केवलकारमा लगानीको वहार: सात अर्ब लगानीमा चार वटा केवलकार निर्माण हुँदै


काठमाडौं। नेपालको पहिलो केवलकार स्थापना गरेको चितवन कोइ समूहले चारवटा नयाँ केवलकार बनाउने भएको छ। २१ बर्षअघि मनकामना केवलकार स्थापना गरेको समूहले इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा केवलकार निर्माण गर्न लागेको हो।

समूहले अहिले यही मोडलमा साराङकोटमा अन्नपूर्ण केवलकार निर्माण गरिरहेको छ। जग्गा व्यवसायी कालु गुरुङ र जापानी समूहमा टाकासी मियाहराको लगानीमा निर्माण भइरहेको यो केवलकार दशैंसम्म संचालनमा आउनेछ।

Sipradee
Sanima Bank
Riddisiddi Cement

समूहका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले अन्नपूर्ण वाहेक अरु चार वटा केवलकार निर्माणको चरणमा रहेको बताए। 

‘हामीले इपिसी मोडलमा केवलकार निर्माण गरिरहेका छौं। चार वटा परियोजनामध्ये कतिपय विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को चरणमा छ भने कतिपय निर्माणको चरणमै पुगेको छ’ उनले बिजमाण्डूसँग भने, 'अन्नपूर्ण केवलकारसमेत गर्दा पाँचवटा केवलकारको परियोजनामा सात अर्ब लगानी हुनेछ।’

समूहका अनुसार पोखरामै पुम्दिकोट केवलकार, ताप्लेजुङमा पाथिभरा केवलकार, काठमाडौंमा दक्षिणकाली-चौकटदेवी केवलकार र हेटौंडा केवलकार निर्माण हुनेछ। यी चार वटा परियोजनामध्ये तीन परियोजनामा भने चितवन कोईको समेत लगानीमा केवलकार निर्माण हुनेछ। 

यति समूहको लगानीमा निर्माण हुन लागेको पाथीभराको डिपिआर सकेर प्रोजेक्ट डिजाइन भइरहेको छ। यो केवलकार निर्माणका लागि कुनै समस्या छैन। निर्माणको प्रतिस्पर्धामा रहेको त्रिवेणी केवलकार प्रालिले हात झिकेपछि पाथिभरा मातादेवी दर्शन केवलकार प्रालिलाई बाटो खुलेको हो। 

यो केवलकार निर्माणका लागि स्वर्गिय आङछिरिङ शेर्पाले प्रकृया अगाडि बढाएका थिए। उनको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि उनका दाई सोनाम शेर्पाले यो परियोजना हेरिरहेका छन्।

ताप्लेजुङको फुङलिङ नगरपालिकाले केबलकार अनुमतिसम्बन्धी कार्यविधि पारित गरि पाथिभरालाई दिएको थियो। संघिय मन्त्रीपरिषद्ले पनि पाथीभरालाई केबलकार निर्माण हुने क्षेत्रको सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ। यो केवलकारको लम्बाई साढे दुई किलोमिटरको हुनेछ। 

दक्षिणकाली-चौकटदेवी केवलकारको डिपिआर भइसकेको छ। दक्षिणकाली मन्दिर नजिकैबाट चौकटदेवीसम्म पुग्नेगरि केवलकार निर्माण हुनेछ। दक्षिणकाली नगरपालिका अनुसार दक्षिकाली मन्दिरमा वार्षिक २५ लाख दर्शन गर्न पुग्छन्। 

श्रेष्ठले काठमाडौंबाट नजिकै रहेको घुमघामका लागि उपयुक्त क्षेत्र दक्षिणकाली हुने बताउँदै धार्मिक महत्व र रिफ्रेसमेन्ट दुबैलाई ध्यान दिएर केवलकार निर्माण गर्न लागेको बताए। 

‘टप स्टेशन दुई हजार मिटर माथि छ। त्यहाँबाट काठमाडौंको दृश्यसजिलै देख्न सकिन्छ। त्योसँगै हिमाल समेत हेर्न सकिन्छ। दक्षिणकाली प्रख्यात तिर्थस्थल समेत भएकाले यो परियोजना चल्ने देखेर केवलकार निर्माण गर्न लागेका हौं’ श्रेष्ठले बिजमाण्डूसँग भने, 'केवलकारको टप स्टेशनमा हामीले पिकनिक स्पट समेत बनाउँछौं।’ 

पोखराको पुम्दिकोट केवलकारको समेत डिपिआर सकिइसकेको छ। पुम्दिकोटको केवलकार निर्माण क्षेत्रमा सार्वजनिक जग्गा नभएकाले निर्माणमा कुनै समस्या छैंन। ‘यो केवलकार निर्माण हुने क्षेत्रमा सार्वजनिक जग्गा पर्दैन्। हामीले डिपिआर पछि प्रोजेक्ट डिजाइनमा गइहाल्छौं। यो पोखराको बेस्ट डेस्टिनेशन बन्ने विश्वास हामीले लिएका छौं’ उनले भने। 

श्रेष्ठले चारवटै परियोजना सकेसम्म चाँडै निर्माणको चरणमा पुर्याउने बताउँदै यो केवलकारले धार्मिक पर्यटनलाई अभिवृद्धि गर्ने दाबी गरे।

किन केवलकारमा ठूलो लगानी?
नेपालकै पहिलो केवलकार भित्र्याएर सफल रुपमा संचालन गरेको अनुभव यो समूहसँग छ। स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले २०५५ सालमा संचालनमा ल्याएका मनकामना केवलकारमा वार्षिक १० लाख यात्रु चढ्छन्। 

अष्ट्रियाको सफल डोपलमेयरको नेपालको अधिकृत बिक्रेता समेत रहेको यो समूहसँग दक्ष इन्जिनियरको समूह समेत छ। केवलकार संचालनको अनुभव र त्यसको जोखिमका बारेमा ज्ञान भएकाले समेत यो समूहलाई केवलकार स्थापना गर्न चाहनेले पहिलो प्राथमिकतामा राख्छन्।

‘केवलकार स्थापना गर्नुअघि सल्लाह माग्न आउनुहुन्छ। हामीले सही सल्लाह दिने गरेका छौं। कतिपय घरानाले भने लगानीकै लागि समेत प्रस्ताव गर्नुहुन्छ’ श्रेष्ठले भने, 'हामीले फिजिविलिटी हेरेर आफूले भ्याएसम्म सल्लाह दिने गरेका छौं। कतिपय परियोजनामासँगै जाने बारेमा छलफल समेत भइरहेको छ।’ 

उनले अनुभवकै आधारले केवलकारमा लगानी बढाउन चाहेको समेत बताए।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell