ठमेलको छायाँदेवी कम्प्लेक्स संचालकले भने- ‘प्रोजेक्ट सकिएपछि दुःख दिने गिरोह सल्बलाउन थाले’

बिजमाण्डू
२०७५ फागुन ७ गते १७:१० | Feb 19, 2019
ठमेलको छायाँदेवी कम्प्लेक्स संचालकले भने- ‘प्रोजेक्ट सकिएपछि दुःख दिने गिरोह सल्बलाउन थाले’



काठमाडौं। पाँचौ पटकको किनबेचपछि जमीन आफूहरुको स्वामित्व आएको भन्दै छायाँदेवी कम्प्लेक्स प्रालिले छायाँ सेन्टर निर्माण गर्दा पुरातात्विक क्षेत्रमा अतिक्रमण नगरेको दावी गरेको छ।

Tata
GBIME
Nepal Life

पाँच अर्ब रुपैयाँ लगानीमा तीन महिना अघिदेखि यो कम्प्लेक्स आंशिक रुपमा संचालनमा आएको हो। कम्प्लेक्स निर्माण सकिएर संचालनमा आएपछि गुठीको जग्गा मिचेको भन्दै विवाद सुरु भएको थियो। कम्प्लेक्समा बैंकर पृथ्वीबहादुर पाँडे,  महेश्वर श्रेष्ठ र सुमन पाँडे लगायत समूहको लगानी छ। निर्माण पूरा भएर काठमाडौं महानगरपालिकाले भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिइसकेपछि विवादमा ल्याइएको कम्पनीको दावी छ।

'जब ०७५ कात्तिक आठ गते काठमाडौं महानगरपालिकाले छायाँदेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दियो त्यसपछि अरु प्रोजेक्टमा जस्तै दुःख दिने गिरोह सल्बलाउन थाले,' जग्गा खरीद गरेर कम्प्लेक्स निर्माण अध्ययनका लागि एक वर्ष समय खर्चेका छौं,’ कम्पनीका प्रवन्ध निर्देशक महेश्वर श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, 'होइन भने स्वार्थमा बस्नेहरु छायाँ सेन्टर सञ्चालनमा आउनु पहिला कहाँ निदाएका थिए?'

मल्टिप्लेक्ससहित रेस्टुराँहरु र पसलहरु संचालनमा आइसकेको कम्प्लेक्समा पाँचतारे होटल निर्माण अन्तिम चरणमा छ। यो समूहले जग्गा किन्नुपूर्व चार पटक जग्गाको स्वामित्व हस्तान्तरण भइसकेको थियो। कम्प्लेक्स निर्माण गर्नुभन्दा दुई वर्ष अघिनै वातावरणीय प्रभाव मूल्याङ्कन र सार्वजनिक सुनुवाई हुँदा कुनै विवाद नआएको श्रेष्ठको दावी छ।

उनका अनुसार छिमेकी तथा स्थानीयसँग सम्झौता गरेर निर्माणको थालनी गरिएको थियो।‘जतिखेर निर्माण थालिएको थियो, त्यतिखेर यहाँ कुनै पुरातत्वसँग जोडिएको संरचना थिएन। भवनको पश्चिममा रहेको ठूलो छायाँदेवीकै परिसरभित्र रहेको ठूलो पिपलको रुखलाई भने यो संरचना तयार गर्दा जोगाइएको थियो,’ उनले भने।

कम्प्लेक्स निर्माण सुरुभएपछि चन्दा माग्ने समूहले दु:ख दिएको श्रेष्ठले बताए। 'कानुनअनुसार निर्माण सम्पन्न भइसकेको र राज्यलाई करोडौं रुपैयाँ राजस्व तिरेर हामीले जग्गा किनेका हौँ,' उनले प्रश्न गर्दै भने, 'हामी प्रश्न गर्छौँ कि हाम्रो गल्ती कहाँ भयो?'पाँच तारे होटल अलफ्ट पनि रहेको कम्पलेक्समा तीन वटा मल्टिप्लेक्स थियटर, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याङकेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबका साथै बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालय छन्।

१५ रोपनी क्षेत्रफलमा फैलिएको कम्प्लेक्समा तीन सय भन्दा बढी गाडी पार्किङ गर्न सकिने छायाँ सेन्टरले जनाएको छ।