वर्षमा ६० अर्व कारोवार गर्ने, २२ अर्व नाफा कमाउने एनसेलको २० प्रतिशत साझेदार भावना को हुन्?

बिजमाण्डू
२०७२ पुष ७ गते ००:०० | Dec 22, 2015
वर्षमा ६० अर्व कारोवार गर्ने, २२ अर्व नाफा कमाउने एनसेलको २० प्रतिशत साझेदार भावना को हुन्?


सविन मिश्र/बिजमाण्डू

Tata
GBIME
Nepal Life

काठमाडौं । एनसेलमा मलेसियन लगानीकर्ता एक्जियटासँगै नेपाली साझेदारका रुपमा प्रवेश गरेकी छन्, भावना सिंह श्रेष्ठ । सोमवार टेलियासोनेरा तथा एक्जियटावीच सेयर खरिद विक्रि सम्झौतापछि नेपालमा सबैभन्दा बढी सोधिएको र खोजिएको विषय हो, को हुन् भावना सिंह श्रेष्ठ?

नेपालको कर्पोरेट जगतमा नाम नै नसुनिएकी भावनासँग अब सुनिभेरा क्यापिटल भेञ्चर नेपालमार्फत वर्षमा ६० अर्व रुपैयाँभन्दा बढीको कारोवार गर्ने २२ अर्वभन्दा बढी मुनाफा कमाउने एनसेलको २० प्रतिशत सेयर हुनेछ।  सोझो अर्थमा भन्दा भावनालाई अब एनसेलबाट वर्षमा कम्तिमा साढे चार अर्व रुपैयाँ मुनाफा प्राप्त हुनेछ।

नेपाली कर्पोरेट जगतमा नाम नै नसुनिएकी तर एनसेलको २० प्रतिशत सेयरका लागि चार करोड ८० लाख डलर झण्डै पाँच अर्व रुपैयाँभन्दा बढी लगानी गर्न लागेकी एनसेलको स्थानीय साझेदार भावना सिंह श्रेष्ठ को हुन्?

काठमाडौंमा जन्मिएकी भावना टेलिकम लगानीकर्ता सतिशलाल आचार्यकी श्रीमती हुन् । सिंगापुरको पिआर लिएका आचार्यले बिटम्याप, लालसाहु, स्क्वायर नेट लगायत दर्जनौं अफसोर कम्पनी सञ्चालन गर्छन । आचार्य चिकित्सक आइएल आचार्यका जेठा छोरा हुन ।

सतिशका भाइ सचिनलाल आचार्य दाइको बाटो पछ्याउँदै नेपालमा टेलिकम बिजनेश हेर्छन् । उनी अहिले स्मार्ट टेलिकमका मुख्य लगानीकर्ताका रुपमा आफ्नो परिचय दिन्छन्।

दुईवटा फरक दूरसञ्चार सेवा प्रदायकमा एउटै व्यक्तिले लगानी गर्न नपाउने 'नैतिक बन्धन' का कारण  पनि आचार्यले एनसेलको साझेदार बन्दा स्मार्टको सेयर बेच्नु पर्ने हुन्छ ।

'एनसेलको खरीद बिक्री नेपालको कानुन अनुसार नै हुन्छ। अरु कम्पनीका लगानीकर्ता एनसेलमा भित्रने हो भने उसले पहिले त्यो छोड्नु पर्ने हुन्छ,' एनसेलको सिइओ अफिसका सिनियर एड्भाइजर सलोमोन बेकलेले काठमाडौंमा बिजमाण्डूसँग भने ।

किनभने यस्तै शर्तका कारण एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले नेपालको अर्को दूरसञ्चार कम्पनी नेपाल स्याटेलाइटले सेयर स्वामित्व छाड्नु परेको थियो। यस विषयमा दूरसञ्चार प्राधिकरणले गठन गरेको नेपाल राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक नेतृत्वको अध्ययन समितिले क्रस होल्डिङ दिन नहुने सुझाव पछि टेलियासोनेराले नेपाल स्याटेलाइटको सेयर फिर्ता गरेको थियो ।

बेकलले टेलियासोनेराले एनसेलको सेयर बेच्न प्रारम्भिक सम्झौता मात्रै गरेको र यो प्रक्रिया पूरा हुन सात चरण लाग्ने जानकारी पनि दिए ।
'प्रारम्भिक सम्झौता भएको छ,' उनले भने, 'यसमा केही कुरा पक्कै टुंगिएको छ तर किनबेच भने भइसकेको छैन ।' उनले एनसेलमा एक्जियटा र भावना सिंहको प्रवेश एकअर्कासँग सम्वद्ध रहेके जानकारी पनि दिए।

भावना टेलियासोनेराले छानेको साझेदार होइनन्, उनी एक्जियटाले चाहना गरेकी साझेदार हुन्, बेक्लेले भने । उता एक्जियटाले पनि भावनालाई  आफ्नो रुचीको साझेदारका रुपमा व्याख्या गरेको छ । नेपालमा हाम्रो साझेदार हामीसँग परिचित छन् र हामीले त्यो समूहसँग काम गरिसकेका छौं, एक्जियटाको प्रेस विज्ञप्तीमा छ ।

एनसेल बेच्न टेलियासोनेराले नेपाल दूरसञ्चार प्राधिकरण र उद्योग विभागबाट अनुमति लिनुपर्छ । ती दुवै संस्थाबाट एनसेल बेच्ने अनुमति टेलियासोनेराले पाएको छैन। टेलियासोनेराले सोमवार दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर एनसेल होल्ड गर्ने कम्पनी रेनोल्डको सेयर बेच्न लागेको जानकारी भने दिएको छ ।

यस्तै एक्जियटाले पनि एनसेल किन्न मलेशियामा दुई यस्तै संस्थाबाट अनुमति लिनुपर्छ । उसले पनि अहिलेसम्म अनुमति पाइ नसकेको बेकलले बताए । एक्जियटाले एनसेल खरिदका लागि साधरणसभा तथा बैंक नेगराबाट अनुमति लिनुपर्दछ ।

निरज गोविन्दले एनसेलमा भएको आफ्नो सेयर धितोमा राखेर टेलियासोनेराबाट २३ अर्व रुपैयाँ ऋण लिएका थिए । एनसेल बेच्दा यो ऋणको विषय पनि टुंगिने छ ।

टेलयासोनेराले केही समयअघि नेपालसहित अन्य युरासिएन मुलुकबाट लगानी फिर्ता लैजाने घोषणा गरेको थियो । त्यही घोषणा अनुसार पहिलो चरणमा नेपालबाट बाहिरिन लागेको हो । टेलियासोनेराले लगानी गरेका यस क्षेत्रका अन्य मुलुकको तुलनामा एनसेलको बजार हिस्सा तथा आम्दानी राम्रो भएपनि नेपालबाट नाफा लैजान नपाएपछि एनसेल बेच्ने तयारी भएको थियो ।