नेपाली दशैंमा गएपछि तामाकोशीमा विदेशी कामदार थपियो, आयोजनाको काम एक दिन पनि नरोकिने

बिजमाण्डू
२०७६ असोज १४ गते १५:४७ | Oct 1, 2019
नेपाली दशैंमा गएपछि तामाकोशीमा विदेशी कामदार थपियो, आयोजनाको काम एक दिन पनि नरोकिने

Tata
GBIME
Nepal Life

काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका नेपाली कामदार दशै तिहार मनाउन हिडेपछि आयोजनाले दक्ष विदेशी कामदार भित्र्याएको छ। चालु आर्थिक वर्षभित्रै संचालनमा ल्याउनका लागि काम नरोक्न विदेशी कामदार ल्याएको हो।

आयोजनाको काम नरोक्न नेपाली विदामा गएकाले विदेशी ल्याएर काम गराइएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बिजमाण्डूलाई बताए।'नेपाली कामदारहरु दशैं तिहारमा विदामा जाने भएकाले पेनस्टक पाइप जडानकै लागि भनेर दक्ष विदेशी कामदार थप गरेका छौ। आयोजनाको काम एक दिन पनि रोक्दैनौ।' न्यौपानेले भने।

आयोजनाको निकै जटिल मानिएको ठाडो सुरुङमा धमाधम पेनस्टक पाइप जडानको काम भइरहेको छ। तल्लो ठाडो सुरुङमा ८० मिटर पाइप जडान सकिएको छ भने माथिल्लो ठाडो सुरुङमा १२ मिटरमात्रै पाइप जडान भएको छ। अहिले माथिल्लो ठाडो सुरुङमा थप पाइप जडानको लागि उपकरण लगाईरहेकोले यसै हप्ता भित्र माथिल्लो सुरुङमा पनि २० मिटर सम्म पाइप राखिसक्ने आयोजनाको दावी छ।

तल्लो ठाडो सुरुङ ३१० मिटर लामो र माथिल्लो ठाडो सुरुङ ३७२ मिटर लामो छ। गत असार १ गतेदेखि तल्लो र असार १० गतेदेखि माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सुरु गरिएको थियो। सुरुवातमा एउटा पाइप राख्न ७ घण्टा सम्म समय लागेकोमा विस्तारै पाइपको दूरी घट्दै जाँदा समय समेत थोरै लाग्ने गरेको आयोजनाले जनाएको छ।

तल्लो ठाडो सुरुङमा अव २३० मिटर मात्रै पाइप राख्न बाँकी छ। माथिल्लो ठाडो सुरुङमा भने ३६० मिटर पाइप राख्न बाँकी छ। पेनस्टक पाइप जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङले काम गर्न नसकेपछि तल्लो डाठो सुरुङमा पाइप राख्ने जिम्मा आयोजनाको लट २ को ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिईएको थियो।

माथिल्लो ठाडो सुरुङमा भने टेक्सम्याकोलेनै पाइप जडानको काम गरिरहेको छ। अहिले पनि अष्ट्रियन कम्पनी एन्ड्रिजले द्रुत गतिमा काम गरिरहँदा भारतीय कम्पनी टेक्सम्याकोले भने सन्तोषजनक काम गरेको छैन।

आयोजनाका अन्य सबै काम लगभग सकिसकेको अवस्थामा पेन स्टक पाइप जडान, वेल्डिङ र ढलानको काम मात्रै तुलनात्मक रुपमा धेरै बाँकी छ।