
काठमाडौं । साताको सुरुदेखि निरन्तर ओरालो लागेको नेप्से बुधवार पनि तल झर्यो । बैंकिङ समूहका अधिकांश बाणिज्य बैंकको सेयर मूल्य ओरालो लागेपछि नेप्से सूचक तल झरेको हो । बैंकिङ समूह १.४७ अंकले तल झरेपछि नेप्से सूचक ०.४२ अंकले तल झर्यो । बैंक अफ काठमाण्डूको सेयर मूल्य बुधवार पनि १२ रुपैयाँले तल झरेर ५१३ रुपैयाँमा कारोवार भयो । एभरेष्ट बैंकको सेयर मूल्य १० रुपैयाँले तल झरेर १०९० मा कारोवार भयो । नबिल बैंकको साधरण र प्रवद्र्धक दुवै सेयर १६ रुपैयाँले तल झर्यो, साधरण सेयर १४१० रुपैयाँमा र प्रवद्र्धक सेयर ८९० रुपैयाँमा कारोवार भयो ।
‘बुक क्लोजिङ’पछि मंगलवार ८८८ रुपैयाँमा कारोवार भएको चिलिमेको सेयर बुधवार थप १० रुपैयाँले घटेर ८७८ रुपैयाँमा कारोवार भयो । सेयरधनीले अरुणभ्याली र बुटवल पावरमा लगानी बढाए । बुटवल पावरको सेयर मूल्य ११ रुपैयाँले बढेर ७१४ रुपैयाँमा र अरुा भ्यालीको सात रुपैयाँले बढेर २३५ रुपैयाँमा कारोवार भयो ।
बुधवार नागरिक लगानी कोषको सेयर मूल्य तल झर्यो, राष्ट्रिय बीमा संस्थानको सेयर मूल्य पनि ३० रुपैयाँले तल झरेर २०७० रुपैयाँमा कारोवार भयो । प्राइम लाइफ इन्सुरेन्स लगायतका बीमा कम्पनीको सेयर मूल्य बढेपछि बुधवार बीमा समूह, टेलिकमको सेयर मूल्य बढेपछि अन्य समूह र नेपाल ओरियण्टल होटलस्को सेयर मूल्य बढेपछि होटल समूहको सूचकमा हरियो बत्ती बल्यो । तर यो वृद्धिले बैंक, जलविद्युत, फाइनान्स, विकास बैंकको समूहमा आएको गिरावटलाई थेग्न भने सकेन ।