काठमाडौं । भूकम्पका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएपनि केही क्षेत्रमा भने निकै राम्रो अवसर सिर्जना हुँदैछ । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका शक्तिशाली परकम्पहरुले पाँच खर्बभन्दा बढीको भौतिक सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । यो क्षतिले अर्थतन्त्रमा गम्भिर धक्का लागेको छ ।
ठूलो क्षति भएपनि भूकम्पपछि पुनर्निर्माणको गति तिब्ररुपमा अघि बढाउन सके औद्योगिक क्षेत्रलाई सुवर्ण अवसर सिर्जना हुने अनुमान उद्योगपति तथा अर्थविज्ञहरुको छ । केही उद्योगहरु अहिले नै पूर्णक्षमतामा सञ्चालन हुन थालिसकेका छन् भने केही नयाँ उद्योग स्थापना हुने संभावना पनि छ ।
निजीक्षेत्र आत्मविश्वासका साथ अघि बढ्ने हो भने अब औद्योगिक क्षेत्रका स्वर्णकाल हुनेछ, अर्थविद् तथा पुर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । निजीक्षेत्रका लगानीकर्ताहरु पनि खनालको भनाइलाई नकार्दैनन् ।
औद्यौगिक क्षेत्रमा स्वर्णकाल
रामेश्वर खनाल
|
अब बन्द हडताल, चक्काजाम हुँदैन । बैंकहरुले पनि लगानी गर्न सक्छन् । उद्योगहरुलाई यो स्वर्णकाल हुनसक्छ । उद्योग सञ्चालकहरु रुने र डराउने बेला होइन, उनीहरुले दीर्घकालिन उद्देश्य राखेर लगानी गरे भने अब स्वर्णकाल हुनेछ ।
अहिलेसम्म पूर्ण क्षमतामा सञ्चालन नभएका जस्तापाता उद्योग अहिले नै पूर्णक्षमतामा सञ्चालन हुन थालिसकेका छन् । यी उद्योगहरुका लागि योभन्दा राम्रो अवसर यसअघि थिएन । बजारमा जस्तापाताको अत्याधिक माग छ । उनीहरुको व्यवसाय सुरु भइसक्यो ।
त्यस्तै छड, सिमेन्ट, इटा उद्योगका लागि पनि निकै ठूलो अवसर छ । इटा उद्योगमा ठूलो क्षति भएको पनि छैन । केही उद्योगहरुले सानातिनो मर्मतपछि उत्पादन थालिसकेका छन् ।
श्रमिक प्रयोग हुने काम अब धेरै हुन्छ । श्रमिक धेरै प्रयोग हुने बेलामा खाद्य उद्योग पनि बढी चल्छन् । यस्तो समयमा श्रमिकहरुले तयारी खाद्य वस्तु प्रयोग गर्छन । यसले केही समयका लागि भएपनि माग बढाउँछ ।
मानिसहरुले याद नगरेको तथा उच्च माग हुने वस्तु फर्निचर हो । यो उद्योग निकै फष्टाउने छ । ६ लाख घरपरिवारको आफ्नो खाट, कुर्सी, टेबुल भाँचिएको छ । सबैले नयाँ किन्न नसकेपनि अधिकांसले नयाँ किन्छन् । त्यस्तै भूकम्पले विद्यालयहरुका २१ हजार कक्षा कोठा ध्वस्त भएका छन् । यी कक्षा कोठाका फर्निचर पनि ध्वस्त भए । त्यहाँ पनि फर्निचरको माग उच्च हुनेछ ।
काठमाडौंमा मात्रै २२ वटाभन्दा बढी होटल ढले । व्यवसायीले त अर्को स्थानमा सरेर भएपनि आफ्नो पेशालाई निरन्तरता दिन्छन् । ती होटलमा पनि फर्निचर आवश्यक हुन्छ ।
अहिले चीनबाट पनि तयारी फर्निचर आउँछ । स्थानीय उद्योगहरुले हिम्मत गर्ने हो भने त्यो आयात प्रतिस्थापन हुनसक्छ ।
औषधी उद्योगमा पनि निकै राम्रो संभावना छ । तर उद्योग सञ्चालकहरुले त्यही अनुसारको दृष्टिकोण बनाउनु पर्छ । नेपाल उद्योग परिसंघले सार्वजनिक कार्यक्रम गरेर राखेका माग उपयुक्त लागेन । यो सस्थाको माग पनि भूकम्प पीडितको रोदन जस्तै लाग्यो ।
बीमा क्षेत्रका लागि पनि यो अवसर हो । तिम्रो क्षतिको दायित्व हामी लिन्छौं भनेर यस बेला बीमा कम्पनीहरु बजारमा गइसक्नु पथ्र्यो, उनीहरु मार्केटिङ गरिसक्नु पथ्र्यो ।
बीमा कम्पनीहरुले अहिलेको दावी भुक्तानीमा कसरी व्यवस्थापन गर्छन भन्ने पनि महत्वपूर्ण पक्ष हो । भूकम्पले मोटर र मोटरसाइकलमा निकै ठूलो क्षति भएको छ । यही बेला कम्पनीहरुले मार्केटिङ गरेर प्रिमियम संकलन गर्नु पथ्र्यो । कम्पनीहरुलाई नोक्सान होइन, व्यवसायनै ठूलो बनाउने अबसर हो यो ।
निर्माण क्षेत्र ‘बुम’
शेखर गोल्छा
व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष
|
छोटो अवधिका लागि नकारात्कम अवस्था देखिएको छ । तर पुनर्निर्माणको अवसर हाम्रा अगाडि छ । अब निर्माण क्षेत्र ‘बुम’ हुनसक्छ ।
निर्माणसँग सम्बन्धित उद्योगहरु जस्तापाता, सिमेन्ट, रडलगायतका उद्योगहरु पूर्ण क्षमतामा चल्छन् । निर्माणसँग सम्बन्धित अन्य सानातिना उद्योगहरु पनि राम्रोसँग चल्छन् ।
अत्यावश्यक वस्तुहरुका उद्योगहरु पनि सामान्य अवस्थामा सञ्चालन हुनेछन् ।
बैंक तथा बिमा व्यवसाय पनि बढ्छ । तर विलासिताका बस्तुको व्यापार भने निकै घट्नेछ । कम्तिमा पनि आगामी दसैंसम्म यस्ता उत्पादन व्यापार निकै कम हुनेछ ।
सरकारले निकै ठूलो पैसा खर्च गर्नेछ । पैसा नै खर्च हुन नसकेको अवस्थामा सरकारले पुनर्निर्माणमा ठूलो पैसा खर्च गर्नु पनि हाम्रो लागि राम्रो हो । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।
निर्माण उद्योगमा सम्भावन
अञ्जन श्रेष्ठ
व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य
|
अहिले निर्माण क्षेत्रमै ठूलो अवसर देखिएको छ । निर्माणसँग सम्बन्धित उद्योगहरु नै अहिले चल्छन् ।
भूकम्पले करिब सात लाख घर भत्किए । यी घर त फेरि बनाउनु पर्यो । त्यस्तै सार्वजनिक सम्पदा, भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ ।
नयाँ वस्तिको विकास गर्नुपर्ने अवस्था छ । यसमा अवसर सिर्जना हुन्छ । मध्यपहाडी लोकमार्गलाई यही बेला सिधा बनाउनु पर्छ र वस्ति जोड्न टंक रोड निर्माण गर्नुपर्छ ।
यसले भौतिक पुर्वाधारमा निकै ठूलो अवसर देखाउँछ र वस्तिहरु व्यवस्थित हुनेछन् । व्यवसायको पनि विकास हुनेछ ।
अहिले नै उद्योगपतिहरु नयाँ योजना बनाउने अवस्थामा छैनन् । त्रास अझै बाँकी छ । कामदार तथा कर्मचारी काममा फर्किसकेका छैनन् ।
उनीहरुका परिवार सुरक्षित आवासमा बसेपछि मात्रै कामदार र कर्मचारी उद्योगमा फर्किन्छन् । फलाम, स्टिलसँग सम्बन्धित उद्योग भने अहिले पुरा क्षमतामा चल्न थालेका छन् । केही समयका लागि यिनै उद्योगमा संभावना बढी छ ।