
सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं । आठ बर्ष कमर्सियल बैंकिङ गरेपछि अशोक शेरचन लन्डन पढ्न गएका थिए । त्यही बेला उनलाई फोन गयो, फाइनान्सको प्रमुख कार्यकारी बन्न ।
बेलायतमा राम्रोसँग जम्न नसकिरहेका बेला अघिल्लो बर्षबाट सञ्चालनमा आएको पाँच करोड चुक्ता पुँजीको फाइनान्सको सिइओ बन्न आएको अफर उनले स्वीकार गरे र नेपाल आए ।
१० बर्षको अवधिमा प्रभु फाइनान्स विकास बैंक हुँदै बाणिज्य बैंक बनेको छ । अहिले अशोक शेरचन पौने ६ अर्ब रुपैयाँ चुत्ता पुँजी पुगेको बैंकको सिइओ बनेका छन् ।
प्रभु फाइनान्सको छलाङसँगै अशोक शेरचनले पनि बैंकिङ करियरमा छलाङ मारेका छन्। भन्छ्न्- जोखिम उठाउँदै चुनौतीलाई सामाना गर्दै बढेका कारण बैंकसँगै मेरो करियर पनि अगाडि बढेको हो ।
सन् २००६ बाट सञ्चालनमा आएको फाइनान्स चार बर्षयता निरन्तर मर्जरमा छ । वैभव फाइनान्स र समबृद्धि विकास बैंकलाई गाभेपछि प्रभु विकास बैंकमा स्तरोन्ती भयो । अर्को बर्ष क वर्गको किष्ट बैंकलाई आफूसँग गाभ्यो । तल्लो तहको संस्थाले आफूभन्दा माथिल्लो वर्गको संस्थालाई गाभेको यो नेपालको वित्तीय क्षेत्रको मर्जर इतिहाँसमै पहिलो हो ।
किस्टसँगै उसले गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्सलाई गाभेर क वर्गको प्रभु बैंकमा उक्लियो । शुक्रबारबाट अर्को क वर्गको बैंकलाई आफूमा गाभेर प्रभुले एकिकृत कारोवार शुरु गर्दैछ ।
'सरसर्ती हेर्दा धेरै छिटो बैंक अगाडि बढेको देखिन्छ । परिस्थिति र सोचका कारण तथा यही बीचमा आएको मर्जर नीतिका कारण छोटो समयमा हामी यहाँसम्म आइपुगेका हौं' शेरचनले भने ।
उनले चाँडो चाँडो मर्जरमा गएर ठूलो बैंक बन्नु एक खालको जोखिम उठाएको भन्दै 'हामी फेलियर भएको भए मर्जरमा कोही पनि जाँदैन थिए होला । रिस्क लिएकै कारण फाइनान्सले बाँणिज्य बैंकलाई गाभ्न सक्यो । र हाम्रै ब्रान्ड स्थापित पनि भयो ।'
विदेशी साझेदार
राष्ट्र बैंकले ल्याएको मर्जर नीतिलाई पच्छ्याउँदै प्रभु फाइनान्सबाट बैंक बनेको कम्पनीसँग नयाँ विदेशी ब्रान्ड पनि जोडिएको छ- इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक अफ इन्डिया (आइडिबिआइ) ।
खारेजीमा गएको नेपाल विकास बैंकको सेयरहोल्डर आइडिबिआइलाई प्रभुले आफ्नो सेयरधनी बनाएको छ । नेपाल विकास बैंकमा १० प्रतिशत लगानी गरेको आइडिबिआइलाई प्रभुले रणनीतिक हिसावले आफूसँग ल्याएको हो । नेपाल विकास बैंकलाई खरिद गरेर आइडिबिआइलाई भित्राएको हो ।
'आइडिबिआइले चाहेमा उसलाई नयाँ संरचना अनुसार नै १० प्रतिशत सेयर दिने छौं' शेरचनले भने, 'विभिन्न विकल्पमा गएर त्यसलाई मिलाउन सकिन्छ ।'
पुँजी ५९२ करोड
मर्जर र हकप्रद सेयरपछि बैंकको पुँजी ६०० करोड रुपैयाँ नजिक पुगेको छ । ग्रान्डसँग मर्जरपछि बैंकको चुक्ता पुँजी ५२० करोड पुग्ने छ । बैंकले ६४ करोडको हकप्रद सेयर जारी गर्ने प्रकृया सुरु गरिसकेको छ । शुक्रवार एकिकृत कारोवारसँगै बैंकमा नेपाल विकासको नौं करोड पुँजी थपिने छ ।
दुई बाणिज्य बैंकको मर्ज पछि निक्षेप ५४ अर्ब नाघ्छ भने कर्जा तथा लगानी ४० अर्ब भन्दा बढि हुन्छ ।
नेपाल विकासको सेयरसँगै दुई कर्मचारी त्यहाँबाट थपिएका छन् । अहिले प्रभुमा १०८४ कर्मचारी छन् । ग्रान्डबाट २२५ थपिने छन् । प्रभु जुनबेला फाइनान्स थियो त्यो बेला कर्मचारी २५० जना थिए ।
४५ शाखाबाट मर्जर अभियानमा लागेको प्रभुसँग ग्रान्ड गाभिएपछि शाखा १३६ पुगेको छ ।
सिइओले देखेको चुनौती
शेरचनलाई मर्जरको सबैभन्दा ठूलो चुनौती कर्मचारी व्यवस्थापन लागेको छ । 'फरक संस्कारबाट आएका हुन्छन्,' उनले भने, 'कस्टमर एक्सपेक्टेसन पनि अर्को चुनौती हो ।'
पुरानो मर्जर अनुभव उनले यसरी खोतले- किस्ट बैंकको धेरै कर्जा बिग्रिएका थिए । त्यसलाई व्यवस्थापन गर्नु ठूलो चुनौती थियो । ब्राण्ड स्थापित गर्ने पनि अर्को चुनौती थियो । किस्ट ठूलै बैंक थियो । माइलेज थियो, छुट्टै ब्राण्ड थियो । त्यसबाट छोटो समयमा मान्छेलाई डाइभर्ट गर्नु चुनौती हो ।
'हामीले योजना अनुसार नै एक बर्षभित्र यो काम पुरा गर्यौं । बैंकिङ प्रणालीमा आएको पोजिटिभनेस र तरलतामा आएको सुधारले सजिलो भयो' उनले भने, 'हामीले सबै डिसिजनहरु चाँडोचाँडो लियौं । व्यवस्थापन र वोर्डको समन्वयले गर्दा यो सम्भव भएको हो ।'
अहिले बैंकको खराव कर्जा पाँच प्रतिशतको हाराहारी छ । ग्रान्ड आएपछि खराव कर्जा फेरि १५ प्रतिशतभन्दा माथि पुग्छ । चैतसम्म त्यसलाई १० प्रतिशतमा झार्ने बैंक व्यवस्थापनको योजना छ । 'आउँदो असोजमा ५ प्रतिसत भन्दा तल ल्याउँछौं,' शेरचनले भने, 'ग्रान्ड आउँदा पनि हामीसँग पुँजीकोष १० प्रतिशतभन्दा माथि नै हुन्छ ।'
ग्रान्ड मिसिएपछि पुँजी कोषमा जम्मा ६० करोड मात्र योगदान पुग्ने छ । २०० करोडको पुँजीमध्ये १४० करोड रुपैयाँ ग्रान्डको खराव कर्जाको जोखिम निवारणमै खर्च हुने उनले जानकारी दिए । 'एउटा समयपछि खराव कर्जा उठ्यो भने बल्ल त्यो पुँजीले योगदान गर्छ,' उनले भने ।
लगानीकर्तालाई कहिले?
प्रभु बैंकबाट लगानीकर्ताले लाभांस नपाएको चार बर्ष भइसकेको छ । बैंक एकपछि अर्को मर्जरमा लागेको र त्यसमा पनि खराव कर्जाको अंश वढी भएको संस्थासँग भएका कारण नाफा आर्जन गरेपनि खराव कर्जाको अंश वढी भएका कारण लाभांस वाँड्न सकेको छैन ।
बिकास बैंक हुदासम्मको लाभांस यस्तो थियो :
'यो बर्ष त वाँड्न सकिने अवस्था छैन,' सिइओ शेरचनले भने, 'अर्को बर्षको नाफाबाट भने लाभांस दिन सकिन्छ होला ।' उनले चालु र आगामी बर्ष बैंकको स्ट्रगलको बर्ष भएकाले लाभांस वाँड्न कठिन हुने बताए ।