
काठमाडौं । आयल निगमका कर्मचारीले नाफा भएको तथ्य वाहिर ल्याएको भन्दै व्यवस्थापनका उच्च अधिकारीहरुलाई हप्काएका छन् । एमाले सम्वद्ध आयल निगम कर्मचारी संघ र माओवादी सम्वद्ध आयल निगम कर्मचारी संगठनले सामान्य नाफाको अवस्थामै सार्वजनिक रुपमा वाहिर ल्याएर समस्यामा पारेको भन्दै व्यवस्थापनलाई हप्काएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले जुलाई १ को मूल्य अनुसार निगमलाई मासिक १३ करोड नाफा छ । ‘१३ करोड नाफा भयो भनेर सार्वजनिक सञ्चारमाध्यममा सार्वजनिक गर्ने काम राम्रो होइन,’ उनीहरुले भनेका थिए, ‘नाफालाई गोप्य राख्नुपथ्र्यो ।
अहिले नाफा देखाउँदा पछि समस्या पर्छ ।’ तर निगमका उच्च व्यवस्थापनले भने नाफा भएको तथ्य वाहिर नल्याउँदा झन् नकारात्मक हुने बताउँदै सार्वजनिक गर्दा नैतिक वल पुग्ने स्पस्ट पारेको थिए । निगमका पूर्व एक कार्यकारीका अनुसार कर्मचारीले नाफाको रकम लुकाएर भबिष्यमा बोनस खाने रणनीति बनाएका हुनसक्छन् ।
‘नाफाको रकम पनि नदेखाउन दबाब दिनुको पछाडी यही रहस्य लुकेको हुनसक्छ,’ उनले भने । आर्थिक वर्ष २०६७/०६८मा समेत निगमले ३ अर्ब ३० करोड मुनाफाबाट २० करोड बोनस बाँड्ने निर्णय गरेको थियो । त्यो बेलामा ७ अर्ब भन्दा बढी सञ्चित नोक्सानी भएको निगमले बोनस बाँड्ने निर्णयको सर्वत्र विरोध भएपछि फिर्ता भएको थियो ।