एडिबीले यो वर्ष नेपालको आर्थिक वृद्धिदर चारदेखि पाँचप्रतिशतको बीचमा रहने जनाएको छ । यद्यपी सरकारले भने चालु आर्थिक वर्षको मध्यावधी समीक्षा प्रतिवेदनमा आर्थिक वृद्धिदर झण्डै एक दशकपछि पाँच प्रतिशत भन्दा धेरै रहने प्रक्षेपण गरेको थियो ।
एडिबीले विकास खर्च समेत गत वर्षको अनुपातमा कम भएको जनाएको छ। गत वर्षको पहिलो ६ महिनामा १३.५ प्रतिशत विकास खर्च भएकोमा यो वर्ष १२.६ प्रतिशत मात्रै भएको एडिबीले जनाएको छ। यो अवधिमा चालु खाता र शोधनान्तर बचत पनि घटेको छ।
एडिबीले यो वर्ष उपभोक्ता मुल्यबृद्धि पनि १० प्रतिशत भन्दा कम नै रहने जनाएको छ । यो अवधिमा सातदेखि आठ प्रतिशतसम्म मुल्यबृद्धि हुने अनुमान एडिबीको छ।
एडिबीले कर्जाको तुलनामा निक्षेप कम हुँदै गएको जनाएको छ। यस्तै निर्माण र रियल इस्टेट दुवै क्षेत्रमा लगानी बढेको पनि एडिबीले जनाएको छ। तेलको मूल्य कम भए पनि आयातको तुलनामा निर्यात निकै कम भएको एडिबीले उल्लेख गरेको छ। तेल आयात कम भए पनि अन्य वस्तुको आयात भने उच्च रहेको एडिबीले जनाएको छ।
गत वर्ष १७ प्रतिशतले बढेको विप्रेषण आप्रवाह यो वर्ष पाँच प्रतिशतमा सिमित भएको छ। यद्यपि विदेश जाने कामदारको अनुपात भने १२ प्रतिशतबाट बढेर २० पुगेको एडिबीले उल्लेख गरेको छ। वर्षको पहिलो ६ महिनामा सेयर बजार 'अस्थिर' रहेको एडिबीले जानकारी दिएको छ।
ढिलो मनसुन सुरु हुनु तथा असामान्य हुनु, राजनीतिक अस्थिरता, रेमिट्यान्स आम्दानीमा भएको गिरावट र लगानी प्रतिबद्धता र भित्रिएको लगानीमा अझै पनि ठुलो अन्तर रहनु जस्ता कारण लक्ष अनुसारको वृद्धि नभएको एडिबीले जनाएको छ।
तनहुँ जलविद्युतको परामर्शदाता छनौट दुई हप्ताभित्रै
तनहुँ जलविद्युत आयोजनाको परामर्शदाता नियुक्ती अबको दुई हप्ता भित्रै हुने भएको छ। आयोजनाको मूख्य लगानीकर्ता एसियाली विकास बैंक र परामर्शदाता ल्यामेहरबीच अन्तिम चरणमा वार्ता भइरहेको र दुई हप्ताभित्रै नियुक्ती सकिने एडिबीका कन्ट्री म्यानेजर केनेची योकोहामाले बताए ।
३० किलोमिटर प्रसारण लाइनसमेत गरी झण्डै ५० अर्ब रुपैयाँमा बन्ने आयोजना स्टोरेज प्रोजेक्ट हुनेछ। यो आयोजनाको परामर्शदाता छनौटको विषयमा तीव्र विवाद भएको छ। ऊर्जा मन्त्रालयले प्रतिस्पर्धामा अग्रस्थानमा रहेको ल्यामेहरलाई परामर्शदाता नियुक्त गर्न असहमति जनाएपनि ऊर्जा मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषदले ल्यामेहरलाईनै परामर्शदाता छनौट गरेको थियो ।