ग्लोबल आइएमइ बैंकको ब्यवस्थापकीय नेतृत्व छाडेर जनक शर्मा पौडेल सनराइज बैंक पुगेका छन्। लामो समय ग्लोबल आइएमइ बसेका उनीसँग विदेशी बैंकहरुमा समेत काम गरेको अनुभव छ। यसै सन्दर्भमा शर्मालाई बिजमाण्डूका सुदर्शन सापकोटाले सोधे- ‘करियर’ बैंक छाडेको ६ महिनापछि बिल्कुलै नयाँ ‘कल्चर’ भएको बैंकमा आउनु भयो । के फरक हुने रहेछ ?
संस्था परिवर्तन हुँदा फरक महसुस त धेरै किसिमले हुने रहेछ । कर्पोरेट कल्चरहरु फरक पर्छन्। कर्मचारीदेखि कर्मचारी ब्यवस्थापनसम्म फरक हुन्छ । ब्यापारको दिशा, ब्यापार रणनीति र नीतिहरु फरक हुन्छन् । बैंकको मिसन र भिजनहरु फरक हुन्छन् र फरक छन्।
बटमलाइनमा मैले हिजो पनि बैंकिङ गरिरहेको हो, आज पनि बैंकिङ नै गरिरहेको छु । तर, यहाँभित्र पनि धेरै फरक प्रक्रिया र रणनीतिहरु हुन्छन्। मैले त्यो महसुस गरेको छु।
कस्तो परिवर्तन पाउनु भयो त ?
काम त्यही हो, तर काम गर्ने प्रक्रियाहरु अलिकति फरक हुन्छ। अभ्यस्त हुन केही समय लाग्छ ।
एउटा संस्कारबाट तपाई अर्कोमा जानु भएका हिसाबले ?
संस्कार केही फरक छ । तर त्यसले ठूलो अप्ठेरो केही पनि पर्दैन। म नबिल बैंकको कर्पोरेट कल्चरमा हुर्किएको हुँ । त्यो यात्रापछि जति म अनुभव सँगाल्दै हिँडे/दौडिएँ, त्यो सबैमा नयाँ नयाँ अनुभवहरु हुँदै गयो। सजिलो भयो अप्ठेरो भयो त्यो आफ्नो ठाउँमा छ, तर हरेक ठाउँमा सकारात्मक छ । हरेक ठाउँमा केही सिक्ने मौकाहरु पाएको छु । केही चिजहरु बोकेर अगाडि जाने र अगाडि बोकेर लैजाने मौकाहरु मैले पाएको छु।
निर्णय प्रक्रिया नै फरक हुन्छ । त्यहाँ (ग्लोबल आइएमइ बैंक) म एक किसिमले निर्णयहरु गर्थेँ, यहाँ फरक ढंगले निर्णयहरु गर्छु । एउटा पक्ष के हो भने कर्पोरेट कल्चर फरक हुन्छ हरेक संस्थामा हरेक बैंकमा । किनभने हरेक संस्था फरक पृष्ठभूमि बोकेका मान्छेहरु हुन्छन् । फरक स्कुलिङबाट आएका हुन्छन्। उनीहरुलाई कर्पोरेट र अर्गनाइजेसनल विहेवियरमा परिवर्तन गर्न त्यति सजिलो काम होइन। फरक हुँदाहुँदै पनि म सहज छु ।
बाहिरबाट हेर्दा त हामीले त्यस्तो देख्दैनौं। जस्तो माथिल्लो तहमा आफैले काम गरेको बैंकबाट मान्छेहरु ल्याउनु भयो । अरु पनि आउने चरणमा होलान् !
मान्छेहरु आउने-जाने त भइहाल्छ नि। यो सामान्य कुरा हो।
तर तपाईँलाई नयाँ कल्चरमा छिर्नेभन्दा आफ्नै कल्चरको मान्छे चाहिएको जस्तो त देखियो नि ?
संस्थामा के हुन्छ भने दीर्घकालसम्म एउटा भिजन बोकेर हिँड्ने मान्छे चाहिन्छ । सक्सेसरहरु घरभित्रै हुन सके अझ राम्रो। त्यही संस्कारमा बैंकलाई अगाडि लिएर जाने हो । उच्च ब्यवस्थापनमा चाँडोचाँडो मान्छे परिवर्तन भएर जाँदा पनि त्यति रमाइलो हुँदैन । सकेसम्म भित्रैबाट माथि बढाउनु पर्छ। भित्र मान्छे नै भएन, चल्ने अवस्थै देखिएन भने बाहिरबाट इन्ट्री गर्नु/गराउनु पर्छ। त्यसमा प्रतिस्पर्धि हेरेर, गुणस्तरीयता हेरेर भित्र्याउनु पर्छ।
मैले यसोभन्दा यसको अर्थ अरु अरु लाग्लान्, त्यो होइन। माथिल्लो तहमा ‘ग्याप’ हरु हुने संभावनालाई ध्यान दिएर बाहिरबाट ‘इन्ट्रि’ गराउन थालिएको हो । मैले एकजना ल्याएको हो । हाम्रो डी-सिइओ (नायव प्रमुख कार्यकारी अधिकृत) चाँडै अवकाश हुँदै हुनुहुन्छ । फेरी सोध्नुहोला उहाँकै रिप्लेसमेन्ट हो ? त्यो पनि होइन । टिम बलियो बनाउन बाहिरबाट एकजना ल्याएको हो । म सहज नभएर ल्याएको भन्ने कुरा बिल्कुलै होइन । मान्छे यहाँ संस्थाको ग्रोथ, मिसन सबैलाई भेट्टाउनका लागि ल्याइएको हो । हामीले बजारमा सुरुवातमा १४ र त्यसपछि ९ जना र त्यसपछि पाँच जनामा केन्द्रित हुँदाखेरी एकजना छनोट भएको हो । र, अरु आउलान् भन्ने पनि होला । तर त्यो भविष्यको कुरा हो। भविष्यमा के हुन्छ के हुन्छ ? त्यो यसै बताउन सकिँदैन । तर अहिले नै माथिल्लो तहमा मान्छे ल्याउने योजना छैन।
बैंक पनि पुरानो भयो । माथिल्लो तहका कतिपय कर्मचारी अवकाशको अवस्थामा पुग्न लाग्नु भयो । त्यसको रिप्लेसमेन्टका लागि पनि त अरु कर्मचारी चाहिएला नि ?
उमेरकै कुरा गर्ने हो भने सनराइज बैंकमा अहिले २७ वर्ष औसत आयु छ । म जति शाखामा जान्छु त्यहाँ सबै युवा अवस्थाका कर्मचारी छन्। यस्तो युवा उमेरका कर्मचारी हुनु भनेको बैंकका लागि धेरै राम्रो कुरा हो अगाडि बढ्नलाई।
ब्यवस्थापन तहमा अनुभवी कर्मचारी निक्कै अभाव रहेछ भनेर पनि त अर्थ लाउन सकिन्छ ?
तलको मान्छेलाई ‘ग्रुमिङ’ गर्न सकिन्छ । योभन्दा धेरै बोझ बोक्न हामीलाई जरुरी छैन । किनभने यहाँ माथिल्लो तहमा सबै अनुभवी हुनुहुन्छ । भोलिका दिनमा फरक दिशामा हिँड्नु पर्यो, केन्द्रीय बैंकको नीतिमा फरकपन आयो र देशको अवस्थामा परिवर्तन आयो भने माथिल्लो ब्यवस्थापनको संख्या बढाउनु पनि पर्ने हुन सक्ला । तर यहाँ अहिलेकै अवस्थामा पर्याप्त अनुभवी कर्मचारीहरु हुनुहुन्छ।
बैंक १२ वर्षको भएको छ । त्यो हिसाबले धेरै पुरानो भयो भन्न मिल्दैन । २७ बर्षको औसत आयु भन्नुको अर्थ अनुभव नभएको भन्ने त होइन । यहाँ डाइनामिक टिम छ । त्यो भएकाले अब यहाँको टिमको क्षमता बृद्धिमा म धेरै जुटेको छु । किनभने मलाई मेरो टीमसँग विश्वास छ। म सबैसँग सकारात्मक छु, त्यसैले सबैले राम्रो गर्छन् भन्ने मेरो विश्वास छ । यहाँबाट ‘ग्रुम’ हुन सकेन भने मात्रै म अरुको खोजी गर्छु।
अर्कोतर्फ ‘क्वालिटी मेनपावर’ को अभाव बैंकिङ क्षेत्रमै छ । पछिल्लो दुई बर्षमा ४ सयजति शाखा खुले । करीब २२ सय कर्मचारी थपिए । अनुभवी कर्मचारी तानतुन पारेर ब्यवस्थापन भयो । बाँकी सबै अनुहार ‘ब्रान्ड न्यू’ ल्याउनु पर्यो । त्यसैले प्राविधिक ज्ञानको अभाव सबैतिर नै छ । हामीले नयाँ अनुहारहरुलाई ‘ग्रुम’ गर्ने हो । अलिकति गल्ति भयो भने त्यसको असर के हुन्छ भन्ने तल्लो तहमा ज्ञान हुँदैन । तर त्यसको ठूलो असर गरिरहेको हुन्छ । कतिपय अवस्थामा जेल जानु पर्ने पनि हुनसक्छ । त्यसैले सिकाउनु पर्छ । यहाँ त्यो वातावरण छ । सनराइज म नहुँदा पनि राम्रो चलेकै थियो । म आएपछि पनि चल्छ । मेरो प्रयास भनेको अझ राम्रोसँग अगाडि लैजाने भन्ने हो ।
सिइओको रुपमा यहाँ आउँदै गर्दा सञ्चालक समितिसँग केही प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो होला । पुरानै ढर्राबाट चल्दा त त्यो प्रतिबद्धता पुरा होला ?
हो पक्कै पनि मैले केही प्रतिबद्धताहरु गरेको छु । बैंकको वार्षिक बजेटरी लक्ष्यहरु छन् । ती लक्ष्यहरुलाई मैले स्वीकारेको छु । त्यसका लागि मैले काम गर्नुपर्ने छ। त्यो म पक्का गर्छु । १० वटा उत्कृष्ट बैंकहरुमा यसलाई कसरी पार्न सकिन्छ भनेर काम गरिरहेको छु । कति सूचकहरु १६/१७ होला, कतिमा १०/११ छ । कतिमा २२/२३ छ । औसत निकाल्दा १८/१९ होला । यसलाई १० भित्र पार्नुपर्ने छ, त्यो सजिलो काम होइन। किनभने सबै जना चुनौती लिएर दौडिरहेका छन् । मैले अलिकति स्पिड बढाउनु पर्ने छ अरूको दाँजोमा।
पहिलो त्रैमासिकले अलिकति दौडिन खोजेको हो कि जस्तो पनि देखियो हैन ?
दौडिएकै त नभनौं तर हामी त्यो दिशामा अगाडि बढ्न खोजेका छौं । नाफाका हिसाबले त्यो देखिएला पनि । ब्यापार बिस्तारका हिसाबमा भने म चै एकदमै सजग छु । किनभने बैंक हो यसलाई १०० वर्षसम्म त मूल्याङ्कन गर्न सकिँदैन। यो त हजारौं वर्ष चल्ने कुरा हो ।
हरेक वर्ष प्रतिफल चाहिन्छ भने सामान बेच्नु पर्छ । आम्दानी हुन्छ । २० वर्षपछि प्रतिफल चाहिन्छ भने रुख रोप्नु पर्छ, पछि फल लाग्छ । काठ बेच्न सकिन्छ । सयौं वर्षको प्रतिफल चाहिन्छ, दिगो विकास गर्ने हो भने बैंक खोल्ने हो । यो चिनियाँ उखान एकदमै सान्दर्भिक छ। त्यसैले उ पहिलो भयो, अर्को हुन लाग्यो भनेर लाग्नु हुँदैन । त्यो त म्याराथन भइहाल्यो नि । त्यसैले त्यतातिर लाग्नु हुँदैन । बैंकलाई दीगो रुपमा चलाउनु पर्छ । मभन्दा पछि आएको बैंकले जित्यो भनेर त्यसको चिन्ता म लिन्न। कसरी बलियो बन्ने भन्नेतिर मात्र लाग्छु ।
१२ वर्षदेखि बैंक स्थिर छ। कहिँ न कहीँ रीफर्म नपुगेको हो कि । मनको सन्तोषका लागि पो हामी दौडमा नलाग्ने भन्नु भएको हो कि ?
बैंकको आफ्नो रणनीतिक लक्ष्य हुन्छ । बजारको बृद्धिसँग पनि हिँड्नु पर्छ । बजार चाहन्छ बैंक १२ वर्ष भयो अब त दौडनु पर्छ । तर दौड्नु अघि बजारको अवस्था के छ ? कस्ता कस्ता खाल्डा र पहाड अगाडि होलान् ? तीसँग कसरी जुध्ने होला भनेर हेर्नुपर्छ । हामीले सँधै क्रमिक बृद्धि गरिरहेका छौं । त्यसमा हामी सँधै गरिरहन्छौं । बैंकहरु त थुप्रै खुले, तर बन्द पनि त भए नी । हामीले हजारौं वर्ष चल्नेगरी बैंकिङ गर्नुपर्छ। त्यसैले बजारलाई हेरेर सनराइज बैंक अगाडि बढ्छ । पछाडि आएका बैंकले जिते भनेर म चिन्ता लिँदिन।
उछिने भनेर चिन्ता लिन्न भन्नुहुन्छ। तर ब्यापार बिस्तार गर्नकै लागि नियामकीय न्यूनतम प्रावधानभन्दा बढि ऋणपत्र जारी गर्दै हुनुहुन्छ?
अरुले उछिने भनेर चिन्ता पो नलिने त, ब्यापार गर्न छाड्ने भनेको होइन । ब्यापार गर्ने भनेरै त तीन अर्बको ऋणपत्र ल्याएका छौं। नेपालमा भएको हरेक घरमा हाम्रो बैंकको साइनबोर्ड हुनुपर्छ भन्ने हिसाबले म दौडिन्न भन्न खोजेको हो । हामीसँग ब्यापार गर्ने पर्याप्त ठाउँ छन्, तर हामी आक्रामक हुँदैनौं।
२८ वटा बैंकको भीडमा कता कता हराएजस्तो लाग्दैन ?
लाग्दैन । भीडमा उभिँदा देखिनु पर्छ, त्यो हामी देखिएका छौं । हामीले ब्यापार बढाउन ऋणपत्र जारी गरेका छौं । नियामकीय प्रावधानभन्दा बढि हो । तरलता अभाव छ । ब्याज दर उच्च छ । अझै बृद्धि गर्नुपर्ने छ । यसमा अवसर नै अवसर पनि छ । त्यो अवसरलाई सनराइजले पक्रन्छ । स्रोत परिचालनका लागि नियामकबाट बाटोहरु खुला भइरहेको छ । अब बाहिरबाट पनि पैसा आउन थाल्छ। त्यसको लाभ पनि सनराइज बैंकले लिने छ ।
सनराइज भीडमा हराउने कुरै छैन, नामले नै पनि हराउँदैन । अल्वेज राइजिङ, जुन अस्ताउँदै अस्ताउँदैन। अनि कसरी हराउनु ? यही आधारमा अब बैंक अगाडि दौडिन्छ।
ब्यवस्थापनका हिसाबले सहज देखिएको छ भन्नु भयो। सञ्चालक समितिका हिसाबले कत्तिको सहज छ ?
सञ्चालक समितिका हिसाबले म त एकदमै सहज अवस्थामा छु । संस्थागत सुशासनका हिसाबले एकदमै सबल छ । मलाई सहज पनि छ । सुशासन हुनुपर्छ भन्नेमा बोर्डको पनि विश्वास छ । सञ्चालकहरुलाई बैंकलाई दीगो र बलियो बनाउने भन्ने मात्र चासो छ। त्यस हिसाबले पनि काम गर्न असाध्यै सहज छ । मैले ३२ बर्षसम्म सिकेका ज्ञानलाई यहाँ कार्यान्वयन गर्न पाएको छु ।
मेरो अनुभव मात्रै पनि पर्याप्त हुँदैन । त्यसबेला सञ्चालक समितिले नीतिगत रुपमा गाइड गर्छ । हाम्रो सञ्चालक समिति अनुभवी छ । हामीसँग काम गर्ने अधिकार हुन्छ । बोर्डसँग नीतिगत कुरा गर्ने अधिकार हुन्छ, त्यो आधारमा मलाई हिँड्न सजिलो भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जले नै पनि त्यो कुरालाई पहिचान गरेको छ । अनुपालन र सुशासन राम्रो भएकै कारण ‘क’ वर्गमा हामी मात्रै एउटा संस्था पर्यौं।
ऋणपत्रको ‘रेस्पोन्स’ कस्तो छ ?
राम्रो ब्याज दर भएका कारण ऋणपत्रमा कौतुहल धेरै छ । करिब करिब २ अर्बभन्दा बढि ऋणपत्र गइसकेको छ । अझै हल्लाखल्ला गर्न पुगेको छैन । हाम्रो ऋणपत्र ‘नट टु बी मिस्ड’ हो । किनभने यसले दीर्घकालिन लाभ दिन्छ । ब्याज साँवा १० प्रतिशत छ । बजारको ब्याज दरभन्दा बढि ब्याज पाइने भएकाले यसमा जानु उपयुक्त हुन्छ । बीमा कम्पनीहरुलाई त लाभैलाभ छ । उनीहरुलाई दीर्घकालिन पैसा ‘पार्क’ गर्नुपर्ने हुन्छ। उनीहरुले सवा १० प्रतिशत ब्याज पाएपछि राम्रो बोनस दर निर्धारण गर्न सक्छन् । आँखा चिम्लिएर लगानी गर्ने उपकरण हो यो ।