२६८ रोजगार संयोजकका लागि पुनः दरखास्त आह्वान, चैत ९ गतेसम्म आवेदन दिन सकिने

रासस
२०७५ फागुन ३० गते ०९:२८ | Mar 14, 2019
२६८ रोजगार संयोजकका लागि पुनः दरखास्त आह्वान, चैत ९ गतेसम्म आवेदन दिन सकिने


काठमाडौँ।सरकारले रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले एक सूचना जारी गरी यही फागुन ३० देखि आगामी चैत ९ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ।

Tata
GBIME
Nepal Life

रोजगार संयोजकका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइट www.pmep.gov.npबाट अनलाइन फारम भर्न सकिनेछ । रिक्त रहेका स्थानीय तहमा २४९ शाखा अधिकृत र १९ नायब सुब्बास्तरका रोजगार संयोजकको पदपूर्ति गरिने मन्त्रालयले जनाएको छ ।

सोअन्तर्गत प्रदेश नं १ मा ६६ शाखा अधिकृत र पाँच नासु, प्रदेश नं २ मा ४५ शाखा अधिकृत, प्रदेश नं ३ मा ३१ शाखा अधिकृत र एक नासु, गण्डकी प्रदेशमा १४ शाखा अधिकृत र एक नासु, कर्णाली प्रदेशमा ४३ अधिकृत र ११ नासु तथा सुदूरपश्चिम प्रदेशमा ५० अधिकृत र एक नासु पदको पदपूर्ति गरिनेछ।

गत महिना ७५३ स्थानीय तहमा रहेर कामकाज गर्ने गरी रोजगार संयोजकको आवेदन माग गरिए पनि विद्युतीय परीक्षा उत्तीर्ण हुन नसक्दा २६८ स्थानीय तहमा रोजगार संयोजक छनोट हुन सकेका थिएनन्। उक्त चरणमा २३ हजार ९६८ को आवेदन परे पनि ४८५ जना मात्र छनोट हुन सफल भएका थिए।