युरोपमा ४५ लाखको जागिर जोखिममा, १ करोड ७४ लाख जागिर खोज्दै

बिजमाण्डू
२०६९ असार ३० गते ००:०० | Jul 14, 2012
युरोपमा ४५ लाखको जागिर जोखिममा, १ करोड ७४ लाख जागिर खोज्दै

जेनेभा । लामो समयदेखि जारी मन्दिका कारण आगामि चार वर्षको अवधिमा युरोपका ४५ लाख मानिसको जागिर जान सक्ने आईएलओले जनाएको छ । आईएलओ (अन्तराष्ट्रिय श्रम संगठन) को हालै सार्वजनिक प्रतिवेदन अनुसार युरोपेली नेताहरुले तत्कालै विशेष कदम चाल्न नसकेका खण्डमा संकट झनै गहिरीने छ । प्रतिवेदनले भनेको अनुपातमा नै बेरोजगारी बढेको खण्डमा चार वर्षको अवधिमा १७ मुलुक सदस्य भएको युरोजोनमा २ करोड २० लाख बेरोजगार हुनेछन् ।
'युरोजोन जब क्राइसिस : ट्रेण्डस एण्ड पोलिसि रेस्पोन्स' शिर्षकको सो प्रतिवेदनले सन् २००८ मा सुरु भएको वित्तीय संकट मोचन हुन नसक्नुको मुख्य कारणमा उचित समयमा उपयु्क्त नीति नआउनु नै भएको औंल्याएको छ । प्रतिवेदनले युरोपका ऋणग्रस्त मुलुकमा अपनाइएको सरकारी खर्च घटाउने नीतिका कारण थुप्रै रोजगारी गुमेको बताउँदै यस्तै प्रवृति जारी रहे रोजगार संकट चुलिने बताएको छ । खर्च घटाउने नीतिले रोजगारी कटौती भएको भन्दै युरोजोनका देशहरुले रोजगारी बढाउने नीति लिनुपर्ने प्रतिवेदनको सुझाव छ ।
“अर्थतन्त्रमा लगानीको मात्रा बढाउने खालका उपायहरु लागु भएनन् भने आर्थिक संकट गहिरिंदै जान्छ र यसले रोजगार सृजनालाई नराम्ररी असर पार्छ,” आइएलओ महानिर्देशक हुवाँ सोमाभिया भन्छिन ।
प्रतिवेदनले २००८ को संकटका कारण रोजगारी घटेर हाल ३५ लाख मात्रै रोजगार बँकि भएको उल्लेख गरेको छ । यसैगरी हाल युरोपमा १ करोड ७६ लाख मानिस रोजगारको खोजीमा छन् । यो संख्या सन् १९९५ यता कै उच्च हो । बेरोजगारमा पनि युवाहरुको प्रतिसत धेरै भएकोमा आइएलओले चिन्ता प्रकट गरेको छ । ऋण संकटको चपेटामा परेका इटली, पोर्चुगल, ग्रिस तथा स्पेन जस्ता देशमा युवा वेरोजगारी दर केहि उच्च भएपनि समग्र युरोजोनमा मे महिनासम्ममा २५ वर्ष उमेर मुनिका २२.६ प्रतिसत (३४ लाख) युवा बेरोजगार छन ।

Tata
GBIME
NLIC