एभरेष्टको ‘सेन्टिमेन्ट’ले बजार ढल्यो, अधिकांश ठूला बैंकको सेयर मूल्यमा गिरावट, टेलिकममा धक्का

बिजमाण्डू
२०६९ असोज ७ गते ००:०० | Sep 23, 2012
एभरेष्टको ‘सेन्टिमेन्ट’ले बजार ढल्यो, अधिकांश ठूला बैंकको सेयर मूल्यमा गिरावट, टेलिकममा धक्का

काठमाडौं । एभरेष्ट बैंकबाट अपेक्षाभन्दा कम लाभांस पाएपछि आइतवार सेयर बजार ठूलै अंकका साथ गिरावट भयो । एभरेष्ट बैंकको मात्रै प्रतिसेयर २७ रुपैयाँले घट्यो । एभरेष्टको ‘सेन्टिमेन्ट’ले आइतवार अधिकांश बैंकको सेयर मूल्य ओरालो लाग्यो । आइतवार २७ रुपैयाँको गिरावटपछि एभरेष्ट ११०८ रुपैयाँमा झरेको छ ।
हिमालयन बैंकलाई पनि एभरेष्टले असर पार्यो । आइतवार हिमालयन बैंकको १९ रुपैयाँले सेयर मूल्य तर झरेर ७०० रुपैयाँमा कारोवार भयो । नबिल बैंक पनि १८ रुपैयाँले तल झरेर १४५२ रुपैयाँमा, चार्टड बैंकको सेयर मूल्य पनि १९ रुपैयाँले तल झरेर १७४५ रुपैयाँमा कारोवार भयो ।
ग्लोबल आइएमई बैंकको सेयर मूल्य समेत १३ रुपैयाँले तल झरेर २४७ रुपैयाँमा, बैंक अफ काठमाण्डूको १५ रुपैयाँले तल झरेर ५७५ रुपैयाँमा सेयर कारोवार भयो । अधिकांश बाणिज्य बैंकको सेयर ओरालो लागेकै दिन आइतवार नेपाल टेलिकमको सेयर मूल्यमा समेत ठूलो गिरावट आयो । विहिवार छ सय रुपैयाँको सीमामा पुगेको टेलिकमको सेयर आइतवारको कारोवारमा १२ रुपैयाँले तल झरेर प्रतिकित्ता ५८८ रुपैयाँमा कारोवार भयो ।
ठूला बाणिज्य बैंक, टेलिकम र चिलिमेको सेयर घटिरहँदा बहुमत सेयर सरकारी स्वामित्वमा रहेको बीमा संस्थानको सेयर मूल्यमा ठूलो वृद्धि देखियो । आइतवार बीमा संस्थानको सेयर ११४ रुपैयाँले बढेर २१५८ रुपैयाँमा कारोवार भयो । बीमा संस्थानले तीन आर्थिक वर्षको ९४ प्रतिशतले बोनस सेयर दिने घोषणा शुक्रवार गरेको थियो । आइतवार नागरिक लगानी कोषको सेयर मूल्य समेत ६२ रुपैयाँले बढेर ८५१ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।

Tata
GBIME
Nepal Life