ट्रम्पको ‘अमेरिका फर्स्ट’ र चीनको ‘ग्लोबलाइजेसन’ले भत्कियो विश्व ब्यापार प्रणाली, अब के होला?

बिजमाण्डू
२०७४ फागुन २९ गते १२:०० | Mar 13, 2018
ट्रम्पको ‘अमेरिका फर्स्ट’ र चीनको ‘ग्लोबलाइजेसन’ले भत्कियो विश्व ब्यापार प्रणाली, अब के होला?


हालैको चीन भ्रमणमा क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई सरकारी मिडियाले आक्रमक प्रतिवाद गरे। कारण के मात्र थियो भने उनले चीनलाई फेयर ट्रेडको महत्वबारे बताएका थिए। चीन र क्यानडाबीच स्वतन्त्र ब्यापार सम्झौता हुने बिषयमा चलिरहेको वार्ताका क्रममा उनले आफनो धारणा राख्दा चिनियाँ पक्ष रुष्ट देखियो। यसबाट के प्रष्ट हुन्छ भने चीन र पश्चिमा देशहरुको ‘भ्यालू सिस्टम’ फरक छ  र यस्तै फरकपनले नै विश्व बित्त संरचनालाई भत्काइरहेछ।

Tata
GBIME
Nepal Life

क्यानेडेली प्रधानमन्त्रीलाई चीनको प्रतिक्रिया स्पष्ट थियो चीन कुनै पनि बहानामा लेक्चर सुन्न तयार छैन र आफ्नो अन्तराष्ट्रिय ब्यापारका बिषयमा कुनै अरु देशको नियमबाट परिचालित हुनेवाला पनि छैन।

ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिले विश्व बजारमा  एकमाथि अर्को समस्या थोपर्दै आइरहेछ। स्टिल र आल्मुनिय आयातमा नयाँ कर लगाएर ट्रम्प प्रशासन दशकौंपछि ‘प्रोटेक्सनिष्ट’का रुपमा विश्व ब्यापारको सतहमा देखा परेको छ। ट्रम्प प्रशासनले खुलेरै  ट्रेड वारमा जान परेपनि जानेसम्मको धम्कीको भाषा बोल्न थालिसकेको छ।

ट्रम्प र उनका सहयोगीहरु अमेरिकाको स्वतन्त्र ब्यापार सम्झौतालाई भत्काउन चाहन्छन्, नाफ्टा र एफटिएलाई बिगार्न चाहन्छन्। ट्रम्पका चिफ ट्रेड एडभाइजर पिटर नाभारो नयाँ चिफ इकोनोमिक एडभाइजरको पद सम्हाल्नेछन् । पिटर उनै हुन् जसले डब्लुटिओको भूमिका तथा सदस्यताकै बिषयलाई लिएर प्रश्न उठाएका थिए। यसबाट पनि अमेरिकाको ब्यापार नीतिले अब कुन दिशा लिन्छ भन्ने अनुमान गर्न सकिन्छ।

विश्व ब्यापार प्रणालीमा बिभिन्न घटनाक्रमहरुको विकासले पनि आगामी दिनहरु सहज छैनन् भन्ने देखिन थालेको छ। केही दिन अघि मात्रै ‘ट्रान्स प्यासेफिक पार्टनरसिप’ टिपिपि परिमार्जन गरी  ‘बिस्तृत तथा संशोधित’ रुपमा नयाँ 'सिपिटिपिपि' सम्झौता भयो। सिपिटिपिपिमा आबद्ध सदस्य देशहरुले ‘फेयर ट्रेड’,  ‘फ्रि मार्केट’ र ‘मल्टिल्याटरलिज्म’ को खाका तथा मूल्य मान्यताभित्र रहेर काम गर्ने प्रतिबद्धता जनाए।

यसमा कुनै शंका छैन, हाल विश्व ब्यापारको धरातलमा चिरा परेको छ। यसबीचमा विश्व ब्यापार प्रणालीमा तीनवटा मोडलहरु प्रयोग भइरहेको छ र ति हाल सतहमा देखिन थालेका छन् । पहिलो चीनको ‘चाइना इन्कर्पोरेटेड मोडल’, दोस्रो ‘फ्रि-ट्रेड मोडल’ र तेस्रो ‘यूनिल्याटरल मोडल’।
यी तीनैवटा मोडलहरु ‘हाइब्रिड’ हुन् र यस्ता बैचारिक धरातलमा आधारित छन् कि उनीहरु विश्व ब्यापार संरचनामा  भूराजनीति तथा ऐतिहासिक ब्यापार सम्बन्धबाट जोडिएका छन्।

बेइजिङले एशियाबाट बाहिरका देशहरुतर्फ तीब्र प्रभाव बढाएसँगै आफ्नो नीतिमा ब्यापक परिवर्तन गरिरहेको छ। चीनले आफ्नो भूराजनीतिक प्रभाव बढाएसँगै ब्यापारको मोडेल पनि विकास तथा बिस्तार गरिरहेको छ।

चीनका कुटनीतिज्ञहरुले चिनियाँ प्रणालीको बृहद ब्यबस्थापन गरिरहेका छन् तथा चीनमा काम गरिरहेका बिदेशी कम्पनीहरुबाट प्रणालीगत रुपमै ‘टेक्नोलोजी ट्रान्सफर’ तथा बौद्धिक सम्पत्तिहरुको सुक्ष्म अध्ययन समेत गरिरहेका छन्।

मुख्य रुपमा बेइजिङ इन्कर्पोरेटेड मोडलको उद्देश्य भनेकै विश्व ब्यापारमा चिनियाँ रुचि अनुसारको यस्तो खेल मैदान तयार पार्नु हो जहाँ उसको ब्यापार उसको ‘इन्ट्रेस्ट’मा चलोस्।

उता ट्रम्पले अमेरिकालाई आफ्नै धारमा बगाइरहेका छन्। एकातिर चीनले ग्लोबलाइजेसनलाई आफ्नै मान्यता अनुरुप संचालन गरिरहेको छ भने अर्कातिर ट्रम्पले अमेरिकालाई यस्तो बाटो हिँडाइरहेका छन् जुन बाटोमा सँधै ‘अमेरिका-फर्स्ट’ नै रहन्छ भन्ने ट्रम्पको एकमात्र सूत्रले काम गरिरहेको छ।

चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अघि बढाइरहेको छ। चिनियाँ कम्पनीहरुले यो रुटमा पूर्वाधार निर्माण गरिरहेका छन्। यो क्षेत्रमा बेइजिङ  तानाशाही अर्थात ‘अटोक्रेटिक पोजिसन’ देखिएको छ।  खासगरी स्थानीय सूचना तथा तथ्यांकहरु, सूचना संजाल तथा दूरसंचार प्रविधिमाथिको नियन्त्रणले बेइजिङका केन्द्रीय योजनाकारहरुलाई यस क्षेत्रकै ठूलो शक्ति बन्ने सामर्थ्य दिने देखिएको छ।  

यसको परिणामस्वरुप एशियाका बिकासोन्मुख अर्थतन्त्रमा चीन ‘बिग ब्रदर’को भूमिकामा रहनेछ र साना अर्थतन्त्रहरु चीनको अधिनमा रहनेछन्। यसपछि पश्चिमा कम्पनी तथा सरकारहरु पनि चीनको ट्रेड मोडलबाट प्रभावित हुनेमा कुनै शंका नै छैन।

हालैमात्र चिनियाँ राष्ट्रपति सि जिनपिङको राष्ट्रपतिय कार्यकाल लम्बिनु पनि चीनको लागि माइलस्टोन हो जुन निर्णयबाट मात्र होइन बेइजिङले आगामी दिनमा गर्ने प्रयोगहरुबाट पनि पश्चिमा देशहरु प्रभावित हुन  थाल्नेछन्।

क्यानेडेली प्रधानमन्त्रीले बेइजिङमा दिएको सन्देश स्पष्ट थियो। उनले भनेका थिए- ‘आधुनिक खुला ब्यापार सम्झौतामा पारदर्शिता तथा नैतिक मापदण्ड तोकिनुपर्छ। यसमा कामदार तथा ज्यालाका मापदण्ड, वातावरणीय असर तथा तथ्यांकहरुको गोपनियता तथा सुरक्षाको ग्यारेन्टी समेत हुनुपर्छ।’ सिपिटिपिपिमा फेयर ट्रेडका प्रावधानहरु हुनुपर्छ जसमा कुनै पनि किसिमको तानाशाही वा डिक्टेटरशिपका कुराहरु हुनु हुँदैन।

फेयर ट्रेड मोडलमा डब्लुटिओ जस्ता संगठनहरुको क्रियाशिलता स्पष्ट देखिनुपर्छ साथै सरोकारवालाहरु जस्तै: सरकार, ब्यापार तथा बित्तीय संगठनका साथै एनजिओहरुसम्ममा पनि सूचनाको निर्वाध बहाव अर्थात फ्लो हुनुपर्छ।

फेयर ट्रेड मोडल बजारोन्मुख देशहरुकालागि आकर्षक मोडल हो। यसले खुला बजारको सिद्धान्तलाई अंगिकार गरेको हुन्छ जसले गर्दा उनीहरुले निर्वाध ब्यापारिक गतिबिधि संचालन गर्न सक्छन्। तर ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति लोकप्रियताका लागि  ल्याइएको मोडल हो। यो यस्तो ‘पपुलिस्ट मुभमेन्ट’ हो जसले डब्लुटिओ गठन हुनुअघिको विश्वको कल्पना गरेको छ।

यो अवसरवादी ब्यापारिक नीति तथा  एकपक्षीयतामा आधारित छ। राष्ट्रिय सुरक्षा तथा आर्थिक राष्ट्रबादलाई मूल मानेको यो नीतिले  डब्लुटिओलाई नै छायाँमा पारिसकेको देखिन्छ। डब्लुटिओलाई किनाराकृत गरी त्यसको लाभ अवसरवादी नेतृत्वले  लिने किसिमको मोडल अमेरिकाले प्रयोग गरिरहेको छ।

विश्व ब्यापारिक धरातलमा अमेरिकाले देखाएको पछिल्ला गतिविधिहरुबाट के निश्चित छ भने ट्रम्पका ब्यापार नीतिहरुले दोस्रो बिश्वयुद्धपछि बनेको विश्व ब्यापारको धरातललाई उल्ट्याइदिएको छ। र यसलाई अन्तराष्ट्रिय ब्यापारको अनिश्चित भविष्यको सुरुवात भएको मान्न सकिन्छ। ‘फेयर प्ले’को नियममा नचलेसम्म ठूला अर्थतन्त्रहरुले विश्व ब्यापारमा देखिएको चिरा कसरी भर्छन् भन्न कठिन छ।