फिनल्याण्डको कम्पनी ग्लोवल एचएमडीसँग नोकियाको ब्राण्ड लाइसेन्स छ। यही एचएमडी कम्पनीले विभिन्न मुलुकका विभिन्न संस्थासँगको साझेदारी अहिले नोकियाका विभिन्न मोडलका मोवाइल फोन उत्पादन गर्दै आएको छ।
यसरी उत्पादन भएका मोवाइलको बजारीकरण यही एचएमडी कम्पनीले गर्छ। एचएमडी ग्लोवल अन्तर्गत दक्षिण एसिया प्रमुखका रुपमा रवि शंकर कुँवर कार्यरत छन्। १५ वर्षदेखि नोकिया र माक्रोसफ्टका लागि उत्तर भारतमा निर्देशक बनेर काम गरेका उनलाई बिजमाण्डूका वसन्तराज उप्रेतीले सोधे- ‘के नेपाली बजारमा नोकियाका ती सुनौला दिन फेरी फर्किएला ?
नोकिया मोबाइलको क्रेज नेपालमा पहिला पनि थियो र अहिले पनि छ। हाम्रो ब्राण्डमा फिचर फोनको फ्यान र फ्लोअर धेरै छन्। विगत अढाई वर्ष अघि एचएमडीले सार्वजनिक गरेको स्मार्ट फोन प्रति नेपालबाट राम्रो रेस्पोन्स आएको छ। नेपाली उपभोक्ताले सुपथ मूल्यमा उच्च गुणस्तरीय मोबाइल पाउने भएकाले समेत राम्रो रेस्पोन्स आएको हो।
हामीले विभिन्न सेग्मेन्टका सेटहरु ग्राहकको खरीद क्षमतालाई मध्यनजर गर्दै उत्पादन गरेका छौँ। भर्खरै सार्वजनिक गरेको आइफा लगायतका नयाँ मोडलका फोन नेपालमा ल्याउँदै छौँ। नोकियाको क्लास लिडिङ ६.२ र ७.२ लगायत दुईवटा एन्ड्रोइड पनि छन्। क्लासिक १०५, ११०, २२०, २७२०, ८०० लगायत पाँचवटा मोडलका फोन सार्वजनिक भएका छन्। नविन प्रविधी प्रयोग गरेर हामीले मोबाइल फोन बजारमा ल्याएका छौं। त्यसैले पनि नेपाली बजारमा हाम्रो उत्पादनले राम्रो उपस्थिति जनाउने विश्वास छ।
दक्षिण एसियामा सस्तो मूल्यका चिनियाँ मोवाइल सेटको प्रभुत्व छ। चिनियाँ मोबाइलको त्यो वर्चश्वलाई नोकियाले कसरी चुनौती दिन सक्छ ?
नोकियाको फिचर फोन टिकाउ, विश्वसनीय छ साथै रिप्लेसमेन्ट वारेन्टीका कारण यी फोन नेपाली बजारमा लोकप्रिय पनि छन्। नोकियाले जुनसुकै काम अरुभन्दा भिन्न रुपमा गर्ने प्रयास गरिरहेको छ।
यी स्मार्ट फोनमा तीन वर्षको सेक्यूरिटी छ भने दुई वर्षको ओएस(अपरेटिङ सिस्टम) अपडेट समावेस छ। अढाई वर्षदेखि उत्पादन भएका मोवाइल सिस्टम अपग्रेड भइसकेका छन् भने नयाँ उत्पादन भएका ६.२, ७.२ मोवाइल फोनमा एन्ड्रोइड १० छ। यहीँबाट नोकियाका उत्पादन र अन्य उत्पादनमा स्पष्ट भिन्नता पाउन सकिन्छ।
नोकियाले नेपाली कम्पनी टेलिटकसँग सहकार्य गर्दै छ। विक्री र बजार हिस्सामा टेलिटकसँग तपाईँहरुको कस्तो अपेक्षा छ?
मोबाइल र इलेक्ट्रोनिक्स ब्राण्डमा नेपालको अग्रणी कम्पनी टेलिटकसँगको साझेदारीका कारण नोकियाको नेपाली बजारमा उपस्थिती दह्रो हुने अपेक्षा हाम्रो छ। टेलिटकसँग मोवाइलको रिटेलिङमा एक्सपर्टिज पनि छ। यसले नोकिया ब्राण्ड नेपालमा थप बलियो हुने विश्वास हामीले लिएका छौं।
नोकियाले नेपाली बजारमा आफ्नो उपस्थिती बलियो बनाउन कस्तो रणनीति बनाएको छ?
नेपालमा बजार विस्तारका लागि नोकियासँग तीनवटा गुण छन्। पहिलो नोकिया हेरिटेज डिजाइनमा छ, दोस्रो हामी यूरोपेली ब्राण्ड हौं। यूरोपको ब्राण्ड भन्नुको अर्थ हामी गुणस्तरमा कुनै सम्झौंता गर्दैनौं। यूरोपमा उत्पादन हुने सामानको रङ, डिजाइन सबै क्लासिक हुन्छन्। तेस्रो हामी हार्डवेयर मात्र होइन सफ्टवेयरमा पनि केन्द्रित छौँ। हामीले हार्डवेयरलाई मात्र नभई सफ्टवेयरलाई पनि मुख्य प्राथमिकतामा राखेका छौँ।
नयाँ नयाँ प्रविधिका कारण विश्वबजारमा मोबाइल उत्पादकलाई चुनौती थपिएका छन्। यस्तो अवस्थामा नोकियाले कसरी रणनीति बनाउँदैछ?
प्रविधीले सेकेण्डै पिच्छे विश्वव्यापी रुपमा छलाङ मारिरहेको छ। प्रविधि विकासमा कुनै पनि रोकतोक छैन। प्रविधि विकास मानव कल्पनामा आधारित छ। सर्वसाधरणको माग अनुसार प्रविधिको प्रयोग हुन्छ।
भविष्यमा हुन सक्ने प्रविधिको मागलाई मध्यनजर गर्दै हामी खोज अध्ययन गरीरहेका हुन्छौं। सर्वसाधरणको व्यवहार, माग, आर्थिक गतिविधि, इकोसिस्टम लगायत विषयमा हामीले अध्ययन गरेर हाम्रा उत्पादनहरु तयार गर्छौं।
चिनियाँ मोवाइलको बजार विश्वव्यापी रुपमा विस्तार भएको छ। युरोपेली ब्राण्ड भएका नाताले यसको प्रभावलाई कसरी हेर्नु भएको छ?
विश्वव्यापी रुपमा हेर्दा कुनै पनि उत्पादक कम्पनीका लागि इकोनोमीक स्केल महत्वपूर्ण हुन्छ। कतिपय कम्पनीले उत्पादन गरेको मोवाइल फोन आर्थिक हिसाबले सस्तो भए पनि त्यसको गुणस्तर कमजोर हुन्छ।
सस्तो मूल्यमा लिएको फोनले कस्तो परफर्मेन्स दिन्छ भन्ने कुरा उपभोक्ताले छ महिनामा बुझ्न थाल्छन्। ती फोनको सफ्टवेयर, ब्याट्रीमा समस्या आएपछि उपभोक्ता छ महिनामा नै फेरी नयाँ फोन किन्न वाध्य हुन्छ।
युरोपेली ब्राण्ड यस्ता कुरामा सचेत हुन्छ। म आफै पनि अढाई वर्ष अगाडि सार्वजनिक भएको नोकिया ८ अहिले पनि प्रयोग गरिरहेको छु। यसको फङ्क्शन समय अनुसार अपडेट भइरहेको हुन्छ। हामीले सर्वसाधरणको ध्यानाकर्षण यही कुराबाट गर्न खोजिरहेका छौँ।
कुनै समय ‘मोवाइल फोन’ को पर्यायवाची शब्द नै ‘नोकिया’ थियो। तर विभिन्न कम्पनीको स्मार्ट फोन प्रवेश सँगै यसको बजार खस्कियो ?
यो इतिहास भैसकेको छ। हामी मोवाइल फोनको लिडर्स हौँ। हामी फेरी नोकियालाई माया गर्नेलाई नजिक ल्याउन खोजिरहेका छौँ। नोकियाले सर्वसाधरणको माया र उनीहरुको अनुभवकै कारण आफ्नो ब्राण्ड बनाएको हो। अढाई वर्षको अवधिमा हामीले फेरी पूरानै माया पाउन थालेका छौं।