काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले सिएमसीसँग ठेक्का तोड्ने निर्णय गरेको छ। बिहीबार खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको संयोजकत्वमा बसको बैठकले ठेक्क तोड्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सुर्यराज कँडेलले जानकारी दिए।
उनका अनुसार आजै समितिले टर्मिनेशन लेटर सिएमसीको मुख्यालय इटाली पठाइसकिएको छ। 'थोरै काम बाँकी थियो, उसैबाट गराउँदा भन्दा २ महिना बित्यो अब कुर्ने अवस्था छैन' उनले भने। आयोजनाले बाध्य भएर ठेक्का तोड्नु परेको बताईएको छ।
समितिका अनुसार फेब्रुअरि १० सम्म ठेक्काको म्याद रहेको छ। एकतर्फी रुपमा सिएमसीले ठेक्का तोडेर हिँडेको छ। यदि फेब्रुअरी १० पछि ठेक्का तोडिए त्यो मान्य हुँदैन। त्यही भएर ठेक्का तोड्ने निर्णय गरिएको कँडेलले जानकारी दिए।
आयोजनाको निर्माण कार्य सम्पन्न नहुँदै विकास आयोजनालाई जानकारी नदिई साइट छोडेको भन्दै १४ दिनमा किन कन्ट्रयाक्ट नतोड्ने भन्दै नोटिस निकालेको थियो। त्यो समयमा जवाफ नपठाएको र सम्पर्कमा नआएकाले ठेक्का तोड्नु परेको आयोजनाले जनाएको छ।
उनका अनुसार आयोजनाले छिट्टै विकल्पहरु तयार पारेर मन्त्रालयलाई बुझाउने छ। मन्त्रालयले मन्त्रीपरिषद्मा लगेर कसरी निर्माण अघि बढाउने भन्ने निर्णय गर्छ। सरकारले गर्ने निर्णयका आधारमा अघि बढ्ने कँडेलले जानकारी दिए।