कतिपय अवस्थामा त्यसलाई थेग्न आन्तरिक क्षमता पनि चाहिएला नि ?
आन्तरिक क्षमता हाम्रो एकदमै राम्रो छ। मध्यमदेखि माथिल्लो ब्यस्थापनसम्म हाम्रो राम्रो भएर गएको छ। हामीले कर्मचारीको क्षमतालाई अधिकतम प्रयोग गरेका छौं। तल्लो तहका कर्मचारीको अभाव भने सँधै खड्किने रहेछ। उनीहरू धेरै ‘जम्प’ गर्छन्। तर नयाँ कर्मचारीलाई हामीले ‘ग्रुम’ गरेर अगाडि बढाउने हो। नयाँ शाखा खोल्ने हो भने सुरुमा कि बजारबाट उठाउनु पर्‍यो नभए आफैले नयाँ मान्छे ल्याएर सिकाउनु पर्‍यो। केही महत्वपूर्ण तहमा हामीले बजारबाट पनि लिएका छौं। भरसक हामीले आन्तरिक रूपमै ‘ग्रुम’ गरिरहेका छौं। हाम्रो आन्तरिक कर्मचारीलाई पनि ठूलो जिम्मेवारी दिने गरेका छौं। ‘इन्ट्री लेभल’ काहरुलाई हामीले ‘ग्रुम’ गरिरहेका छौं। यसो हुँदा हाम्रो ‘कल्चर’ नयाँ मान्छेले चाँडै सिक्छ। अरु बैंकबाट ल्याउँदा भन्दा बजारबाट उठाउँदा सजिलो हुन्छ। उनीहरुलाई ६ महिना ‘ग्रुम’ गर्दा उनीहरु  पुरै माछापुच्छ्रेको ‘कल्चर’ मा आइहाल्छन्। हामीले सुरुमै धेरै अपेक्षा राख्नु हुँदैन। क्रमिक रुपमा हामीले खोजेको मान्छे तयार भइहाल्छन्।

जुन हिसाबले सञ्जाल बढ्यो। एउटै त्रैमासमा साढे ८ अर्बले ब्यापार बढेको छ।  त्यो क्षमता आन्तरिक रूपमा तत्काल तयार पार्न त गाह्रो होला नि ?
हामीले मान्छे शाखा खोल्नुभन्दा अगाडि नै लिएर तालिम दिएका छौं। शाखा खोल्दै गएपछि उनीहरूलाई त्यहाँ राख्दै गयौं। हामीले शाखा खोलेपछि वा खोल्ने बेलामा मान्छे लिएको होइन। निक्कै अगाडिबाट लिएर उनीहरुलाई हामीले तयार पारेका छौं। एक वर्षदेखि नै हाम्रो तयारी हुन्छ। रणनीतिक रूपमै हामीले त्यो गर्ने हो। 

शाखा बिस्तार गर्ने बित्तिकै त्यही अनुपातमा ब्यापार त बढ्दैन। तर ब्यापार भने तुलनात्मक रुपमा बढिरहेको छ। खाता संख्या पनि निक्कै बढेको छ। बचत खाताको रकम कतिपय बैंकको घटेको छ, तर हाम्रो बढेको छ। हाम्रो बचत रकम नै पहिलो त्रैमासमा २ अर्ब ७० करोड रूपैयाँले बढेको छ। कुल ६ अर्ब ६७ करोडले निक्षेप बढेको छ। यो भनेको निक्कै राम्रो हो। अहिले खाता खोल्ने धेरै छन्। पहिला हामी दैनिक पाँच सयवटा खोल्थ्यौं भने अहिले एक हजारवटा खोल्छौं। अहिले हाम्रो ‘स्पिड’ बढेको छ। शाखा संख्या बढेकाले पनि त्यो भएको हो। त्यहाँ अरू बैंक हुँदा पनि हाम्रोमा खाता खोल्न आइरहेका छन्।

राष्ट्र बैंकले पूँजी बढायो। यसलाई केही बैंकले निक्कै राम्रो रूपमा लिएर आफूलाई जम्प गराए। तर माछापुच्छ्रे बैंक आज आएर जम्प गर्न खोज्दैछ। अलिक ढिला भयो जस्तो लाग्दैन ?
त्यस्तो होइन। बैंकिङ बिजिनेस भनेको दीर्घकालिन हो। ह्वात्तै जम्प गर्नु भनेको  निक्षेप पनि संस्थागतलाई मात्रै महत्व दिनु हो। अनि ऋण पनि ठूलो ठूलो परिमाणमा बिस्तार गर्नु हो। पूँजी परिचालन एकैचोटी गर्दा ब्यापार मात्रै बढिरहेको हुँदैन, जोखिम सम्पती पनि बढिरहेको हुन्छ। पूँजी परिचालन हामीले समय लगाएर गर्‍यौं, जसले हाम्रो जोखिम न्यून गरायो। आज हामी ‘साउन्ड’ बैंकका रूपमा बजारमा चिनिन्छौं। पूँजी तत्काल बढ्यो तर ब्यापार हामीले क्रमशः बढायौं। अहिले आएर सन्तुलन कायम भइसकेको छ।

साढे ८ अर्ब एउटा त्रैमासमा बढ्नुलाई त सामान्य मान्न सकिँदैन। आज आएर आक्रामक हुनुभयो भन्न खोजेको मैले ?
ब्यापारमा आक्रामक हुनका लागि सञ्जाल पनि आवश्यक पर्छ। हाम्रो ८६ वटा शाखा थियो गत वर्ष। त्यसमा पनि १९ वटा गाउँमा थियो। ६७ वटाले मात्र ब्यापार गरेको थियो। अहिले हामी १४३ वटा शाखाबाट काम गरिरहेका छौं। ५७ वटा शाखा हामीले सोचेको ठाउँमा खोलेका छौं। शाखा बिस्तार नगरी ब्यापार बढाउन सकिँदैन। बचत खाताको संख्या र रकम बढायौं। 

पहिलो त अवसर पनि पाउनु पर्‍यो र ‘सेलेक्टिभ’ पनि हुनुपर्‍यो। आजको दिनमा हेर्दा गुणस्तरीय सम्पती जोडिएको रहेछ। अहिले ०.३१ प्रतिशत मात्रै खराब कर्जा अनुपात छ। यो बैंकको इतिहास हेर्दा कस्तो थियो र आज कस्तो छ ? समयसँगै धेरै सुधार भएर आएको छ। ०.३१ प्रतिशत खराब ऋण भनेको निक्कै कम हो। तर भोलि यो अनुपात बढ्न पनि सक्छ। हामीले निरन्तर आफूलाई बलियो बनाउँदै लगेका छौं। संस्थागत निक्षेपमा हामी धेरै लागेनौं। जसले गर्दा पनि हामीले ऋण त्यही हिसाबले दिन सक्यौं। एउटा वर्ष मात्र हामी पछाडि परेका थियौं। समग्रमा भने हामीले राम्रो गरिरहेका छौं। 

त्यही नै भनेको बैंकहरू बेलैमा आक्रमक भए। ब्यापारसँगै शाखा बढाए। माछापुच्छ्रे पछिल्लो ६ महिनादेखि आक्रामक भएको छ ? 
अगाडि पनि हाम्रो बिस्तार राम्रो थियो। पहिलो त्रैमास मात्रै होइन, पोहोर पनि राम्रो गरेको हो। पोहोर तरलताको हिसाबले राम्रो समय थिएन। यसपाली सहज अवस्था छ। 

सिइओ भएपछि म यस्तो गर्छु भन्ने कुराले पनि ब्यापार बिस्तारमा काम गरेको हो कि ?
पक्का पनि मेरो भिजन थियो। मेरो साथीहरुले पनि मलाई साथ दिनुभयो। सञ्चालक समितिले पनि मलाई सहयोग गर्नुभयो। त्यही भएर यो बृद्धि हासिल गर्‍यौं। हुन त नाफामा हामी त्यति अगाडि छैनौं, तर ब्यापारमा हामीले राम्रो काम गरका छौं। भोलिका दिनमा नाफा त कमाइहालिन्छ।

केही वर्षको ‘ट्रेन्ड’ लाई हेर्दा पहिलो त्रैमासलाई बैंकहरूले आराम गर्ने समयका रुपमा लिएको पाइन्छ। उनीहरू तिहार सकिएपछि आक्रामक हुन्छन् । माछापुच्छ्रे त सुरूवातबाटै आक्रामक देखियो ?
हामीसँग तथ्याङ्कको बलियो स्रोत छ। हिजो के भयो, आज के भइरहेको छ भनेर हामी सुक्ष्म रूपमा हेर्छौं। हामी वर्षभरी ब्यापार मात्रै गर्दैनौं, ऋण उठाउनेदेखि स्रोतको जोहो सम्ममा हामी ब्यस्त हुन्छौं। साधारणतया यो बेलामा ब्यापार कम भएको देखिन्छ। तर हामी कहिले पनि रोकिएका छैनौं। हामीलाई पहिलो र अन्तिम त्रैमास भन्ने कहिले पनि हुँदैन। स्रोत जोहो भयो भने हामी ऋण बिस्तार गरिहाल्छौं।

साढे आठ अर्ब रूपैयाँ पहिलो त्रैमासमा बिस्तार भएको छ। यही अनुपातमा जाने हो भने वर्ष दिनमा करिव ३३/३४ अर्ब हुन्छ। यसका लागि स्रोत कसरी जुटाउनु हुन्छ ?
स्रोत भएन भने हामी ब्यापार गर्दैनौं, यो कुरा स्पष्ट छ। म एकदमै तथ्याङ्क हेरिरहेको हुन्छु। देशको तथ्याङ्क हेर्ने हो, अनि निर्णय गर्ने हो। पोहोर शोधनान्तर घाटा भएको थियो। हामीले सक्दो निक्षेप उठाउन भन्यौं। किनभने तरलता अभाव बढ्ने पक्का थियो। सक्दो उठाउ भनेपछि उठ्यो। देशको तथ्याङ्क अफ्ठेरो अप्ठेरो भयो भने हामी आक्रामक हुँदैनौं। अझै ३३ प्रतिशत संस्थागत निक्षेप छ। बजारमा त्यसले ब्याज दरमा ठूलो असर गर्छ। सीमित संस्था छन् उनीहरु, त्यसैले धेरै बार्गेनिङ हुन्छ। त्यसबेला बैंकहरू अझ अप्ठेरो अवस्थामा पर्छन्।

आयात घटेका कारण शोधनान्तर अहिले बचत छ। तर बाँकी सूचक त्यति सकारात्मक देखिएन। त्यही भएर साढे ८ प्रतिशतको आर्थिक बृद्धि लक्ष्यलाई नै सरकारले घटाइसकेको छ। मन्दीको अवस्था देखिएको छ। स्रोत अभाव हुने देखिन्छ !
पोहोरको तुलनामा यसपाली केही अवस्था सहज देखिएको छ। शोधनान्तर बचतका कारणले केही राम्रो अवस्था छ। पोहोर २५ अर्बले शोधनान्तर घाटा थियो। विगतमा पनि शोधनान्तर घाटा भएका बेला बैंकहरु नोक्सानमा परेका थिए। त्यसमध्ये कतिपय बैंकहरु हराएर गएका छन्। अहिले साढे १४ अर्ब बचतमा छ, जुन सकारात्मक पक्ष हो। अहिले चामलको आयात घटेको छ। यो राम्रो हो। यसले आन्तरिक उत्पादन बढेको देखिन्छ। अलैंचीको निर्यात दोब्बर भएको छ, पेट्रोलियमको आयात घटेको छ, जुन राम्रो हो। 

पूर्वाधार क्षेत्रको आयात कम हुनु त पक्कै राम्रो होइन होला नि ?
डिजल पूर्वाधारमा पनि प्रयोग हुन्छ। यसको आयात घटेको छ। एमएस विलेटको पनि घटेको छ। यसको घट्दा विकासको काम भएन कि भन्ने चै हो। हाउसहोल्डले पनि यो प्रयोग गर्छन्। हिजो जग्गाको कारोबार ठूलो हुँदा स्टिलको माग बढि हुन्थ्यो। अहिले त्यो घटेको हुनसक्छ। 

कताकता अर्थतन्त्र मन्दीतिर गएको देखिन्छ। भारतमा त मन्दी नै लागिसकेको छ। करका दरहरूका कारणले मूल्यबृद्धि पनि उच्च छ। अर्थतन्त्र मन्दीमा जाने तर माछापुच्छ्रे आक्रामक हुने । कताकता नमिलेको जस्तो पो देखियो त ? भोली खराब कर्जा पो बढ्ला कि ?
तरलता अभाव भयो, आर्थिक गतिविधि कम भयो भने त्यो भनेको बैंकिङ क्षेत्रकै लागि चिन्ताको विषय हो, माछापुच्छ्रेका लागि मात्रै होइन। आजको मितिमा हामीले ब्यापार नबढाउँदा पनि ७७ अर्ब त ऋण प्रवाह भइसकेको छ। त्यो ऋण पनि खराब हुन सक्ने सम्भावना उत्तिकै छ। ८.५ प्रतिशतको आर्थिक बृद्धि नहुँदा नयाँ ऋण बिग्रिने, तर पुरानो नबिग्रिने भन्ने त हुँदैन। यो हामीलाई मात्रै होइन अरुलाई पनि लागू हुन्छ।

हामीले अल्पकालिन निक्षेप लिएर दीर्घकालिन ऋण दिइरहेका छौ कि छैनौं भनेर हेर्नुपर्छ। हामीसँग अहिले पनि सर्वसाधारणको निक्षेप ६७ प्रतिशत छ। यसले हामीलाई स्थिरता प्रदान गर्ने छ। हामीले संस्थागत निक्षेप बढाएर वा कल डिपोजिट लिएर ऋण दिएका छैनौं। बरू हामीले सर्वसाधारणको मुद्दति निक्षेप लिएका छौं। जोखिम स्रोत पक्षबाट पनि हुन्छ। हामीसँग ‘डाइभर्सिफाइड’ निक्षेप भएकाले जोखिम तुलनात्मक रूपमा कम छ। ऋणतिर पनि हामी कर्पोरेटमा धेरै छैनौं। जलविद्युत गर्नै पर्‍यो, होटल गर्नै पर्‍यो। नत्र हामी ठूलो ठूलो कर्पोरेट गर्दैनौं। एउटै ऋणीलाई धेरै पैसा दिएको अवस्था हाम्रोमा छैन।

पूँजी बृद्धि योजना आयो। यहाँका सञ्चालकले त्यति मन पराउनु भएको थिएन। तर अहिले आएर ऋणपत्र जारी गर्नुपर्ने अवस्था आयो। भन्नुको मतलव अब पूँजी अभाव हुन थालेको हो ?
अहिले ब्यापार बिस्तार भएको छ त्यही भएर ८ अर्बले मात्रै पुगेन। अनि हामीलाई ऋणपत्र चाहियो। बैंकिङ बिजिनेस भनेको तत्काल गरिहाल्ने भन्ने होइन। ओभर द पिरियड हामीले पूँजीलाई राम्रोसँग परिचालन गर्‍यौं। हामी क्रमिक बिस्तारमा जाने हो, छलाङ मार्ने होइन। 

यसपाली ३ अर्ब ऋणपत्रले सहयोग गर्‍यो । अब त बिजिनेस बढाउने सिजन भएको छ। अझै ऋणपत्र  चाहिएला ?
सिजन कुन भन्ने चै अलिक छलफलकै बिषय हो। अन्तिममा सरकारले खर्च गर्ने भएकाले त्यो पैसाले क्रेडिट क्रिएसन हुन्छ। सबै बैंकको आआफ्नै कुरा हो। ब्यापार घाटा बढ्न थालेपछि  बजारबाट पैसा हराउँदै जान्छ। सिजन भनेको समय अनुसार फरक पर्छ। पहिलेभन्दा यसपाली अलिक सजिलो छ। यो सजिलो कायम रहन्छ कि रहँदैन भन्ने चै अर्को कुरा हो। 

नेपालमा आर्थिक प्रक्षेपण गर्न बैंकहरुलाई गाह्रो छ। तथ्याङ्कहरु चाँडै पाइँदैन। भर्खर तीन महिनाको तथ्याङ्क आएको छ। तर मंसिर पहिलो साता पुगिसकेको छ। तथ्याङ्कहरु चाँडो भयो भने प्रक्षेपण गर्न अलिकति सजिलो हुन्छ। हामी ब्यापारको र शोधनान्तर तथ्याङ्क हेर्छौं। मुख्य आयात र निर्यात भएका वस्तुहरू हेर्छौं। 

माछापुच्छ्रे बैंकको आक्रामकता हेर्दा लाग्छ अब आफै अगाडि बढ्ने हो। यसले कता-कता मर्जरलाई नकारेको हो ? 
मर्जर तथा एक्विजिसन त्यति सजिलो छैन। हामीले ६ महिनाअघि सञ्चालक समिति बैठकबाट मर्जर समिति नै बनाएर काम गरिरेका छौं। राष्ट्र बैंकले मर्जरका लागि सहुलियत प्याकेज ल्याउनुअघि नै हामीले समिति बनाएका थियौं। त्यसले कस्तो सं‌स्थाहरू ठीक हो भनेर सबै वित्तीय हिसाबकिताबसमेत केलाएको छ। कुन लक्षित बैंक हो भनेर कुराकानी गर्दा पनि अगाडि बढ्न सकिएको छैन। अहिले पनि कुराकानी जारी छ, तर भएको छैन। 

मर्जरपछि शाखा र ग्राहकको आधार बढ्छ। मर्जर नभइरहेको अवस्थामा त सञ्जाल आफैले बढाउनु पर्‍यो। हामीले मर्जर नगर्ने भन्ने कुरो छैन। मर्जर नहुँदासम्म त हामीले आफ्नो योजनालाई अगाडि बढाउनै पर्छ। हाम्रो उपस्थिति कम भएको ठाउँमा क्षेत्रीय संस्थालाई लिएर अगाडि बढ्ने भन्नेमा पनि पहल भइरहेको छ। वाणिज्य बैंकहरुसँग मर्ज गर्दा खासै सिनर्जी आउँदैन। किनभने ब्यापार त्यही, सञ्जाल त्यहीँ, निक्षेप स्रोत पनि त्यही। त्यसैले मर्जर गर्दा पनि राम्रोसँग अगाडि बढ्न सकियोस् र त्यसका लागि मर्जरले सहयोग गरोस् भन्ने हाम्रो चाहना छ। क्षेत्रीय स्तरका संस्थाहरुका लागि हामीले धेरै नै पहल गरेका छौं। 

राष्ट्र बैंकले ऋणको लक्ष्य बढाएर २१ प्रतिशत पुर्‍यायो। त्यसका लागि स्रोतको बाटो पनि खोलिदियो। तर बैंकहरू त्यतातिर किन आकर्षित देखिएनन् ?
बाहिरबाट पैसा ल्याउन खोलिदिएपछि हामी त्यसका लागि लागिपरेका छौं। देशको जोखिम, पैसा दिनेले गर्ने डीडीएजस्ता प्रक्रियाका कारण अलिकति ढिला भएको हो। बैंक जोखिम पनि हेर्छन् उनीहरूले। उनीहरूको आफ्नै सर्त पनि छन्। प्राथमिकता प्राप्त क्षेत्रमा मात्र त्यो पैसा लगाउनुपर्ने सर्त राष्ट्र बैंकको छ। ढिला भइरहेको हो, तर पक्कै आउँछ।

१५ महिनामा सुमन शर्मा के हो भन्ने कुरा देखाउनु भयो ब्यापार बिस्तार गरेर । अब दुई बर्ष नौ महिना बाँकी छ। बैंक कुन लेभलमा पुर्‍याउँछु भन्ने लागेको छ ?
८ नम्बरभित्र, ५ नम्बरभित्र वा ४ नम्बरभित्र पार्छु भन्ने खास लक्ष्य छैन मेरो। मैले त्यस्तो आश्वासन पनि सञ्चालकहरूलाई दिएको छैन। आरओइ (रीटर्न अन इक्विटी) लाई सुधार गरेर लैजान्छु भनेको छु। ‘प्रुडेन्ट बैंकिङ’ अभ्यासलाई हामी सँधै पालना गर्छौं। गभर्नेन्समा राम्रो बैंक भनेर वर्गीकरण होस् भन्ने मेरो चाहना छ।
 
यो वर्ष हाम्रो नाफा धेरै हुँदैन। किनभने शाखा बिस्तारले खर्च बढेको छ। यसपाली हाम्रो आकार बढ्छ तर नाफा बढ्दैन। ऋणपत्र जारी गरेकाले पूँजी बढाइरहनु पर्दैन। जसका कारण आरओइ घट्न पाउँदैन। हामीले ल्याएको ऋणपत्र पूर्ण रूपमा बिक्री भयो। अब पनि हामी ऋणपत्रमा जान्छौं। त्यो अवस्था आइसकेको छ। बोनस शेयर दियौं र अर्को वर्ष पनि बोनस शेयर केही दिन्छौं। त्यो सञ्चालक समितिको कुरा भयो, तर त्यतिले पनि हाम्रो विस्तारलाई पूँजीले पुग्दैन। ब्यापार बढाउन पूँजी चाहिन्छ। त्यसका लागि ऋणपत्र जारी गर्नैपर्छ। यो वर्ष हामीलाई चाहिँदैन, अर्को वर्षका लागि हामीले ऋणपत्र जारी गर्नुपर्छ।