गौतमबुद्ध विमानस्थल ट्रान्जिट हब बन्न सक्छ, टर्किस एयरलाइन्सका महाप्रवन्धकको अन्तर्वार्ता

बिजमाण्डू
२०७६ भदौ १७ गते १४:३६ | Sep 3, 2019

Tata
GBIME
NLIC

अब्दुल्लाह टन्जर केचेची टर्किस एयरलाइन्सका नेपाल कार्यालयका महाप्रवन्धक हुन्।यूरोपसँग सीधा उडान गर्ने एउटा मात्रै एयरलाइन्सभित्र टर्किस पर्छ। त्यो टर्किस एयरलाइन्सको व्यवसाय स्ट्रोङ बनाउनमा केचेचीको भूमिका महत्वपूर्ण छ।

टर्किसको नेपाल उडान सफल बनाउन उनी नेपालका व्यवसायिक क्षेत्र, कर्पोरेट घरानासँग घुलमिल भए।राजधानीमा हुने ठूला कर्पोरेट पार्टीमा उनी सहभागी भए।मार्केटिङमा माहिर केचेचीले त्यही पार्टीलाई व्यवसाय विस्तारका लागि समेत उपयोग पनि गरे। उनै केचेचीलाई बिजमाण्डूका वसन्तराज उप्रेतीले सोधे-‘नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईसहितको पर्यटन व्यवसायीबीचको छलफलमा हवाई इन्धन महँगो भएकाले उडाननै बन्द गर्ने चेतावनी दिनुभयो। किन?’
हामीले नेपालमा उडान थप्न चाहान्छौँ। तर दुर्भाग्यवस हवाई चर्को इन्धन शूल्कका कारण हामी फ्लाइट एक्सपान्सन गर्नै नसक्ने अवस्थामा छौँ। हाम्रो कम्पनीमा ४९ प्रतिशत हिस्सा टर्किस सरकारको छ तर हामी व्यवसायिक कम्पनीको रुपमा हाँकिरहेका छौं। नेपालकै सन्दर्भमा नेपाल वायुसेवा निगममा सरकारको शतप्रतिशत लगानी छ तर पनि त्यो व्यवसायिक रुपमै हेरिएको छ।निगमको समेत नाफा/घाटा हेरिन्छ। 

अब इन्धन शुल्क बढी भएपछि वायुसेवा कम्पनीले कसरी व्यवसायिक उडान गर्ने? नेपालमा उडान लागत अत्यन्तै महँगो छ।नेपालमा लगाइने केही शुल्क स्वीकार्य छ भने केही शुल्क अस्वीकार्य छन्।इन्धन महँगो भएपछि विश्वका कुनैपनि वायुसेवा कम्पनीले उडान गर्न सक्दैन्।इन्धन महँगो भएमा भाडा पनि महँगो पर्छ।लामो दूरीबाट सीधा उडान गर्ने कम्पनीले नेपालमै इन्धन खरीद गर्नुपर्छ।छोटो दूरीका विमान कम्पनीले सस्तो देशमा इन्धन भर्दा हुन्छ।तर हामीसँग अरु विकल्प छैन।अरु मुलुकमा सात सय ५० डलरमा पाइने इन्धन नेपालमा १ हजार ३ सय १० डलरमा बिक्री भइरहेको छ।हामीले महँगो इन्धनका कारण नेपालमा उडान बन्द गर्छौ भनेका होइनौं।उडान बन्द गर्न धेरै समय लाग्दैन। तर हामीले उडानका लागि देखिएको समस्याका बारेमा मात्रै जानकारी गराएका हौं।जहाज उडानका लागि इन्धनको कम्पोनेन्ट सबैभन्दा धेरै हो।

त्यसैले इन्धनको मूल्य घट्न सकेमा उडान प्रभावकारी हुन्छ भन्ने हाम्रो तर्क हो।पाँच वर्षको अवधिमा सबै वायुसेवा कम्पनीले उडान थप्दै जान्छन्।हामीले पनि ग्रोथ प्लान गरेका छौं।तर पहिला समस्या समाधान होस् भन्ने हो।नेपाल विश्वकै राम्रो पर्यटकीय गन्तब्य हो।यो गन्तब्यमा हामी उडान थप्न चाहिरहेका छौं।अहिले साताको पाँच उडान गर्दै आएका छौं।यही महिनादेखि दैनिक उडान गर्ने योजना बनाएका छौं।विदेशी पर्यटक ल्याउननै हामीले उडान थप्न लागेका हौं।हामीसँग उडान थप्नका लागि पर्याप्त जहाज पनि छन्।तीन सय ३५ जहाज हामीसँग छ।ती जहाजले ३ सय ११ गन्तब्यमा उडान गर्दै आएका छौं।

युरोपबाट नेपाल उडान गर्ने एउटै वायुसेवा कम्पनी हो टर्किस। सात वर्षको उडान अवधिमा नेपालमा कस्तो चुनौति देखिएका छन्?
हामीले सन् २०१३ सेप्टेम्बर २ देखि नेपालमा व्यवसायिक उडान सुरु गरेका थियौँ।इन्धन र ग्राउण्ड ह्याण्डलिङ अत्याधिक महँगो छ। प्रत्येक उडानमा यहाँको विमानस्थलबाट ४० टन इन्धन हालिन्छ। दुई हजार डलर प्रति दिन इन्धन खपतको लागत लाग्छ। तीन सय दिनको उडानको हिसाब गर्ने हो भने लाखौं डलर इन्धनमै जान्छ। 

मर्मत, पार्किङ, ट्राभल एजेन्सी, क्रु मेम्बरको सुविधा, खानपान लगायत क्षेत्रमा छुट्टै लागत छ। उड्डयन व्यवसाय सजिलो छैन। सहज रुपमा उडान गर्न इन्धन शूल्क र ग्राउण्ड ह्यान्डलिङ शूल्कले मूख्य भूमिका हुन्छ।त्यसैले हामीले इन्धनको मूल्य घटाउन भनेका हौं।

सन् २००६ देखि सन् २०१८ सम्म हेर्ने हो भने टर्किस एयरलाइन्सले ठूलो सफलता हासिल गरेको छ। सुरुमा ६५ एयरक्राफ्ट भएको यो कम्पनीसँग अहिले ३३५ एयक्राफ्ट छन्। टर्कीबाट नेपाल आउनेको संख्याको तुलनामा नेपालबाट टर्की जानेको संख्या पाँच गुणाले बढेको छ। सन् २०१७ मा तयार पारिएको तथ्यांक अनुसार करिब पचास लाख डलर भन्दा बढी नेपाली पैसा बाहिरिएको छ।

नेपालमा सीधा उडान गर्नुको मूख्य उद्धेश्य के थियो? टर्किस एयरलाइन्सले आफ्नो मूख्य उद्धेश्य पुरा गरेको छ?
हाम्रो मुख्य उद्धेश्य भनेको पर्यटकीय गन्तब्य नेपाल चिनाउनुनै हो। नेपालमा भएका प्राकृतिक, सांस्कृतिक क्षेत्रलाई प्रवर्द्धन गर्ने उदेश्य राखेका थियौं। यहाँ समुद्र छैन तर यहाँ र्या फ्टीङ, ट्रेकिङ, माउन्टेन बाइकिङ लगायत विभिन्न आकर्षक पर्यटकीय स्रोतसाधन छन्। यहाँ पर्यटकलाई हिमाल खोज्दै हिँड्नुपर्ने अवस्था छैन। जहाँ  हिँडेपनि प्राकृतिक सुन्दरताको आभाष गर्न सकिन्छ। यहाँ ‘साइट सीन’को लागि हिमालपहाड खोज्दै हिँड्नुपर्दैन। विहान उठेर आङ तान्दा झ्यालबाटै हिमाल देख्न सकिन्छ।यही प्राकृतिक सम्पदा भएको देशसँग टर्किसले सीधा उडान गरेर पर्यटन प्रवर्द्धन गर्न चाहेको हो।

एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ। विमानस्थलको अवस्था र आकाशमा होल्ड हुनुपर्दा समस्या होला नी?
 पीक सिजनमा एयर कन्जेशनका कारण घण्टौँ फ्लाइट होल्डमा राख्नुपर्ने हुन्छ। एउटै रनवे छ। दैनिक पाँच सय उडान हुन्छ। यतिधेरै जहाज उडान अवतरणको निर्देशक दिन एयर ट्राफिक कन्ट्रोलरलाई पनि त्यति सजिलो छैन। यसका लागि कुनै विकल्प हुनैपर्छ। अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै संचालनमा आउँदै छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य पनि सुरु हुँदैछ।पोखरामा पनि अन्तर्राष्ट्रिय स्तरको विमानस्थल संचालनमा आउँदै छ। पर्यटकिय गन्तब्यमा यसरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थल संचालनमा आउनु सकारात्मक पक्ष हो।

पाँच वर्षअघि टर्किस एयरलाइन्सको इन्सिडेन्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भयो।जसले पाँच दिनसम्म विमानस्थलनै बन्द भएका कारण नयाँ विमानस्थल बनाउन दबाब तपाईँहरुकै कारण बन्यो नी होइन?
यस्तो समय विश्वभर दैनिक घटिरहेका हुन्छन्। यस्ता घटनाले समस्या आउनु स्वभाविक हो। मौसम लगायत विभिन्न कारणवस यस्तो समस्या आउने गर्छ। कहिलेकाँही यस्तो समस्या आउँदा विभिन्न विकल्प लगाउनुपर्ने हुन्छ। नेपालमा एउटै विमानस्थल भएका कारण अन्य विमानस्थल संचालनमा ल्याउनुपर्ने कुराहरु पनि उठेका थिए। आकस्मिक अवस्थामा वैकल्पिक विमानस्थलको आवश्यक हुन्छ। मुलुक र मुलुकको पर्यटन समृद्धिका लागि एक भन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनै पर्छ।

टर्किस एयरलाइन्सले नेपाल उडानमा मुनाफा गरिरहेको छ?
हामीले नाफाघाटा हेरेर नेपाल उडान गरेका होइनौं।दुई देश जोड्ने हिसाबले उडान सुरु गरेका हौं।यो दृष्ट्रिकोणबाट हेर्दा ह्दयदेखि नाफामा छौं। व्यापारिक हिसाबमा हामी नाफामा छौँ तर संख्याको नाफा हेर्न मिल्दैन्।संचालन लागत धेरै भएका कारण उडान फिजिवल छैन।यही अवस्थामा उडानलाई निरन्तरता दिन पनि कठिन हुन्छ।अन्तर्राष्ट्रिय बजार अनुसार इन्धन लगायतका विषय कार्यान्वयन भएन भने समस्या आउँछ।

तपाईँको सक्रियताले समेत टर्किस एयरले सफलता पाइरहेको छ। काठमाडौंमा हुने ठूला कर्पोरेट पार्टीमा तपाईँको सहभागिता रहन्छ।त्यो सहभागिताबाट समेत टर्किसको व्यापार बढिरहेको छ होइन?
निश्चय पनि ठूला कर्पोरेट पार्टीमा मलाई निम्तो आउँछ।म त्यस्ता पार्टीमा सहभागी हुन्छु।हामीले उडान गर्ने मुलुकलाई राम्रो गर्ने उदेश्य राखेका छौं।नेपालका कर्पोरेट हाउस पनि सकारात्मक पाउँछु।उहाँहरुले हाम्रो कम्पनीलाई सकारात्मक रुपमा लिनुभएको छ।धेरैलाई टर्किस एयरलाइन्सको सेवाले पनि लोभ्याएको छ।नेपालको सबै क्षेत्रमा सहयोग गर्नु हाम्रो उदेश्य हो।यो कम्पनीको मात्रै होइन मनदेखि गरिने सहयोग पनि हो।प्राय सबैजना हामीप्रति सकारात्मक हुनुहुन्छ। हामीले सुरुदेखिनै राम्रो सहयोग पाएकाले समेत सफल भएका हौं जस्तो लाग्छ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरु संचालनमा आउने क्रममा छन्। नेपाल ट्रान्जिट हब बन्न सक्छ?
अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउन लागेको छ। यो विमानस्थल ट्रान्जिट हब बन्नेछ। यो विमानस्थल समथर भुभागमा निर्माण भएको छ। ‘ट्रान्जिट हब’ बनाउनका लागि लक्षित गन्तब्य अध्ययन गर्नु जरुरी छ। युरोप, एसियामा कतिपय सम्भावित गन्तब्य पनि छन्। ‘एयरक्राफ्ट टेक्नोलोजी’ पनि विकसित हुँदै गएको छ। लामो दुरीको सीधा उडान गर्ने प्रविधि विकास हुँदै गएको छ। संचालनमा आउन लागेका नयाँ विमानस्थलले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ। 

तपाईँको विचारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनले कसरी काम गरिरहेको छ?
विमानस्थलमा केही समस्या वा राम्रो देखियो भने म आफै गएर प्रतिकृया दिन्छु। म दैनिक गइरहेको हुन्छु। विमानस्थलको पूर्वाधार विस्तार गर्न आवश्यक छ। अहिले विमानस्थलमा पूर्वाधार विस्तारको काम भइरहेको छ।तर विमानस्थल सुधार र विस्तार एग्रेसिभ रुपमा गर्नुपर्छ।समयको महत्वलाई ध्यान दिनुपर्छ।एभिएसन विजनेशका लागि समय सबैभन्दा महत्वपूर्ण विषय हो।मिनेट/मिनेटको महत्व हुन्छ भन्ने बुझ्न आवश्यक छ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिदै छ। भ्रमण वर्षका लागि नेपालले चालेका अभियानलाई कसरी हेरिरहनुभएको छ?
मैले बुझ्दा भ्रमण वर्ष २०२० संख्या लक्षित क्याम्पेन होइन।नेपालजस्तो पर्यटकीय गन्तब्यको हब भएको देशका लागि २० लाख ल्याउने विषय ठूलो कुरा पनि होइन।नेपालमा सबै ‘हाइ इन्ड’ पर्यटक ल्याउनुपर्छ भन्ने मान्यता पनि राख्नुहुँदैन।पर्यटन एक दिनको व्यवसाय होइन। यो दिगो हुनुपर्छ। २० लाख पर्यटक नआउने वित्तिकै असफलता मान्न पनि मिल्दैन्।तर भ्रमण वर्षका लागि केही संरचनात्मक परिवर्तन भने ल्याउन जरुरी छ।निश्चत ‘टार्गेट’ राखेर सबैले मेहनत गरेमा नेपालमा पर्यटक ल्याउन कुनै समस्या छैन। 

नेपालमा भ्रमण वर्षपछि अन्य वर्षमा विभिन्न ‘क्याम्पेन’ गर्न सकिन्छ। उदाहरणका लागि सन् २०२१का लागि भ्रमण वर्ष योगा र सन् २०२२मा भ्रमण वर्ष हेरिटेज साइट लगायतका ‘क्याम्पेन’ गर्न सकिन्छ।नेपालमा हरेक वर्ष एउटा पर्यटनको महामेला गरेर पर्यटक आकर्षित गर्न सकिन्छ।तर त्यो क्याम्पेन अनुसार पर्यटक ल्याउन भने सडक,विमानस्थलदेखि सार्वजनिक यातायातसम्मको पूर्वाधारमा ध्यान दिनुपर्छ।भ्रमण वर्षले सकारात्मक नतिजा ल्याउने कुरामा म विश्वस्त छु।पर्यटन प्रवर्द्धनका लागि निश्चित योजना भने बनाउनै पर्छ।

नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईज्यूले पनि भ्रमण वर्षमा मात्रै नभई क्रमिक रुपमा पर्यटक बढाउने भन्ने योजना वाहिर ल्याउनुभएको छ।त्यो सकारात्मक पक्ष हो।हरेक वर्ष ‘स्ट्रक्चरल चेन्ज’ गर्दै पर्यटकको बसाई अवधि लम्ब्याउन सकियो भने धेरै खर्च गर्ने वातावरण बन्छ। भ्रमण वर्ष २०२० ‘स्ट्रक्चरल चेन्ज’ गर्ने मौका पनि हो।तत्कालै भने सांस्कृति सम्पदाको चाँडो पुर्ननिर्माण,पर्यटन क्षेत्रमा गुणस्तर नियमन, पर्यटक ट्याक्सीमा सुधार लगायतका काम गर्नुपर्छ।हवाई इन्धनमा पनि अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन गर्न सकेमा त्यसले भ्रमण वर्षलाईनै सहयोग पुर्याउँछ।