कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै दोस्रो कपडा निर्यातकर्ता, नेपालले के सिक्ने!

बिजमाण्डू
२०७५ पुष २१ गते १७:०४ | Jan 5, 2019
कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै दोस्रो कपडा निर्यातकर्ता, नेपालले के सिक्ने!



ढाका। ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक ४८ सय कामदार सिलाइकटाइमा ब्यस्त हुन्छन्। 

Tata
GBIME
Nepal Life

यो उद्योग सामान्य गार्मेन्ट होइन। स्विडेनको एच एण्ड एम र बेलायतको मार्क एण्ड स्पेन्सर ब्राण्डका आधुनिक सुट तगा पहिरन उत्पादन गर्ने युनिभर्सल मेन्सवेयरको अत्याधुनिक फ्याक्ट्री हो जसले हरेक दिन २ लाख ४० हजार सुट उत्पादन गर्छ। 

बंगलादेशको यस गार्मेन्ट उद्योगमा  श्रीलंकाली नागरिक  म्यानेजर छन् जोसँग  लामो समय अमेरिकी कम्पनीमा काम गरेको अनुभव छ।  

३ करोड ५० लाख डलरको लगानीमा ६ वर्ष अघि खुलेको यस फ्याक्ट्रीले कम मूल्यमा गुणस्तरीय उत्पादन गर्दै आएको छ।  

'पहिले हामी हातैले सिलाइ कटाइ गर्थ्यौ। अहिले मेशिन प्रयोग गर्छौं। जति कामका लागि पहिले १५ जना कामदार लाग्थ्यो अहिले जम्मा २ जनाले त्यति नै काम गर्न सक्छन्।'- सिइओ चेथिया जयाकोडे भन्छन्। 

यहाँ रहेका ४८ सय कामदारमध्ये ८५ प्रतिशत महिला छन्। उनीहरुला सुट सिलाइबारे अनुभव नभएपनि त्यो कम्पननीको लागि कुनै समस्या होइन। हामीसँग अटोमेटिक सिलाइ मेशिन छन्। मेशिनले नै सबै काम गर्छट  अपरेटरहरु अनुभवी नभएपनि मेशिनले नै सबै कम गरन सक्छ। 

हामीले धेरै पैसा अटोमेसनकालागि खर्च गरेका छौं। किनभने अब बंगलादेश 'लो कस्ट कन्ट्री' रहेन। जयकोडेको यसै भनाईले पुष्टि गर्छ अब बंगलादेश कपडा निर्यातमा अग्र स्थानमा पुगिसकेको छ। र यो सबै दृश्य बदलिएको बंगलादेशको गार्मेन्ट क्षेत्रको हो। 

हाल बंगलादेश विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता देश हो। चीनभन्दा एक स्थान पछि रहेको बंगलादेशले कम्बोडिया, भियतनाम, म्यानमार र इथियोपिया जस्ता देशहरुसँग कडा प्रतिश्पर्धामा काम गरिरहेको छ। 

एच एण्ड एम जस्ता  विश्वप्रसिद्ध ब्राण्डले बंगलादेशी गार्मेन्ट कम्पनी डिबिएलका साथै इथियोपियाली कम्पनीबाट निर्यात गर्छ। जापानको फास्ट रिटेलिङ युनिक्लोले पनि आफ्नो उत्पादन प्लान्टकालागि अफ्रिकी देशहरुमा आँखा गाडिरहेको छ। यस्तोमा बंगलादेश प्रतिस्पर्धाको प्रेसरबाट गुज्रिरहेको छ। 

बंगलादेश गार्मेन्ट उत्पादक तथा निर्यात एसोसिएसनका अनुसार गत ५ वर्षमा बंगलादेशमा गार्मेन्ट कम्पनीहरु २२ प्रतिशतले घटेका छन्। हाल बंगलादेशमा ४ हजार ५ सय ६० वटा गार्मेन्ट उद्योग चालु अवस्थामा छन्। जति पनि कम्पनी टिकेका छन् उनीहरुले बजार बिस्तार गरिरहेका छन्। बिदेशमा निर्यात बढाएका छन् त्यसैगरी उनीहरुको सम्पत्ति पनि बढिरहेको छ। 

बंगलादेशको गार्मेन्ट उद्योग देशको अर्थतन्त्रमा बिगत एक दशकदेखिको आर्थिक बृद्धिको एकमात्र कारक बनिरहेको छ। 

गत जुन महिनासम्ममा बंगलादेशको गार्मेन्ट उद्योगले  ३६.७ अर्ब डलर कुल निर्यात गरेको छ जुन अघिल्लो वर्षभन्दा ८.८ प्रतिशले बढी हो।  बंगलादेशको कुल निर्यातको ८३.५ प्रतिशत गार्मेन्ट उद्योग  रहेको एसोसिएसनको तथ्यांकले देखाउँछ। 

सन् १९७१ मा पाकिस्तानसँग छुट्टिएको बंगलादेशले भयावह गरिबी र प्राकृतिक बिपत्ती झेल्यो। हाल यो देशले शरणार्थी संकट पनि झेलिरहेको छ। छिमेकी देश म्यानमारबाट आएका साढे सात लाख रोहिंग्या मुसलमानहरुलाई बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका छन्। 

यस्तोमा पनि बंगलादेशले आर्थिक सफलता पाइरहनुको एकमात्र कारण हो गार्मेन्ट उद्योग। गार्मेन्ट उद्योगमा पाएको सफलताकै कारण  बंगलादेशको अर्थब्यबस्था ‍औसत ६ प्रतिशतको बार्षिक बृद्धिदरबाट पनि अघि बढ्यो। सन् २०१८ सालको जुनमा यो बृद्धिदर ७.८६ प्रतिशतसम्म पुग्यो। 

सन् २००९ देखि हालको अवस्थासम्म आइपुग्दा बंगलादेशमा प्रतिब्यक्ति आय  पनि तीन गुनाले बढेको छ। सन् २०१८ को तथ्यांकलाई हेर्दा बंगलादेशको प्रतिब्यक्ति  आय १७ सय ५० डलर रहेको छ।

पाकिस्तानको सबैभन्दा गरिब क्षेत्रका रुपमा रहेको बंगलादेश छुट्टिनुअघि पूर्वी पाकिस्तानको नामले चिनिन्थ्यो।  स्वतन्त्रतापछि पनि निकै लामो समय यो  गरिबीको चपेटामा पर्यो। सन् २००६ देखिमात्र  प्रगतिको रेसमा अघि बढेको बंगलादेशले हाल पाकिस्तानलाई पछि छोडिदिएको छ। बंगलादेशको बार्षिक जिडिपी बृद्धि अब पाकिस्तानको भन्दा २.५ प्रतिशत बढी छ। 

बंगालदेश एकदमै शान्त र भद्र तरिकाले आफ्नो प्रगतिको बाटोमा लम्करहेको छ। बंगालदेशको समाजको ठूलो हिस्सा परिवर्तनकालागि अघि बढेको छ र महिलाहरुको सशक्तिकरण पनि एकदमै तीब्र छ।  बंगलादेशको गार्मेन्ट उद्योगमा महिला कामदारकै बर्चश्व छ। 

बंगलादेशले विश्व गार्मेन्ट निर्यातको ६.३ प्रतिशत ओगट्यो जुन सन् २०१० मा ४ प्रतिशतमात्र थियो। विश्व ब्यापार संगठनको एक तथ्यांक अनुसार सन् २०१६ देखि यो तयारी पोशाक निर्यातमा दोस्रो स्थानमा रहन सफल भयो। 

तर कुल निर्यातको ३४.५ प्रतिशत शेयर ओगटेको चीनसँग यसको दूरी अझै निकै बढी छ। बंगलादेशले भियतनाम, इटाली र भारतलाई भने जितेको छ। 

कामदारको ज्याला निकै सस्तो हुनुले बिदेशी ब्राण्डहरुले बंगलादेशबाट उत्पादन गर्न रुचाइरहेका छन्। बंगलादेशको कामदारको औसत मासिक ज्याला जम्मा १०१ डलर छ। जुन अन्य देशहरुको तुलनामा सस्तो देखिन्छ। सन् २०१७ को डिसेम्बर देखि सन् २०१८ मार्चसम्म जापान एक्सटर्नल ट्रेड अर्गनाइजेसनले गरेको सर्भेका अनुसार म्यानमारमा कामदारको औसत मासिक ज्याला १३५ डलर छ भने कम्बोडियामा १७० डलर रहेको छ। 
भियतनामका कामदारले औसत ज्याला २३४ डलर पाउँछन्।  यसैगरी चीनमा औसत ज्याला ५१८ डलर रहेको छ। तर बंगलादेशभन्दा अझै कम ज्यालादर रहेको देश भने इथियोपिया हो जहाँ अझैपनि कामदारको औसत ज्याला ५० डलरभन्दा तल रहेको छ। 

सन् २०१८ को सुरुवातमै बंगलादेशले संयुक्त राष्ट्रसंघबाट खुशीको खबर पायो। संयुक्त राष्ट्रसंघले  बंगलादेशलाई अल्पविकसित देशको श्रेणीबाट निकालेर सन् २०२४ सम्ममा विकासशील देशहरुको श्रेणीमा राख्ने बताएको थियो। 

संयुक्त राष्ट्रसंघको यस भनाईपछि प्रधानमन्त्री शेख हसिनाले भनेकी थिइन्- ' हाम्रो आत्मविश्वास र लक्ष्यलाई यसले अझै दरो बनाएको छ। अब हामी कसैको दयाका कारण नभई आफ्नो क्षमताको बलमा अघि बढ्नेछौं।' 

बंगलादेशको आर्थिक बृद्धिदर बलियोमात्र छैन यसमा  लगातार बृद्धि भइरहेको छ। 'आगामी ५ वर्षमा हामी ९ प्रतिशत आर्थिक बृद्धि हासिल गर्नेछौं'- प्रधानमन्त्रीले  शेख हसिनाले भनिन्। सन् २०२१ मा यो १० प्रतिशतसम्म पुग्ने उनले प्रक्षेपण गरिन्। हाल बंगलादेशले म्यानुफ्याक्चरिङ सेक्टरलाई नै धेरै ध्यान दिइरहेको छ। कपडा उद्योगमा बंगलादेशको प्रभुत्व बढिरहेको छ। 

हरेक बर्ष बंगलादेशले कपडाको निर्यात १५ देखि १७ प्रतिशतले बढाएको छ। सन् २०१८ को जुनसम्म कपडाको निर्यात ३६.७ अर्ब डलर पुगेको छ। 

सन् २०१९ मा यसलाई ३९ अर्ब डलर पुर्याउने र सन् २०२१ मा बंगलादेश ५० वर्षको हुँदा यसलाई बढाएर ५० अर्ब डलर पुर्याउने लक्ष्य सरकारले राखेको छ। 

यसैकारण बंगलादेशको गार्मेन्ट उद्योगमा हाल अत्यधिक लगानी बढिरहेको छ। सन् २०१२ र सन् २०१३ मा बंगलादेशको  गार्मेन्ट उद्योगमा ठूलो क्षति पुग्यो। आगलागी र भवन भत्किँदा भएको जनधनको नोक्सानीपछि हाल कामदारको सुरक्षाको लागि यो क्षेत्रमा लगानी बढिरहेको छ। त्यसपछि त पश्चिमी देशहरुले कामदारहरुको सुरक्षा र भवनको गुणस्तरबारे सर्त नै राखे। जबसम्म बंगालदेशी सप्लायर्सहरुले आफ्नो भवनमा आगलागी तथा अन्य घटनामा सुरक्षाका सम्पूर्ण नियमहरु पालना गर्दैनन् र अन्तराष्ट्रिय गुणस्तर को मापदण्ड पूरा गर्दैनन् उनीहरुले तयारी पोशाक खरिद नगर्ने सर्त राखेपछि यस क्षेत्रलाई विकसित र अत्याधुनिक बनाउने पहल थालियो। 

बंगलादेशका कपडा उद्योगहरु सन् २०१३ पछि नै आफूलाई अत्याधुनिक बनाउने रणनीति अपनाउन थाले। जसले यस क्षेत्रमा लगानी गर्न सकेनन् उनीहरु पलायन भए। जो टिके उनीहरुले यस क्षेत्रलाई अझै मजबुत र प्रविधियुक्त बनाए।  हाल बंगलादेशका कपडा उद्योगमा  ४० लाख ५० हजार मानिसले काम गरिरहेका छन्। सन् २०१८ मा बंगलादेशको कुल निर्यातमा तयारी पोशकको योगदान ८० प्रतिशत रहेको छ। 

बंगलादेश गार्मेन्ट एसोसिएसनका अध्यक्ष मोहम्मद सिद्दिकी रहमन भन्छन्- 'सन् २०१३ पछि बंगलादेशमा ग्लोबल ब्राण्डहरुको प्रेसर यस्तो रह्यो कि हामीहरुले  कि त सुधार गर्नै पर्थ्यो कि त अन्तराष्ट्रिय ब्राण्डहरुले  बंगलादेश छोडेर जानुपर्थ्यो।' 

हाल बंगालदेशमा सरकारले टिकाउ अर्थ ब्यबस्थाकालागि उद्योगधन्दाको बृद्धिलाई नै लक्ष्य बनाएको छ। कम लागतका 'म्यानुफ्याक्चर हब'भन्दा पनि बढी अत्याधुनिक प्रविधियुक्त ठूला उद्योगमा बंगलादेशले ध्यान दिइरहेको छ। 

सन् २०१३ पछि  बंगलादेशको तयारी पोशाक क्षेत्रमा भएको सुधारले बंगलादेशमा कामदार र उद्योग विकासकालागि पनि प्रभावकारी भूमिका खेल्यो। 

मार्केट रिसर्च कम्पनी सिएलएसएका रणनीतिकार क्रिटोफर उड्सका अनुसार बंगालादेशमा कपडा उद्योगको जसरी विकास देखिएको छ यसको तुलनमा अन्य क्षेत्र प्रभावकारी रुपले विकास भैरहेका छैनन्। त्यसैले त्यहाँ थप बिदेशी लगानीको आवश्यकता छ। 

बंगलादेशमा हाल एफडिआइको अवस्था खासै बलियो छैन। सन् २००८ मा ९६ करोड डलर रहेको एफडिआई गत जुनसम्म बढेर तीन अर्ब डलर पुगेको छ तर पनि यो भियतनाम र म्यानमार भन्दा कम हो। 

विश्व बैंकले इज अफ डुइङ बिजनेस अर्थात् ब्यापारकालागि कत्तिको सुगम छ भन्ने रेटिङमा पनि बंगलादेश १९० देशमध्ये १७६ औं स्थानमा छ। 

अमेरिका र चीनबीच देखिएको ब्यापार युद्धले  बंगलादेशको टेक्सटाइल उद्योगलाई धेरै फाइदा पुग्ने देखिन्छ। यदि चीनको तयारी पोशाक निर्यात कम भयो भने बंगलादेशले त्यसको पूर्ति गर्नेछ। तर यसको फाइदा भियतनाम, टर्की, म्यानमार तथा इथियोपियाले लिन सक्ने खतरा पनि उत्तिकै छ। बंगलादेशले त्यसतर्फ ध्यान दिएर आफ्नो देशमा लगानीमैत्री वातावरण बनाउन सकेमा भारत र पाकिस्तानभन्दा धेरै अघि जाने संकेत देखाएको छ।