दक्षिण एशियामा कसरी आर्थिक रुपमा सबैलाई उछिन्दैछ बंगलादेशले? यस्तो छ आर्थिक विकासको कथा




बंगलादेशभन्दा पाकिस्तान पाँच गुणा ठूलो छ तर उसँग बंगलादेशको तुलनामा विदेशी मुद्राको सञ्चिति करिब पाँच गुणा थोरै छ। पाकिस्तानसँग जम्मा ८ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति छ। जबकि बंगलादेशसँग करिब ३५ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा छ।

त्यसैगरी बंगलादेशको आर्थिक वृद्धिदर नै करिब ८ प्रतिशत छ। छिमेकी भारतकै अर्थतन्त्रको वृद्धिदर भने खस्केर ५ प्रतिशत हाराहारीमा झरेको छ। उता अर्को दक्षिण एशियाली राष्ट्र पाकिस्तानको अर्थतन्त्र पनि ५–६ प्रतिशतको बीचमा छ।

Tata
Jagdamba Steel

यसैगरी विदेशी ऋणको सवालमा बंगलादेशमा प्रति व्यक्ति ४३४ अमेरिकी डलर छ भने पाकिस्तानमा प्रति व्यक्ति विदेशी ऋण ९७४ अमेरिकी डलर छ। यिनै कारणले अहिले बंगलादेशलाई दक्षिण एशियाली नयाँ बाघको उपमा दिन थालिएदै छ।

वर्ल्ड इकोनोमिक फोरमका अनुसार बंगलादेशका १२० भन्दा धेरै कम्पनीहरुले विश्वभरिका ३५ देशमा एक अर्ब अमेरिकी डलरभन्दा बढीको सूचना तथा प्रविधिसम्बन्धी सेवा निर्यात गरिरहेका छन्।

बंगलादेशी कम्पनीहरुको यो सूचना तथा प्रविधिसम्बन्धी सेवा निर्यात सन् २०२१ सम्ममा १ अर्ब अमेरिकी डलरबाट बढेर ५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसीना वाजेदले सन् २००९ मा डिजिटल बंगलादेश कार्यक्रम शुरु गरेकी थिइन्। जसअन्तर्गत सरकारी सेवाहरुलाई डिजिटलाइज्ड मात्र गरिएन, सूचना प्रविधि उद्योगको विस्तार समेत गरियो।

बंगलादेशी प्रधानमन्त्री वाजेद आज अक्टोबर ३ तारिखमा भारतको चारदिने भ्रमण शुरु गर्दै छिन्। बंगलादेशले अहिले भने भारतको वर्चस्व रहेको त्यस्ता आर्थिक विकासका क्षेत्रमा समेत भारतलाई कडा टक्कर दिन थालेको छ।

बंगलादेश भारतको मित्र कि प्रतिस्पर्धी?

बंगलादेश र पाकिस्तानबीच सुमधुर द्विपक्षीय सम्बन्ध छैन तर भारतसँग भने निकै मैत्रीपूर्ण सम्बन्ध छ। बंगलादेशकी प्रधानमन्त्री वाजेदलाई भारत भ्रमणमा निस्कनुअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले टेलिफोनमा भारत नियन्त्रित कश्मीरबारे कुराकानी गरे।

इमरान यतिबेला जम्मू–कश्मीरको मामिलामा सबै मुस्लिम राष्ट्रहरुलाई एकै ठाउँमा गोलबन्द गर्ने प्रयास गरिरहेका छन्। भारतले कश्मीरमा लागू भारतीय संविधानको अनुच्छेद ३७० हटाएकोमा बंगलादेशले न त सार्वजनिक रुपमा समर्थन नै गरेको छ न विरोध नै।

तर पनि बंगलादेशकी प्रधानमन्त्री वाजेदले भारत भ्रमणमा रहँदा कश्मीर मामिलाबारे केही न केही बोल्ने अनुमान लगाइएको छ।
उता अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बंगलादेशमा अहिले रहेको १८० अर्ब अमेरिकी डलर बराबरको अर्थ व्यवस्था वृद्धि भएर सन् २०२१ सम्ममा ३२२ अर्ब अमेरिकी डलर बराबर पुग्ने आकलन गरेको छ। यसको सोझो अर्थ हो– अहिलेकै मितिमा पनि एउटा बंगलादेशी एउटा पाकिस्तानीभन्दा निकै धनी छ।

अचम्भित पार्ने अर्को तथ्य के पनि छ भने सन् १९५१ को जनगणना अनुसार तत्कालीन पूर्वी पाकिस्तान अर्थात् अहिलेको बंगलादेशको कुल जनसंख्या ४ करोड २० लाख मात्र थियो भने पश्चिमी पाकिस्तान अर्थात् अहिलेको पाकिस्तानको कुल जनसंख्या ३ करोड ३७ लाख। यतिबेला भने बंगलादेशको कुल जनसंख्या साढे १६ करोड पुगेको छ भने पाकिस्तानको २० करोड छ।

बंगलादेशले जनसंख्या वृद्धिदर पनि नियन्त्रण गरेको छ तर पाकिस्तान र भारतले गर्न सकेका छैनन्। अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका अनुसार अनलाइन काम गर्ने कर्मचारीको संख्याका आधारमा बंगलादेश विश्वको दोस्रो ठूलो देश हो।

एशियाली विकास बैंक (एडिबी)का अनुसार अहिले बंगलादेशले सूचना प्रविधिलगायत आर्थिक विकासका हरेक क्षेत्रमा दक्षिण एशियामा कायम रहेको भारतीय वर्चस्वलाई चुनौती दिइरहेको छ।

बंगलादेशको अर्थतन्त्र शिखरमा

बंगलादेशको अर्थतन्त्रको उच्च वृद्धि हुनुमा औद्योगिक क्षेत्रको विकास र वृद्धिदर औधी महत्वपूर्ण छ। अर्कोतर्फ भारतीय अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी छ र औद्योगिक क्षेत्रको वृद्धिदर लगभग नकारात्मक छ। भारतको त्यति विशाल जनसंख्याको ठूलो हिस्सा अझै पनि खेतिपातीमा निर्भर छ, जबकि कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषिको योगदान निरन्तर ओरालो लागेको छ।

सन् १९७४ मा सामना गर्नु परेको भयावह अनिकालपछि १६ करोड ६० लाखभन्दा बढी जनसंख्या रहेको बंगलादेश खाद्य उत्पादनमा आत्मनिर्भर भैसकेको छ। फलस्वरुप सन् २००९ पछि बंगलादेशको प्रति व्यक्ति आय तीन गुणा बढ्यो।

यस वर्ष बंगलादेशको प्रति व्यक्ति आय १ हजार ७५० अमेरिकी डलर पुगेको छ। बंगलादेशको जनसंख्याको ठूलो हिस्सा विपन्न जीवनयापन गरिरहेको छ। तर विश्व बैंकको तथ्यांक अनुसार पहिले १९ प्रतिशत जनसंख्याले दैनिक १ डलर २५ सेन्टमा गुजारा गरिरहेको थियो भने अहिले त्यसरी जीवन गुजारा गर्ने जनसंख्या ९ प्रतिशतमा झरेको छ।

भारतीयको औसत आयु अहिले ६८ वर्ष र पाकिस्तानीको औसत आयु ६६ वर्षभन्दा केही बढी छ। यसको तुलनामा बंगलादेशीको औसत आयु ७२ वर्ष पुगिसकेको छ। विश्व बैंकको तथ्यांकअनुसार सन् २०१७ मा जति बंगलादेशीहरुको बैंक खाता थियो, उनीहरुमध्ये ३४.१ प्रतिशतले डिजिटल कारोबार गरेका थिए, जबकि दक्षिण एशियालमा डिजिटल कारोबार गर्नेको औसत जम्माजम्मी २७.८ प्रतिशत मात्र छ।

बंगलादेशमा उत्पादन हुने कपडाको निर्यात १५–१७ प्रतिशतको हाराहारीमा वार्षिक बढिरहेको छ। सन् २०१८ को जुन महिनासम्म उसको कपडा निर्यात बढेर ३६.७ अर्ब अमेरिकी डलर पुगेको छ।

बंगलादेशी प्रधानमन्त्री वाजेदले सन् २०१९ सम्ममा कपडाको निर्यात बढाएर ३९ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य लिएकी छिन्। र, सन् २०२१ मा बंगलादेशले आफ्नो स्थापनाको ५० औं दिवस मनाउँदा ५० अर्ब अमेरिकी डलर बराबरको कपडा निर्यात गर्ने योजनामा उनी छिन्।

मेहेनती बंगलादेशीहरु

बंगलादेशको अर्थतन्त्रमा विदेशमा काम गर्ने करिब २५ लाख बंगलादेशीहरुको पनि उत्तिकै योगदान छ। विदेशमा उनीहरुले आर्जन गरेर स्वदेश पठाउने रकमले बंगलादेशको अर्थतन्त्रमा वार्षिक १८ प्रतिशत वृद्धि भइरहेको छ। सन् २०१८ मा उनीहरुले वैदेशिक रोजगारीबाट बंगलादेशमा १५ अर्ब अमेरिकी डलर रेमिट्यान्स पठाए।

प्रधानमन्त्री वाजेदलाई अर्थव्यवस्थाको वृद्धिदर दिगो बनाउन उद्योग र कलकारखाना बढाउनु पर्छ भन्ने राम्रो हेक्का छ। अब भने बंगलादेश सस्तो वस्तु उत्पादन हबको ट्याग हटाएर त्यसभन्दा माथि उठ्न चाहन्छ र यो वाह्य लगानी तथा विदेशी सहयताबाट मात्र सम्भव छ।
सन् २००९ मा प्रधानमन्त्री वाजेदले डिजिटल बंगलादेश अभियान शुरु गरेर प्रविधिको विस्तारलाई प्रोत्साहन गरेकी थिइन्। बंगलादेशको राजधानी ढाकामा अहिले आइटीको क्षेत्रमा विस्तार भइरहेको छ। ढाकामा रहेका कम्पनीका सिइओहरु भारतीय आइटी क्षेत्रसँग सिकेका सिपका आधारमा भारतसँग नै प्रतिस्पर्धा गर्न चाहन्छन्।

भारत औषधि उत्पादनमा निकै अगाडि छ र बंगलादेश आफ्नो यो छिमेकीलाई औषधि उत्पादनमा पनि उछिन्न चाहन्छ। वाजेद सरकार बंगलादेशभरि सय वटा विशेष आर्थिक क्षेत्रको सञ्जाल विकास गर्न चाहन्छ। तीमध्ये ११ वटा विशेष आर्थिक क्षेत्र तयार भइसकेका छन् भने ७० वटाको धमाधम निर्माण भइरहेको छ।

आकार र क्षेत्रफलका आधारमा बंगलादेश सानो भए पनि यसको जनसंख्या अत्यधिक छ। यसको जनघनत्व निकै बढी छ।
तर बंगलादेशले आर्थिक क्षेत्रमा गतिलो विकास गर्नुको अर्थ त्यहाँ कुनै चुनौती नै छैनन् भन्ने होइन। बंगलादेशको राजनीतिमा प्रमुख दुई राजनीतिक दलबीच अत्यन्त तीव्र प्रतिद्वन्द्वीता रहेको छ। बंगलादेशको राजनीतिमा दुई महिलाहरु– शेख हसीना वाजेद र पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको प्रभुत्व रहँदै आएको छ।

तत्कालीन पूर्वी पाकिस्तान रहेका बेला वाजेद र खालिदाका परिवारले पाकिस्तानबाट स्वतन्त्र बनाएर बंगलादेशको स्थापना गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। बितेका ३० वर्षयता दुवै महिला नेत्रीहरुले पालैपालो सरकार चलाएका छन्। यति मात्र होइन, दुवै जनाले जेलयात्रा पनि गरेका छन्।

तयारी पोशाक उद्योग

बंगलादेशको अर्थतन्त्रको वृद्धिमा तयारी पोशाक उद्योगको सबैभन्दा ठूलो भूमिका रहेको मानिन्छ। तयारी पोशाक उद्योगले बंगलादेशीहरुलाई सबैभन्दा बढी रोजगारी दिएको छ। तयारी पोशाक उद्योगले ४० लाख ५० हजार बंगलादेशीहरुलाई रोजगारी उपलब्ध गराएको छ।

सन् २०१८ मा बंगलादेशले गरेको कुल निर्यातमध्ये तयारी पोशाकको हिस्सा ८० प्रतिशत थियो। तर बंगलादेशको तयारी पोशाक उद्योगका लागि सन् २०१३ मा भएको राना प्लाजा दुर्घटना एउटा ठूलो धक्का थियो।

तयारी पोशाकको कारखाना रहेको उक्त बहुतले भवन भत्कँदा १ हजार १३० जना कामदारको मृत्यु भएको थियो। यसपछि बंगलादेशबाट तयारी पोशाक आयात गर्ने कैयौं पोशाकका ब्रान्डेड अन्तर्राष्ट्रिय कम्पनीहरुले बंगलादेशलाई तयारी पोशाक उद्योगमा अनेकौं सुधार गर्न बाध्य बनाए।

चीनले सन् २०१८ मा बंगलादेशको ढाका स्टक एक्सचेन्जको २५ प्रतिशत शेयर किन्यो। भारतले पनि ढाका स्टक एक्सचेन्जको शेयर किन्न खोजेको भए पनि चीनले भारतको भन्दा बढी मोलमा शेयर किनेको थियो। त्यसमाथि चीनसँग सबैभन्दा धेरै हातहतियार किन्ने पनि हो बंगलादेश। प्रधानमन्त्री वाजेद पनि दक्षिण एशियाली क्षेत्रमा चीनको भूमिका विस्तार भइरहेको भन्ने भनाइमा सहमति जनाउँछिन्।

बंगलादेश अर्थतन्त्र मात्र नभएर अन्य कैयौं मामिलामा पाकिस्तानभन्दा निकै अगाडि पुगिसकेको छ। यति मात्र होइन, अहिले बंगलादेशले भारतलाई समेत उछिनेर अघि जाने प्रयासमा छ। बाल मृत्युदर, लैंगिक समानता र औसत आयुका मामिलामा बंगलादेशले भारतलाई समेत पछाडि पारिसकेको छ।

संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार सन् २०१३ मा बंगलादेशको प्रति व्यक्ति आय ९१४ अमेरिकी डलर थियो जुन सन् २०१६ मा ३९ प्रतिशतभन्दा बढीले वृद्धि भएर १ हजार ३५५ अमेरिकी डलर पुग्यो। यही अवधिमा भारतको प्रति व्यक्ति आय भने जम्मा १३.८० प्रतिशतल वृद्धि भएर १ हजार ७०६ अमेरिकी डलर पुगेको थियो।

उता पाकिस्तानमा पनि यही अवधिमा जम्मा २०.६२ प्रतिशतले वृद्धि भएर प्रति व्यक्ति आय १ हजार ४६२ अमेरिकी डलर पुग्यो। के भनिँदैछ भने यदि बंगलादेशले अहिलेकै दरमा आर्थिक विकास गरि रह्यो भने सन् २०२० मा प्रति व्यक्ति आयमा समेत उसले भारतलाई समेत पछाडि पार्नेछ।

औषधि उत्पादनमा अग्रणी

औषधि उत्पादनमा विश्वभरि नै भारतको नाम अग्र पंक्तिमा आउँछ। तर अहिले बंगलादेशले औषधि उत्पादनका क्षेत्रमा समेत भारतलाई चुनौती दिइरहेको छ। अल्पविकसित देशकै दर्जामा रहेको बंगलादेशले पेटेन्टको नियममा पाएको छुटका कारणले पनि उसलाई औषधि उत्पादनमा अघि बढ्न सहज भएको छ।

पेटेन्टमा पाएको छुटकै कारण बंगलादेशले जेनेरिक औषधि उत्पादनमा भारतलाई चुनौती दिने प्रयास गरिरहेको हो। यतिबेला जेनेरिक औषधि उत्पादनमा बंगलादेश विश्वकै सबैभन्दा ठूलो दोस्रो उत्पादक भइसकेको छ। अहिले उसले विश्वका ६० वटा देशमा औषधि निर्यात गरिरहेको छ।
यति हुँदाहुँदै पनि खराब आधारभूत भौतिक संरचनाका कारणले बंगलादेश कतिपय कुराहरुमा पछि पर्ने गरेको छ। हुन त चीनले कैयौं कुराहरुमा बंगलादेशलाई ‘बिआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ्स) परियोजना अन्तर्गत सहायता गरिरहेको छ। चीनले बंगलादेशका कैयौं ठूला परियोजनाहरुमा आर्थिक सहायता पनि उपलब्ध गराइरहेको छ।

चीनले पदमा नदीमा चार अर्ब अमेरिकी डलरको लागतमा एउटा पुलसहितको रेलमार्ग निर्माण गरिरहेको छ, जसले बंगलादेशको दक्षिण–पश्चिमी र उत्तर–पूर्वी भूभागलाई जोड्नेछ। चीनले बंगलादेशलाई ३८ अर्ब अमेरिकी डलर ऋण दिने प्रतिबद्धता जनाएको छ।

कैयौं साना देशहरुलाई ठूलो रकम ऋण दिइरहेकोमा चीनको विश्वभरि नै आलोचना हुने गरेको छ। चीनले साना देशहरुलाई ठूलो रकम दिएर ऋणको पासोमा फसाइरहेको आरोप लाग्ने गरेको छ। चीनले श्रीलंका र पाकिस्तान दुवैलाई यस्तो ऋणको पासोमा पारेको विश्लेषकहरुले भन्ने गरेका छन्। तर बंगलादेशमा यस्तो आलोचनाबारे कुनै पनि चर्चा हुने गरेको छैन।


Share this Story

   

दक्षिण एशियामा कसरी आर्थिक रुपमा सबैलाई उछिन्दैछ बंगलादेशले? यस्तो छ आर्थिक विकासको कथा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell