केराउ र आलुचिप्स भन्दै अवैध रुपमा कुखुराको मासु ल्याईँदै, तारे होटलमा बेच्ने गिरोह को हो?

बिजमाण्डू
२०७६ कात्तिक २५ गते १४:२९ | Nov 11, 2019
केराउ र आलुचिप्स भन्दै अवैध रुपमा कुखुराको मासु ल्याईँदै, तारे होटलमा बेच्ने गिरोह को हो?


Tata
GBIME
Nepal Life

काठमाडौं। राजस्व अनुसन्धान विभागले कार्तिक १९ गते थानकोटमा रेफ्रिजिरेटर जडित २ वटा ट्रकमा छड्के चेकजाँच गर्यो। चेकजाँचको क्रममा दुई ट्रकमा ठूलो परिमाणमा अवैध मासु फेला पर्यो।

भन्सार प्रज्ञापन पत्रमा केराउ र आलुचिप्स लगायत  तरकारीजन्य सामाग्री ल्याएको भनिएको ट्रकमा ब्रोइलर, हाँस र भैसीको मासु थियो। सीआर ट्रेडिङ प्रालि र दीप ज्योति प्रालिले अवैध रुपमा यो मासु ल्याएको खुलेको छ।

मासु बरामदपछि विभागले गरेको अध्ययनमा १० हजार ३ सय ७८ किलो कुखुरा, ५ सय २८ किलो हाँस र २ सय ४० किलो भैसीको मासु भएको खुल्यो। यद्यपी २ सय ४० किलो मासुको कुन जनावरको हो खुल्न बाँकी छ।

जफत गरिएको मासु खाल्डो खनेर पुर्न सुरु गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। उनका अनुसार २ सय ४० किलो मासु कुन जनावरको हो चेकजाँच गर्न प्रयोगशाला पठाइएको छ । अन्य मासु भने विभाग परिसरमै खाल्डो खनेर पुर्ने काम भैरहेको छ।

यो सँगै २ वटा फ्रिज जडित ट्रक पनि जफत गरिएको विभागले जनाएको छ। थप अनुसन्धानपछि विभागले मासु ल्याउने कम्पनी विरुद्ध जरिवाना र सजाय माग दाबीसहित अदालतमा मुद्दा दायर गर्नेछ।

व्यवसायीले नै दिएका थिए सूचना

प्रत्येक महिना ५ देखी ७ ट्रक अवैध मासु उपत्यका भित्रिदाँ व्यवसायीहरु चिन्तित बनेका थिए। यसका लागि व्यवसायीहरु आफैं सुराकीमा लागेका थिए।

अन्तत: व्यवसायीले दुई ट्रक अवैध मासुको बारेमा विभागमा जानकारी गराए। अवैध मासु कार्तिक १९ गते नै पक्राउ गरेको भ्याली कोल्डस्टोरका संचालक बाबुराजा रावलले जानकारी दिए।

उनका अनुसार अवैध मासुले बजार हिस्सा ओगट्न थालेपछि व्यवसायमा कमी आएको थियो। ‘हामी मासुमा कुखुराको मासुमा करिब आत्मानिर्भर छौ। युवा वर्गको ठूलो जमातले पनि यो क्षेत्रमा लगानी गरिरहेका छन्,’ उनले भने, ‘तर यसरी अवैध रुपमा अस्वस्थकर  मासु भित्रिन थाल्यो भने लगानी सहित उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर गर्छ।‘

स्टार होटलका लागि ल्याइन्छ अवैध मासु

भारतबाट तस्कर गरी ल्याइएको मासु उपत्यकाको स्टार होटल र ब्यांकेटमा उपयोग गरिने व्यवसायीहरुले बताएका छन्। भारतबाट ल्याइने मासु प्रतिकिलो २ सय ५० रुपैयाँमा ल्याएर बेच्न सकिन्छ।

भारतको गुजरातबाट सर्लाही हुँदै भित्रिएको सो ट्रक भन्सार प्रज्ञापन पत्रमा आलु चिप्स र केराउ भनी उल्लेख छ। सो प्रज्ञापन अनुसार आयातकर्ताले १० प्रतिशतमात्र भन्सार महसुल तिरे पुग्छ। नेपालमा मासु भित्र्याउनका लागि क्वरेन्टाइन रिर्पोट आवश्यक पर्छ भने ३० प्रतिशत भन्सार तिर्नुपर्छ।