चण्डीराज ढकालको ऋणमा राष्ट्रिय बाणिज्य बैंकले ‘एक्सन’ थाल्यो, असारभित्र सेटल नभए बैंकिङ कसुर

बिजमाण्डू
२०७५ चैत्र २७ गते १६:४९ | Apr 10, 2019
चण्डीराज ढकालको ऋणमा राष्ट्रिय बाणिज्य बैंकले ‘एक्सन’ थाल्यो, असारभित्र सेटल नभए बैंकिङ कसुर

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले चण्डीराज ढकालसँग ऋण उठाउने प्रकृया अगाडि बढाएको छ। नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष ढकालले बैंकको साँवा-ब्याज र जरिवाना गरेर करिव डेढ अर्ब रुपैयाँ तिर्न बाँकी छ।

Tata
GBIME
Nepal Life

नियतवश ऋण नतिरका कारण उनलाई बैंकले ०६७ सालमा कर्जा सुचना केन्द्रको कालोसूचीमा राखिसकेको छ। भद्रपुरस्थित उनको कम्पनी 'मोमेन्टो एपेरल्स' ले २०६४ सालदेखि बैंकको ऋण तिर्न छाडेको छ। ऋण तिर्न छाडेपछि बैंकले उनलाई कालोसूचीमा राखेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकृष्ण श्रेष्ठले ढकालबाट ऋण असुलीका लागि आवश्यक प्रकृया सुरु भएको जानकारी दिए। 'उहाँ (ढकाल) ऋण भूक्तानीका लागि नेगोसिएसनमा आउनु भएको छ' उनले भने, 'हामीले दुई वटा मोडेलमा कुराकानी गरिरहेका छौं। असार मसान्तभित्र पुरानो ऋण टुङ्ग्याउने छौं।'

उनका अनुसार, असार मसान्तसम्म कि ढकालले ऋण भूक्तान गरिसक्नु पर्छ। यदि त्यो मितिसम्म ऋण भूक्तानी नभए बैंक कानुनी कारवाहीमा अगाडि बढ्नेछ।

बैंकको ऋण असुली विभाग स्रोतका अनुसार, ढकालले बैंकबाट पटक पटक गरेर ३० करोड रुपैयाँ ऋण लगेका छन्। यसमध्ये अधिकांस ऋण मोमेन्टो एपेरल्सले उत्पादन गर्ने कपडाको कच्चा पदार्थ आयात गर्न एलसी खोल्दा लिएको छ। 'कम्पनीले एलसी खोलेर सामान मगाउने, बेच्ने तर बैंकको पैसा नतिरेको अवस्था थियो' बैंक स्रोतले भन्यो, '३० करोडमध्ये ८ करोड रुपैयाँ प्रोजेक्ट ऋण थियो।'

ढकालले ऋण तिर्न छाडेपछि ब्याज जरिवाना र पूँजीकरण गरेर करिव डेढ अर्ब रुपैयाँ पुगेको छ। यो ऋण टुङ्ग्याउनका लागि दुई वटा मोडालिटीमा काम भइरहेको श्रेष्ठले जानकारी दिए। 

'एकै पटक सबै ऋण फरफारक गर्ने भए हामी जरिवाना तथा ब्याजमा केही हेरिदिन सक्छौं' श्रेष्ठले भने, 'होइन पुनर्संरचना गर्ने हो भने छुटहरु दिन सकिँदैन।' उनले बैंकको ऋण असुली कार्यविधि अनुसार ऋण राफसाफ गर्ने गरी आएमा राम्रो छुट दिन सकिने बताए।

त्यस अनुसार ३० करोडको ऋण बढेर डेढ अर्ब पुगेसकेको अवस्थामा ढकालसँग जरिवानाहरु मिनाहा गरेर ४८ करोडमा ऋण भुक्तानी गर्ने गरी छलफल भइरहेको छ। यो बैंकले छुट कटाएर ढकाललाई दिएको स्कीम हो। ढकालले भने ३८ करोड रुपैयाँ मात्र तिर्न सक्ने बताएका छन्।

कम्पनीका नाममा करिव ३ विघा जग्गा छ। मेसिनरीहरु बिक्री गरिसकेको र त्यहीँ रहेको केही मेसिनरीहरु काम नलाग्ने गरी बिग्रिसकेको छ। त्यसैले कम्पनीले राखेको धितोले ऋण खाम्न सक्ने अवस्था छैन। धितोले खाम्न नसकेको अवस्थामा ढकालले ऋण दूरुपयोग गरेको ठहर्ने हुँदा उनीमाथि बैंकिङ कसुर ऐन अनुसार पनि कारवाही अघि बढ्न सक्ने बैंकका एक सञ्चालकले जानकारी दिए।

'असारअघि नै ढकालले ऋण तिरिसक्नु पर्छ। यदि उनले तिरेनन् भने सम्पति लिलामी गर्ने प्रकृया सुरु हुन्छ। अनि ऋण दूरुपयोगको अभियोग उनीमाथि लाग्ने छ' ती सञ्चालकले भने, 'त्यसमा बैंकिङ कसुर ऐन आकर्षित हुन्छ। अब हामी पुरानो ऋणीलाई छाड्ने अवस्थामा छैनौं।'

स्रोतका अनुसार, अहिले ढकालले आफूले ऋण तिर्ने तर ब्याज पनि छुट दिनु पर्ने बताउँदै आएका छन्। 

'क्रोनिक बनाएर राख्नुभन्दा त्यसलाई सल्टाएर जाँदा बैंकको पनि आम्दानी बढ्छ र त्यहाँ प्रयोग हुने जनशक्ति अर्को ठाउँमा लगाउन सकिन्छ भन्ने हाम्रो कुरा हो' एक सञ्चालकले बिजमाण्डूसँग भने, 'तर ढकालले पटक पटक ऋण तिर्ने कुरा गर्ने तर पैसा भने नल्याउने गरेका छन्। त्यसैले उनलाई पत्याउन सकिने अवस्था छैन।' ढकालले महासंघको फोरम प्रयोग गरेर ऋण नतिरि बसिरहेका छन्। त्यति मात्रै होइन अहिलेकै महासंघको नेतृत्वलाई समेत प्रयोग गरेर ऋणमा सहुलियत दिन समेत लबिङ गराइरहेका छन्।

 'यता कुरा अगाडि बढेको हुँदैन राजनीतिक दबाब सुरु भइहाल्छ। उनले महासंघको फोरमनै प्रयोग गरेर कारवाहीबाट बचिरहेका छन्' ती सञ्चालकले भने, 'त्यसैले यस्ता मुद्दाहरुलाई लम्ब्याएर जानु हुँदैन। बेलैमा सेटल गर्नु पर्छ भनेर हामीले असार मसान्तको अवधि तोकेका छौं।'

ढकालबाट ऋण उठाउनका लागि अर्थमन्त्रालयबाट पनि पहल भइरहेको छ। मन्त्रालयले जसरी पनि ढकालबाट ऋण असुल गर्ने, यदि उनले नतिरेमा कानुनी उपचारमा जाने भनेर बैक सञ्चालक समितिलाई 'म्यान्डेट' दिइसकेको स्रोतको दावी छ।