एकीकृत माओवादीको माघमा महाधिवेशन, बैठकले कार्यसूचीलाई अन्तिमरुप दियो,

बिजमाण्डू
२०६९ असोज २४ गते ००:०० | Oct 10, 2012
एकीकृत माओवादीको माघमा महाधिवेशन, बैठकले कार्यसूचीलाई अन्तिमरुप दियो,

काठमाडौँ  । एकीकृत नेकपा (माओवादी)ले आफ्नो महाधिवेशनको कार्यसूचीलाई अन्तिमरुप दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाओवादी पदाधिकारी तथा सङ्गठन विभागको बैठकले पार्टीको माघमा हुने महाधिवेशनको कार्यसूचीलाई अन्तिमरुप दिएको र भोलि बस्ने बैठकले त्यसलाई सार्वजनिक गरी जिल्ला जिल्लामा पठाउने एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
उहाँले आजको बैठकले जिल्ला संयोजक तथा राज्य संयोजकले केही साताअघि आयोजित कार्यशालामा राखेको धारणालाई आत्मसात गर्दै महाधिवेशनको कार्यसूची र अनुमोदनको कार्यविधि तयार पारेको बताउनुभयो । एमाओवादीको विगत २२ वर्षदेखि हुन नसकेको महाधिवेशनलाई यसअघि तोकिएकै मिति माघ १४ गते गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले मुलुकमा राजनीतिक सङ्कट गहिरिँदै गएको भन्दै सङ्कट समाधानार्थ राजनीतिक दलहरुबीच भइआएका वार्ता र छलफललाई तीव्रता दिने निर्णय गरेको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) राजनीतिक निकासका लागिभन्दा पनि सरकारलाई नै केन्द्रविन्दुमा राखेर अगाडि बढेका कारण सहमति र राजनीतिक निकास निस्कन नसकेको ठहर गर्दै बैठकले सरकारमा रहेका दलहरूसँग पनि छलफल गरेर सोहीअनुरुपको रणनीति तयार गर्ने निर्णय गरेको छ । आजको बैठकमा दलहरूबीच प्याकेजमा सहमति नहुन्जेल वर्तमान सरकारले राजीनामा नगर्ने विषयमा पनि छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

Tata
GBIME
Nepal Life