अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो, आयल निगमलाई राहत, मासिक घाटा ३२ करोड

बिजमाण्डू
२०६९ कात्तिक १७ गते ००:०० | Nov 2, 2012
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो, आयल निगमलाई राहत, मासिक घाटा ३२ करोड

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमको घाटा ३२ करोडमा झरेको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले नोभेम्बरमा पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा घटेको हो ।
युरोप र अमेरिकाको आर्थिक मन्दीका कारण तेलको माग घटेकोले कच्चा तेलको मूल्य घटेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य विहिवार एक ब्यारलको १ सय ८ अमेरिकी डलरमा कायम छ । आइओसीले पठाएको नयाँ मूल्य १ सय १३ अमेरिकी डलर बराबरको हो ।  अक्टोबरको मूल्यमा निगमलाई मासिक घाटा ५५ करोड रुपैयाँ थियो । नयाँ मूल्य अनुसार पेट्रोल, मट्टितेल, हवाई इन्धनको नाफा बढेको छ भने डिजेल र ग्यासको घाटा कम भएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल र मट्टितेल क्रमश ११ रुपैयाँ ९२ पैसा र  १० रुपैयाँ १७ पैसा नाफा छ भने हवाई इन्धनतर्फ आन्तरिकमा २३ रुपैयाँ १५ पैसा र वाह्यतर्फ २६ रुपैयाँ १५ पैसा नाफा छ । अक्टोबरमा पेट्रोल र मट्टितेलमा क्रमश ९ रुपैयाँ १६ पैसा र ५ रुपैयाँ ५४ पैसा मात्रै नाफा थियो । हवाई इन्धन आन्तरिकतर्फ १७ रुपैयाँ १३ पैसा र वाह्यतर्फ २१ रुपैयाँ ९६ पैसा थियो ।
नयाँ मूल्य अनुसार डिजेल एक लिटरमा ३ रुपैयाँ १५ पैसा घाटा छ भने ग्यास एक सिलिन्डरमा ५ सय ८ रुपैयाँ घाटा छ । यसअघि डिजेल एक लिटरमा ३ रुपैयाँ ९३ पैसा र ग्यासमा ५ सय ८० रुपैयाँ घाटा थियो ।

Tata
GBIME
Nepal Life