धितोपत्र अध्यक्षले नियमविपरित बढाए छ लाख तलव

बिजमाण्डू
२०६९ असार २३ गते ००:०० | Jul 7, 2012

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष बावुराम श्रेष्ठले प्रक्रिया विपरित गएर आफ्नो वार्षिक तलव झण्डै छ लाख रुपैयाँले बढाएका छन् । अर्थमन्त्री वर्षमान पुनको तोक आदेशमा उनले तलव वढाएका हुन् ।
यसअघि श्रेष्ठको तलव नेपाल सरकारको सचिव बराबर अर्थात २९ हजार रुपैयाँको हाराहारीमा हुन्थ्यो । मन्त्रीको तोकपछि उनको मासिक तलव र भत्ता ७६ हजार रुपैयाँ पुगेको छ ।बिजमाण्डू डटकमलाई प्राप्त जानकारी अनुसार उनले अब वर्षमा विभिन्न सेवा सुविधासहित १० लाख रुपैयाँभन्दा बढी तलव बुझ्नेछन् । पहिले २९ हजार रुपैयाँको तलव अहिले बढेर ५५ हजार रुपैयाँ पुगेको छ । पहिले भत्ताको व्यवस्था थिएन, अहिले उनले ११ हजार रुपैयाँ भत्ताको व्यवस्था गरेका छन् ।
यसवाहेक उनले कर्मचारीले पाउने खाजा तथा स्टेशनरी खर्च वाहेक १० हजार अतिरित्त लिने व्यवस्था मिलाएका छन् । मासिक २९ हजार रुपैयाँ पाउने अध्यक्ष श्रेष्ठले अब तलव, भक्ता र खाजा खर्च गरेर मासिक ७६ हजार रुपैयाँ थाप्छन् ।
नियमत अध्यक्षको तलव वृद्धिका लागि धितोपत्र वोर्डको सञ्चालक समितिमा प्रस्ताव लैजानु पर्छ । त्यो प्रस्ताव अर्थमन्त्रालयको आन्तारिक कार्य विभागमा लगेर टिप्पणी उठाउनु पर्छ । आकावीले तलव वृद्धिको आवश्यकता सम्वन्धी सिफारिश गरे त्यसलाई सचिव हुँदै मन्त्रीसम्म लैजाने र त्यहाँबाट तलव बढाउने व्यवस्था छ । मन्त्रालयको तीन चरणको स्वीकृतिपछि मात्र तलव वढ्न निर्णय हुन्छ ।
माओवादी पालामा वोर्डमा नियुक्त भएका श्रेष्ठले धितोपत्र वोर्डको सञ्चालक समितिबाट सिधै प्रस्ताव मन्त्री सामु लगेका हुन् । मन्त्रीले उनको तलव तथा भत्ता वढाउन तोक लगाएका हुन् ।
बोर्ड अध्यक्षको तलव वढ्ने प्रस्ताव, हामी हुँदै लैजानुपर्नेमा त्यो भएको छैन, आकावीका एक अधिकृतले भने, सिधै मन्त्रीले तोक लगाएर तलव वढेको हो । तोक लागेपछि पनि तलव बढेको हामीले औपचारिक जानकारी पाएका छैनौं ।’
आकावीको प्रस्ताव हुँदै मन्त्रीको स्वीकृति लिएर विदेशी जानु पर्नेमा श्रेष्ठले  अर्थमन्त्रीको तोक लगाएर विदेश भ्रमण गरिरहेका छन् । अहिले पनि उनी सात दिनको तालिमका लागि भन्दै दक्षिण कोरिया गएका छन् । कर्मचारी स्तरबाट भाग लिन जानु पर्ने कार्यक्रममा अध्यक्ष आफै गएका हुन्, वोर्डका एक कर्मचारीले भने ।
यसअघि मन्त्रीको तोकमा उनी अमेरिका र इजरायल गएका थिए । उनले अमेरिकामा ट्याक्सी भाडा भन्दै एक हजार डलर(९० हजार नेपाली रुपैयाँ)को विल भुक्तानी लिएका छन् । यसवाहेक गरेको खर्च उनले गोप्य फाइलमा राखेका छन् । यो फाइल लेखा शाखाका अधिकृतले भुक्तानीका लागि एक पटक मात्र हेर्न पाएका थिए । त्यसपछि अध्यक्ष आफैले फाइल राखेका छन् ।
आफ्नो मात्र तलव वढाएपछि वोर्डका कर्मचारीबीच यो विषयमा हल्लाखल्ला भएको छ । उनले कर्मचारीको पनि तलव वढाइदिने भनेर विवाद टाल्ने काम गरिरहेका छन् । ‘कर्मचारीलाई चुप लगाउन तलव वढाइ दिन्छु भनेका छन्,’ एक कर्मचारीले भने, तलव वढ्ने भएपछि युनियनका कर्मचारीहरु अहिले चुप लागेर बसेका छन् ।

Tata
GBIME