काठमाडौं। प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यासलाई अवलम्बन गर्न सरकार र निजी क्षेत्र सहमत भएका छन्।
नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लाष्ट नेपाल फाउण्डेशनको सहकार्यमा भएको कार्यक्रममा दुबै पक्ष सहमत भएका हुन्। कार्यक्रममा उद्योगमन्त्री मातृका यादबले औद्योगिक उत्पादनले वातावरणमा पार्ने प्रभावको मुल्याङ्कन र नकारात्मक असर कम गर्न तीनै तहका सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताए।
वनमन्त्री शक्तिबहादुर बस्नेतले दिगो विकासलाई केन्द्रमा राखेर प्लाष्टिकको प्रयोग कम गर्ने तथा पुनःप्रयोगका लागि प्रोत्साहन गर्ने बताए। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोरको पुनःप्रयोग तथा व्यवस्थापनाका लागि निजीसँग सहकार्य गर्न महानगर तयार रहेको बताए।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघ र यसमा आवद्ध उद्योगी–व्यवसायीहरुले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको बताए। अध्यक्ष मोरले भने, हाम्रै लगानीमा रहेको होङसी शिवम् सिमेन्ट उद्योगले फोहोर प्रशोधनबाट १२ मेगावाट ऊर्जा निकालेर उपयोग गरेको छ।
सियाली दिगो विकास अभियानका प्रमुख नोर म्यानचुवाले प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सिंगापुर,चीन र अन्य एसियाली मुलुकले अपनाएका असल अभ्यास बारे विस्तृत जानकारी गराए।
कार्यक्रममा परिसंघका वातावरण समितिका संयोजक शरद टिवडेवालाले वातावरण संरक्षणका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।