चार महिनामा शेयर बजार १५६ अंकले घट्यो, अधिकांश कम्पनीको नाफा सुधारिएपनि बजार ओरालो

बिजमाण्डू
२०७६ भदौ २५ गते १५:४२ | Sep 11, 2019


काठमाडौं। चार महिनाको अवधिमा शेयर बजार १५६ अंकले घटेको छ। गत वैशाख १७ गते नेप्से सूचक १३१९.४७ अंकमा थियो।

Tata
GBIME
Nepal Life

त्यस यता लगातार घट्ने क्रममा बुधबार शेयर बजार ११६३.२१ अंकमा झरेको छ। फागुन १९ गते ११००.५८ मा झरेको शेयर बजार वैशासम्ममा २१९ अंकले सुधार भएको थियो।

बजेट, मौद्रिक नीति र कम्पनीहरुको वित्तीय विवरणले बजार सुधार गर्न टेवा पुर्याउने आँकलनसँगै सुधार भएको थियो। तर यस पटक बजेट र मौद्रिक नीतिकै अवधिमा शेयर बजार घट्यो।

लगानीकर्ताले साउनमा कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्ने र बजार सुधार हुने अपेक्षा गरेका थिए तर लाभांश घोषणा गरेकै दिन उक्त कम्पनीहरुको शेयर मूल्य घट्न पुगेको छ।

समग्र अर्थतन्त्रमै उत्साह नभएकोले यसको असर शेयर बजारमा परेको विश्लेषण गर्न थालिएको छ।

छड, सिमेन्ट लगायतका उत्पादननै बिक्री हुन नसक्दा विस्तारै विस्तारै अर्थतन्त्रमा मन्दी आएको विज्ञहरु बताउँछन्। अर्थतन्त्रमा उत्साह नभएको बताउँदै गर्दा अधिकांश कम्पनीको नाफामा भने उल्लेख्य सुधार देखिन्छ।

बुधबार पनि शेयर बजार ३.४६ अंकले गिरावट हुँदा कारोबार रकम ३४ करोड १७ लाख रुपैयाँमा सिमित छ। सोल्टी होटलको मात्रै चार करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै लक्ष्मी बैंकको एक करोड ९० लाख रुपैयाँको संस्थापक शेयर कारोबार भएको छ।

बुधबार म्युचुअल फण्डको सूचक ०.०२ अंकले सुधार देखिएपनि अन्य सबै सूचक ओरालो झरेका छन्।

सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको ४.४१ प्रतिशतले शेयर मूल्य बढेको छ भने नबिल इक्वीटी फण्डको थप एक रुपैयाँले घटेर आधार मूल्य भन्दा तल ७.५३ रुपैयाँमा कारोबार भएको छ।