काठमाडौं । रियलस्टेटमा दिएको ऋण नउठेपछि एभरेष्ट फाइनान्स लिमिटेड घाटामा गएको छ । ८ करोड ४२ लाख रुपैयाँ पुँजी भएको कम्पनी ३६ लाख रुपैयाँ घाटामा गएको छ । जबकी तीन महिना अघिको (असार मसान्त) वासलातमा कम्पनीले ८८ लाख रुपैयाँ नाफा देखाएको थियो ।
एक वर्षको अवधिमा कम्पनीले रियलस्टेट कर्जा २ सय ३३ प्रतिशतले वढाएको छ । अनियन्त्रित हिसावले बढाएको रियल स्टेट कर्जा डुबेपछि कम्पनी घाटामा गएको हो । रियलस्टेट कर्जा नउठेपछि कम्पनीको नोक्सानी व्यवस्था (प्रोभिजनिङ) को रकम पनि वेपत्ता वढेको छ । प्रोभिजङ ८ लाख २१ हजार रुपैयाँ रहेकोमा १ सय २६ प्रतिशतले वढेर १८ लाख ५५ हजार पुगेको छ ।
राष्ट्र बैंकबाट ५६औं फाइनान्स कम्पनीका रुपमा सञ्चालन स्वीकृति लिएको कम्पनीको ४० प्रतिशत सेयर सर्वसाधारणमा छ । २०६० बाट सञ्चालनमा आएको कम्पनीले पाँच वर्षयता सेयरधनीलाई केही पनि दिन सकेको छैन । कम्पनीले आफ्ना अन्य ऋणहरु पनि बढाएको छ । फाइनान्सको कुल ऋण एक वर्षमा ५० प्रतिशतले वढेर ३७ करोड २६ लाख पुगेको छ । निक्षेप पनि साढे ५१ प्रतिशतले वढेको छ । कम्पनीले सर्वसाधारणबाट ४२ करोड २१ लाख निक्षेप उठाएको छ ।
ऋण नउठेका कारण ब्याज आम्दानी पनि ८० प्रतिशतले घटेको छ । अघिल्लो असोजमा ४१ लाख ब्याज आम्दानी गरेको कम्पनीले यसपाली जम्मा ८ लाख रुपैयाँ मात्र गरेको छ । असार मसान्तमा मात्रै व्याज आम्दानी २ करोड १० लाख गरेको थियो ।
