काठमाडौं । आर्थिक वर्षको अन्तिम साताको दोश्रो दिन सोमबार पनि शेयर बजार परिसूचक नेप्से उकालै लागेको छ । सोमाबार नेप्से परिसूचक ०.६३ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक ०.७१ प्रतिशतले बढेको छ । सोमबार परिसूचकसँगै कारोबार रकममा समेत बृद्धि देखिएको छ । आईतबार ४ करोड १३ लाख रुपैंया कारोवार भएकोमा सोमबार ४ करोड ९० लाख रुपैंया बराबरको सेयर कारोबार भएको छ ।
सेयर धितोमा लिएको ऋण तिर्नका लागि अब केहि दिन मात्रै बाँकी भएकाले कारोबार रकममा बृद्धि भएको हुनसक्ने एक विश्लेषकले बताए । भोलिसम्म भएको बिक्रिबाट प्राप्त रकम मात्रै चालु आवमा प्राप्त गर्न सकिने भएकाले कारोबार बढेको हुनसक्छ, उनले भने । सोमबार बैंकिङ, जलविद्युत र अन्य समूहको परिसुचकमा क्रमशः ०.३४, १.४९ र २.८ पं्रतिशतको बृद्धि देखियो भने होटल, विकास बैंक, वित्त तथा विमा समूहका परिसूचकहरु घटेका छन् ।
साताको दुई दिनसम्मको कारोबारको विष्लेशण गर्न मंगलबार पनि बजार उकालै लाग्ने देखिन्छ । यद्यपि सामन्य गिरावटको संभावनालाई नकार्न सकिँदैन । सोमबार कारोबार सुरु भएपछि केहि बेर घटेको परिसूचक पछि ह्वात्तै बढेको हो । आइतबार झैं सोमबार पनि ८० कम्पनीको मात्रै कारोबार भएको छ ।
धेरै कारोबार हुने कम्पनीमा चिलिमे हाइड्रोको एक करोड ५६ लाख रुपैयाँ बराबरको कारोवार भयो भने बैंक अफ काठमाण्डौको ५३ लाख रुपैंया बराबरको कारोबार भयो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ प्रतिसतले घट्यो भने र एस डेभलपमेण्ट बैंकको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ । यसैगरी लाईफ इन्स्योरेन्स कर्पाेरेसन(एलआईसी) नेपालको सेयर मूल्य ९.७ प्रतिशतले बढेको छ, एलआईसीको आइतवार बसेको सञ्चालक समितिको बैठकले गत तीन वर्षको नाफाबाट ६५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधरणसभामा पेश गर्ने प्रस्ताव पारित गरेको थियो । यसैगरी सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य पनि ९.९ प्रतिशतले बढेको छ ।