किंगफिशरले कंगाल बनायो माल्यालाई, गोवा र मुम्बईको घर लिलामीमा

बिजमाण्डू
२०६९ असार २२ गते ००:०० | Jul 6, 2012
किंगफिशरले कंगाल बनायो माल्यालाई, गोवा र मुम्बईको घर लिलामीमा

मुम्बई । किंग अफ गुड टाइम्स भनेर चिनिने भारतीय उद्योगपति विजय माल्याको मुम्बई र गोवाका दुईवटा घर विक्री हुने भएका छन् । उनको कम्पनी किंगफिसरको ऋण चुक्ता गर्नका लागि मुम्बईको किंगफिसर हाउस र गोवाको किंगफिसर भिल्ला विक्री गर्न लागिएको हो । कम्पनीका यी दुई घरको मूल्य १३५ करोड भारतीय रुपैयाँ (दुई अर्ब १६ करोड) मूल्यांकन गरिएको छ ।

गोवाको किंग: किंगफिसर मालिक विजय माल्याले आफ्ना लागि गोवामा बनाएको भिल्ला, यो अब लिलाम हुने भएको छ।

Tata
GBIME
Nepal Life

किंगफिशर हाउसको बजार मूल्य ९० करोड भारु र किंगफिसर भिल्लाको बजार मूल्य ३५ करोड आंकलन गरिएको छ । किंगफिशर एअरलाइन्स माथि एक अर्ब ४० करोड डलर अर्थात एक खर्ब २६ अर्ब रुपैयाँको ऋण छ । माल्याको अर्को कम्पनी युनाइटेड बु्रअरी भने भारतमा सबैभन्दा बढी मुनाफा गर्ने विश्वकै दोस्रो ठूलो मदिरा कम्पनी हो । युनाइटेड बु्रअरी स्रोतले किंगफिशर हाउस र भिल्ला विक्रीका लागि छ महिना अघि नै बैंक समक्ष प्रस्ताव पेश गरेको जानकारी दिएका छन् ।
बैंकलाई घर विक्रीको प्रस्ताव पठाएपछि यी दुवै घर खाली गरिएको छ । यी घरको मूल्यांकन एचडीएफसी र जेएल प्रोपर्टीले मूल्याङ्कन गरिरहेका छन् । कम्पनीको ऋणदाता एसबीआई बैंकले किंगफिशर एअलाइन्सको सम्पत्ती बेचेर १३५ करोड भारु मात्रै ऋण असुली गर्न सक्छन् ।
उता बैंकहरुले एयरलाइन्सलाई १५ दिन भित्र कामकाज सुधार गर्न अल्टिमेटम दिएका छन् । उता किंगफिशर एअरलाइन्सले भने बैंकलाई काम नलाग्ने सम्पत्ति विक्रीका लागि प्रस्ताव गरेको बताएको छ । कम्पनीले बैंकहरु ऋण असुली प्रक्रियामा नपुगिसकेको दावी समेत गरेको छ । उता यही बेला कम्पनीले आफ्ना कर्मचारीलाई फेबु्रअरी महिनाको तलव दिन थालेको छ । तलव नदिए हड्तालमा जाने घोषणा पाइलट र कर्मचारीले गरेपछि कम्पनीले तलव दिन थालेको हो ।
कम्पनीलाई ऋण दिएका १७ बैंकको विहिवार भएको बैठकले एअरलाइन्स व्यवस्थापनलाई ऋण नविकरण शुल्क र एलसीको पैसा तिर्न र एअरलाइन्स सञ्चालनको स्पष्ट कार्ययोजना ल्याउन निर्देशन दिएका थिए । तर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवाल र युबी समूहका प्रमुख वित्त अधिकृत रवि नेगुङगडीले बैंकलाई तत्काल पैसा तिर्न नसकिने जानकारी दिएका थिए । उनीहरुले कम्पनीमा विदेशी इक्वीटी खोजिरहेको बताउँदै केही समयपछि सबै समस्या समाधान हुने आश्वासन बैंकलाई दिएका थिए ।
पैसाको संकट भएपछि एअरलाइन्सले आफ्ना अधिकांश उडानहरु स्थगित गरेको छ । कम्पनीसँग अहिले २० वटा भन्दा कम विमान छन् । कम्पनीले ७५ अर्ब भारु भन्दा बढी रकम समयमा दिन नसकेपछि कम्पनी झण्डै टाट उल्टने अवस्थामा आइपुगेको छ ।