नेपालमा पहिलोपटक रसभरी भित्र्याउने महाराजजीका नाती गोपाल, भन्छन् 'मिठाइमा भविष्य छैन'  




 


काठमाडौं। गोपाल 'शर्मा' जोगाइ रिजेन्सी ब्यांकेट, रिजेन्सी बुटिक होटल र गणगौर फुड्स एण्ड सर्भिसेसका संचालक हुन्। १० वर्ष अघिसम्म अमृत भण्डारबाट मिठाइ बेच्ने गरेका गोपालले त्यसयता गणगौर मिठाइ संचालन गरिरहेका छन्। 

उनको बाजेको पालादेखि नै मिठाइ व्यवसाय सुरु भएको थियो। उनले अन्य व्यवसायसँगै बाबु बाजेको व्यवसायलाई निरन्तरता दिएका हुन्।  
पछिल्लो समय मिठाइमा हुने गरेका बिभिन्न अखाद्य वस्तुको प्रयोग र मिसावटका कारण उपभोक्ता मारमा परेको उनको बुझाई छ।

Tata
Jagdamba Steel
Sanima Bank

हजुरवुवाको पालामा मिठाइमा मिसावट गर्ने कुरा कल्पनाबाहिरको भएको स्मरण गर्दै उनले हालसम्म आफ्नो मिठाइ पसलमा हरियाणाबाट ल्याएको घ्यू प्रयोग गर्ने गरेको बताए।

बुवाबाजेको पालामा घ्यूमा समेत मिसावट भएमा  ज्यानमाराकै अभियोगमा कारवाही हुन्थ्यो रे। त्यसैले उनका हजुरबा राम्रो घ्यू लिन आफैं भारत जाने गरेको गोपाललाई सम्झना छ। त्यसबेला नेपालमा बनस्पति घ्यू उत्पादन  नै हुँदैनथ्यो। धेरै पछि मात्र शान्ति डाल्डा उत्पादन भएको थियो। 

बि सं २०१७ सालमा गोपाल सात वर्षकै उमेरदेखि  मामा विएल शर्मासँग अमृत भण्डारमा काम गर्न सुरु गरेका थिए। उनीहरु पुस्तैनी शाकाहारी। बुवाको पालासम्म गोलभेडा, लसुन, प्याज  कसैले छुँदैनथे।  अहिले भने उनीहरु लसुन, प्याज, गोलभेडा खान थालेका छन्।

शाकाहारीलाई बाहिर खान अहिले पनि धेरैपटक सोच्नुपर्छ।  आफू अहिले पनि कुनै ननभेज रेष्टुरेन्ट जाँदा कालो कफीमात्र पिएर फर्कने गरेको बताए। त्यसैले पनि शाकाहारी र मिठाइ पारखीहरुकालागि सफा र ढुक्क भएर खाने थलोको रुपमा गणगौर स्थापना गरेको उनको भनाई छ। 

उनले २५ वर्ष निर्यात व्यवसाय गरे। अरु व्यवसाय जारी नै रहँदा पनि उनको मिठाइ पसलप्रति झुकाव रहिरह्यो।  मिठाई व्यवसाय ५० प्रतिशतले घटेका कारण यो व्यवसाय दिगो नदेखिएको उनको बुझाइ छ। 'मार्केट घटिसक्यो। कसैले मलाई पाँच करोड लगानीमा ठूलो मिठाई पसल खोल्ने प्रस्ताव ल्याएपनि म खोल्दिन। अब मिठाई व्यवसायमा थप लगानी गर्नु ठिक छैन। जे छ त्यसैलाई इमानदार भएर संचालन गर्ने हो।'   

गोपालका हजुरबुवालाई नेपालमा पहिलोपटक रसभरी भित्र्याउने श्रेय जान्छ। उनले पहिलोपटक भारतबाट रसभरी ल्याएर श्री ३ धिर शमशेरलाई चखाएका रहेछन्। पहिलोपटक रसभरी मुखमा  हालेपछि जुद्ध शमशेरले जंगिएर उनलाई भनेछन्- 'तिमीले देश डुबाउने काम गर्‍यौ, ए महाराज जी यो कस्तो चिज ल्यायौ? यो बजारमा आयो भने मेरो जनताले चामल नै खान बिर्सिएर यही मात्र खान थाल्छन्।' 

हतपत गोपालका हजुरबुवाले राणाहरुसँग माफी मागेछन्। सबै जनताले मिठाइ खाए भने चामलको पैसा कहाँबाट ल्याउँछन् भन्दै राणाहरुले त्यसबेला १८ वटा दरबारमा मात्र रसभरी बेच्न सक्ने निर्णय गरिदिएका थिए रे।  

त्यो बेलामा मिठाइ बनाउने बेलामा दरबारबाटै एकजना मान्छे हेर्न खटाइन्थ्यो रे। थोरैमात्र तलमाथि वा मिसावट भएको खबर दरबार पुग्नासाथ तत्काल दरबार हाजिर हुनुपर्ने। निकै कडाइका साथ शुद्ध मिठाइ उत्पादन हुने गरेको हजुरबुवाले उनलाई सुनाउँथे। 

अरु मिठाइ आउनु पहिले नेपालमा जलेबी, हलुवा, पुरी र स्वारी मात्रै मिठाइका रुपमा प्रचलित थिए। जलेबीमा मह प्रयोग गरिन्थ्यो। कराइ का कराइ मह हुन्थ्यो। जलेबी बनाइसकेपछि महमा डुबाइन्थ्यो। अहिलेको जस्तो मिठाइमा रङ हाल्ने त कल्पना भन्दा परको कुरा। त्यसैले त त्यसबेलाको मिठाइ ओरिजिनल हुन्थ्यो। 

वि.सं. १९३५ सालमा इन्द्रचोक स्थित चोखाँछे गल्लीमा अमृत भण्डार संचालनमा आएको थियो। त्यो पसलमा आलुदम , फुरुङदाना, जिलेबी र हलुवाको लागि प्रसिद्ध थियो। गोपालका हजुरबुवा घड्सीरामजी (महाराज जी)ले संचालन गर्थे त्यो पसल। उनी महाराजजीका नामले चर्चित थिए। 

त्यतिखेर कुनै पनि परिकारको सुरुवात गर्दा सुरुमा राणाहरुको दरबारमा पुर्‍याइने गरिन्थ्यो। नयाँ केहि परिकार बनाइयो भने सरकार मैले यो बनाएको छु भनेर लग्ने गरिन्थ्यो। वि.सं १९४०मा हजुरबुवाले रसभरी बनाएर दरबार लगेका थिए रे। उनले भने-'त्यति खेर प्लास्टिकको चलन थिएन। मेरा बाजेले हाँडीमा रसभरी राखेर एक जना राणाजीको दरबारमा लग्नुभएको रहेछ।' 

उनीहरुले धेरै मिठो परिकार जनताको मुखमा नपरोस् भनेर  झण्डै  एक वर्षसम्म रसभरी विक्रीमा रोक लगाइदिएका थिए रे।पछि सामान्य नागरिकलाई एक वा दुई पिसभन्दा बढी विक्री गर्न नपाइने नियम बनाइदिएछन्।दिनको सय पीस बनाउँदा ५० पिस विक्री गर्ने र ५० पिस दरबारमै जाने नियम पनि बनेछ। 

रसभरीको नामाकरण यसरी भयो 

जब राणाहरुको दरबारमा रसभरी पुग्यो। सबैतिर यसबारे सोधीखोजी बढ्यो। यो मिठाइको नाम के हो महाराज? गोपालका हजुरबुवालाई राणाहरुले  बोलाएर सोधेछन्।  ज्यान बक्सिस दिने शर्तमा मात्र म यसको नाम भन्छु भन्दै उनले राणाहरुसँग बाचा बाँधेछन्। राणाको अंगरक्षक को कानमा खुसुक्क 'यो मिठाईको नाम रसगुल्ला' हो भनिदिएछन्। अंगरक्षक बेस्सरी हाँस्न थालेपछि राणाहरुले गोपालका हजुरबुवालाई बेस्सरी थर्काएछन्। तिमीलाई यति धेरै इज्जत दिएर दरबारमा बोलाएको जे पायो त्यही नाम भन्ने भनेर गाली गरेछन्। 

गोपालका हजुरबुवाले -'सरकार मैले त अगाडी नै माफी मागीसकेको छु तर भारतमा यही नामले प्रसिद्ध छ यो मिठाइ भनेछन्।'
राणाले यसको नाम परिवर्तन गर्ने निर्णय गरेछन्। रसले भरिभराउ भएकै कारण यसको नाम रसभरा राखिएछ। फेरि यो मिठाइ महिला जस्तै सुन्दर भएकाले यसलाई रसभरा होइन रसभरी भनौं भन्ने निर्णय राणाहरुको दरबारमा भएछ। भारतमा रसगुल्ला भनिने मिठाइलाई नेपालमा मात्र रसभरी भनिन्छ। हजुरबुवाले रसभरी नेपाल भित्र्याउँदा ताकाको किस्सा घरपरिवारमा धेरै पटक सुनाएका थिए। सानैदेखि सुनेकाले गोपालले पनि रसभरीको कथा कहिल्यै बिर्सँदैनन्। 

उनले भने 'भारतमा केसी दासको मिठाइ पसल दुई सय वर्ष अगाडीदेखि संचालित छ। केसी दासले नै मेरो बाजेलाई रसभरी बनाउने मान्छे दिएको थियो। दुध नेपालमै पाइन्छ। भारतबाट चिनी र मिठाइ बनाउने मिस्त्री लैजानुस् भनेर उनीहरुले नै रसभरीको मेनु नेपालमा ल्याउन सघाएका हुन्।' 

सुरुमा भारतीय मिस्त्रीले बनाएपनि बिस्तारै नेपालमै कामदारलाई उनीहरुले रसभरी बनाउन सिकाएका रहेछन्। हरेक दिन दुई हजार पिस रसभरी उत्पादन गर्न थालिएछ। 

मिठाइलेभन्दा सुगरको डरले जित्यो 

गोपालले थाहा पाउँदासम्म एक मोहोरको छ वटा रसभरी आउँथ्यो। उनकै हातले दिनको दुई हजारवटासम्म रसभरी बेचे। 
रसभरी बनाउनका लागि दुध भेडासिंहमै पाइन्थ्यो। उनी भेडासिंह पुगेर आफ्नै सामु दुध दुहुन लगाएर पसलमा ल्याउँथे। किसानले भान्जा बाबु आउनुभयो भनेर गोपालको खुट्टा ढोगेर एक गिलास ताजा दुध पिलाएर पठाएको उनी सम्झन्छन्।  त्यति खेर निकै मेलमिलापको वातावरण थियो। 

उतिबेला 'मिठाइ खायोभने बोली मिठो हुन्छ' भन्ने भनाई प्रचलित थियो। खानपनि मानिस नडराई मिठाइ खान्थे। हरेक दिन मिठाइ बिक्थ्यो। अब त मिठाइले सुगर हुन्छ भन्ने छ। मैरै बुवाले एउटा बसाईँमा एक किलो पेडा खानुहुन्थ्यो। त्यसपछि एक लिटर दुध। उहाँ टनको हिसाबमा मिठाई खानुहुन्थ्यो उहाँलाई कहिल्यै सुगर भएन।

'अहिले त मिठाईमा सबैले रङ हाल्छन्। अनुगमन पनि फितलो छ। बजार अनुगमन गर्‍यो चार दिन पछि उही दोहोरिन्छ। अनि उपभोक्ताले कोमाथि विश्वास गरेर मिठाइ किन्ने। त्यही भएर पनि बजार घटेको हो।'- उनी मिठाइप्रति उपभोक्तामा उत्पन्न डरले ब्यवसाय घटेकोमा चिन्तित छन्। 


Share this Story

   

नेपालमा पहिलोपटक रसभरी भित्र्याउने महाराजजीका नाती गोपाल, भन्छन् 'मिठाइमा भविष्य छैन'   को लागी ३ प्रतिक्रिया(हरु)

Deepak Upadhyay[ 2019-10-14 03:11:13 ]
India ko thulai sahar Jaipur ma 200/- Kg ma Laddu Paunu hunchha, Ajhai Delhi ko Karol Bagh ma Bikanerwala jasto prasiddha pasal mai pani Laddu 250/- Kg ma painchha. Nepal ma ta nam chaleka pasal haru le Paneer pani 1200/- kg ma bechi rahe ka chhan, jun Karol Bagh ma 260/- kg ma jati pani painchha. Nepal ma loottantra chha, byapar haina.

   हालसम्म ९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Raju[ 2019-10-14 11:02:04 ]
Shankar sathi jiu..india ma kaha pauncha 250 kilo ma laddu bhani dinos na hai.. ma asti india ma thiye..aram le sabai bhanda sasto mithai 450 IC bata suru huncha. plus thulo market ra sano market ko mulya compare garna mildaina..artha sasthra hernu parla.

   हालसम्म ६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Koirala Shanker[ 2019-10-13 04:21:02 ]
गफै त हो नि, जे लेखे पनि हुने। नेपालमा मिठाई को भविष्य न भए कहाँ होला, भारतमा 100 -150 रु किलोमा पाइने जुलेबी यहाँ 900 रु किलोमा बेचिएको छ, 250 रु किलो मा पाइने लड्डु 1200 रु मा बेचिएर मालामाल भएका छौ, अझै कति लुट्न खोज्या हो यो बजिया ले।

   हालसम्म ११ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell